News 24 Television
सत्ताबाहिर प्रचण्डको छटपटी, असन्तोषको आगोमा घिउ थप्दै गगन 

काठमाडौँ । गत सालको असारमा काँग्रेस–एमाले गठबन्धनमा सरकार बनाउने सम्झौता भएदेखि नै उक्त गठबन्धन र सरकारको आयुबारे बारम्बार सार्वजनिक मञ्चमा बहस चलेको छ । प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार धेरै नटिक्ने भन्दै बारम्बार सरकार ढल्ने कुरा गर्दै आएका छन् । तर सत्ताको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीले सरकार ढल्दै नढल्ने र काँग्रेस–एमाले गठबन्धन आगामी चुनावसम्मै जाने भाषणबाजी गर्दै आएका छन् । विपक्षी नेताले सरकार ढल्न लागेको हल्ला चलाउने र प्रधानमन्त्रीले स्पष्टीकरण दिँदै बस्ने गर्दागर्दै सरकारका ९ महिना बिते । वर्तमान सरकारको उपलब्धि भनेकै सरकार नढल्ने भाषण गर्दै ९ महिना टिकाउनु मात्र देखिन्छ । 

नयाँ वर्षको पूर्वसन्ध्यामा प्रचण्डले फेरि राजनीतिक पोखरीमा ढुंगा हाने । विभिन्न सूचना र आफ्नो अनुभवका आधारमा भन्दै उनले दृढतापूर्वक नयाँ वर्षसँगै सरकार परिवर्तन हुने ठोकुवा गरे । काँग्रेस नेतृत्वमा सरकार बन्ने उनको दाबी सत्ताको छटपटी मात्रै हो कि यथार्थ नै भित्री खिचडी पाकिसक्यो ? अबको केही समयमै यसको स्पष्ट लक्षण देखिनेछ ।

यसबारे सत्तारुढ दलहरुभित्रै पनि व्यापक मन्थन भएको छ । स्रोतका अनुसार प्रचण्डले देउवाको नेतृत्वमा सरकार गठन गर्ने सन्देश बुढानिलकण्ठ पठाएका रहेछन् । तर देउवाले भने ओलीसँगको सहमतिमा अडिग रहने जवाफ दिँदै प्रचण्डको प्रस्ताव अस्वीकार मात्र है प्रचण्डसँग भेट पनि अस्वीकार गरेको स्रोतको दाबी छ । प्रचण्डले दोस्रो तहका नेताहरुमार्फत देउवाको नेतृत्वमा सरकार गठन गर्न र ओलीलाई सत्ताबाहिर राख्न प्रस्ताव पठाएको काँग्रेस नेताहरु बताउँछन् । काँग्रेसमा देउवापक्षीय काँग्रेस नेताहरु भने तत्काल प्रचण्डसँग मिलेर सरकार बनाउन सकिने अवस्था नरहेको बताउँछन् । प्रचण्डले ओली नेतृत्व सरकार नरुचाएकोले बाहिर हल्ला मात्रै फैलाएको तर देउवा ओलीकै पक्षमा रहेको उनीहरुको प्रतिक्रिया छ ।

यद्यपि भारतीय पक्षको समेत दबाब रहेका कारण देउवाले मनस्थिति चेन्ज गर्ने सम्भावना पनि उत्तिकै रहेको अर्काथरी नेताहरुको विश्लेषण छ । संस्थापनइतरका केही नेताहरु ओली सरकारप्रति असुन्तुष्ट बनिरहेका बेला प्रचण्डले अघि सारेको कार्डले राम्रै तरङ्ग पैदा गरेको  छ । काँग्रेस महामन्त्री गगन थापा भने प्रचण्डको दाउपेचलाई बल पुग्ने सत्ताप्रतिको असन्तोषमा घिउ थप्न तल्लीन देखिन्छन् । 

सत्तारुढ काँग्रेस–एमालेमा स्पष्ट खटपट सुरु भइसकेको र सरकार गतिहीन एवं असफल भइसकेको थापाको टिप्पणी छ । केही महिना अघिसम्म सरकारमा समस्या रहे पनि अन्य विकल्प नभएको र बाध्यताले सरकार टिकाउनु परेको बताउने गरेका थापा अहिले सरकार नै फेर्नुपर्ने मनशायमा पुगिसकेका छन् । मंगलबार उनले सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिए । प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको बताउँदै उनले ओली सरकार असफल भइसकेको टिप्पणी गरे । दुई ठूला दल मिलेर सरकार बनाउँदा धेरै सुधार र सुशासन हुने आफूहरुको अपेक्षा भए पनि वर्तमान सरकार साह्रै गतिहीन देखिएको उनको भनाइ छ । 

सरकार सञ्चालन संयन्त्रमा समेत रहेका थापाले सरकार फोहोरको आहालमा डुबेको आरोप लगाए । आफूहरु सरकारमा फोहोर सफा गर्न गएको तर आफैँ टाँसिएर फोहोरी हुने अवस्था आएको उनको भनाइ छ । सरकारको पर्फर्मेन्स बढाउन र सुशासनका लागि खबरदारी गर्न आफू सक्रिय रहेको उनको दाबी छ ।

नयाँ वर्षसँगै सरकार परिवर्तन हुने र ओली सरकार वर्षदिन नकट्ने प्रचण्डको दाबी केवल हल्ला मात्रै रहेको एमालेको ठहर छ । सोमबारको सचिवालय बैठकमै यसलाई निराधार हल्ला र असम्भव भनेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको उक्त अभिव्यक्ति उनीभित्रको सत्ता मोह र छटपटी मात्रै रहेको प्रतिक्रिया दिए । सरकार ढलिहाल्छ भन्दै हिँड्नु प्रचण्ड सत्ताबाहिर हुँदाको कुण्ठा र पीडाबोध वा छटपटी मात्रै रहेको उनको भनाइ छ । अहिले सरकार परिवर्तनको कुरा सम्भव र सान्दर्भिक नभएको भन्दै ज्ञवालीले प्रचण्डको अभिव्यक्तिलाई भ्रम फैलाउन खोजेको रुपमा एमालेले बुझेको बताए । 

ओली सरकार बनेदेखि नै ढलपल देखिएको र अहिले हो कि भरे भन्दै त्रासमै ९ महिना गुजार्नुपरेको अवस्था विद्यमान छ । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकार बनाउने र ढाल्ने चलखेल निरन्तर चल्दै आएको छ, आगामी चुनावसम्म जारी नै रहनेछ । सबैभन्दा ठूलो दल काँग्रेस नै सरकारमा नेतृत्वविहीन हुनुको बिडम्बना त छँदैछ, शक्तिशाली भनिएको सरकारका प्रधानमन्त्री ओली पनि निरीह देखिनु उदेकलाग्दो छ । अब देउवाको मुभमा जुनसुकै बेला ओली सरकार ढल्ने डिलमा उभिएको देखिन्छ । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update