News 24 Television
वीरगञ्ज झडप : ४ जना पक्राउपछि हिन्दुवादी युवाहरु फेरि प्रदर्शनमा

वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तिको अवसरमा निकालिएको शोभा यात्रामा भएको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेपछि हिन्दुवादी युवाहरु प्रदर्शनमा उत्रेका छन् ।

पर्सा प्रहरीले गत चैत्र ३० गते हनुमान जयन्तिको दिन दुई समूहबिच भएको घटनाको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्य २ जना हिन्दु र २ जना मुस्लिम समूदायका रहेका छन् । हिन्दु पक्षका २ जनाको रिहाईको माग गर्दै मंगलबार साँझ हिन्दुवादी युवाहरु जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । 

निषेधाज्ञाको उलंघन गरेको भन्दै ठूलो संख्यामा खटेका सुरक्षाकर्मीहरुले उनीहरु माथि लाठीचार्ज गरेपछि आक्रोशित युवाहरु प्रदर्शनमा उत्रेका हुन् ।

सुरक्षाकर्मी र हिन्दुवादी युवाहरुबीच भएको भिडन्तले प्रहरी कार्यालय अगाडी कहीबेर स्थिति तनावपूर्ण बनेको थियो । आफूहरु शान्तिपूर्ण रुपमा धर्नामा बसेकाहरुलाई लाठीचार्ज गरेको भन्दै आक्रोशित युवाहरु ‘जय श्री राम’को नारा लगाउदै वीरगञ्जका विभिन्न स्थानहरु टायर बालेर प्रदर्शन गर्नुका साथै वीरगञ्ज बजार बन्द गर्ने आहवान पनि गरेका छन् ।

यस्तै उक्त घटनाको समाचार संकलन गर्न गएका ३ संचारकर्मी घाईते भएका छन् ।  घाईते हुनेमा पत्रकार अनिल ओझा, धिरेन्द्र तिवारी र अर्जुन गुप्ता रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएको स्थिति सामान्य रहेको नारायणी अस्पतालका सूचना अधिकारी डा। उदय नारायण सिंह रहेका छन् ।

समाचार संकलन गर्न गएका पत्रकारहरु माथि प्रहरीले लाठी चार्ज गरेको भन्दै पर्सेली पत्रकारहरु समेत आक्रोशित भएका छन् । उनीहरुले प्रहरीले ज्यादती गरेको भन्दै पेन डाउन गर्ने चेतावनी दिएका छन् । प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि खुला प्रहार भएको भन्दै घटनाको छानबीन गरी दोषीलाइृ कारवाही गर्न नेपाल पत्रकार महासंघ पर्साले विज्ञाप्ती मार्फत माग गरेको छ ।

गत चैत्र ३१ गते स्थानीय प्रशासन र २ दुई समूहवीच भएको ५ बुँदे सहमति पश्चात वीरगञ्जको वातावरण सामान्य बन्दै गएपछि कर्फयू  हटाएर अनिश्चितकालिन निषेधाज्ञा जारी भएको थियो । 

तर मंगलबार साँझ भएको उक्त घटनाले वीरगञ्जको वातावरण  पुनः अशान्त हुने चिन्ता वीरगञ्जबासी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update