
मकवानपुर । मुलुकमा सरकार परिवर्तन भएसँगै परिवर्तन हुने भूमि समस्या समाधान आयोगका कारण लाखौं भूमिहीन नागरिकले समयमै जग्गाधनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको नापजाँच सकिएपछि पुर्जा लिने बेलामा आयोग नै खारेज हुने समस्या नौलो होइन । सोही समस्याका कारण वर्षौंदेखि जग्गाधनी पुर्जा नपाएका मकवानपुरका भूमिहीनहरुलाई लालपुर्जा वितरण कार्यको सुरुवात गरिएको छ ।
१० वटा स्थानीय तह रहेको मकवानपुरमा पछिल्लो समय गठन भएको भूमि समस्या समाधान आयोगले बकैया गाउँपालिकाबाट जग्गा भनी पुर्जा वितरण गर्न सुरुवात गरेको छ । गाउँपालिकामा बसोबास गर्ने भूमिहिन सुकुम्वासी तथा अव्यवस्थितलाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गरिएको हो । बकैया–७ स्थित भिरकोटमा एक समारोहका बीच उनीहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो । वर्षौंसम्म पुर्जा बिना ऐलानी जग्गामा खनजोत गर्दै जीविका चलाउँदै आएका स्थानीयहरु आफ्नो हातमा जग्गा धनी पुर्जा पाएपछि दंग छन् ।
त्यसो त, यही पुर्जाको लागि स्थानीयले कम्ति संघर्ष त गरेका छैनन् । कहिले जग्गा नापी भैसकेपछि भूमि समस्या समाधान आयोग नै खारेज हुँदा धेरै पटक हातमा आउनै लागेको पुर्जा रोकिएको स्थानीयको अनुभव छ । तथापि, नापी कार्यालयले नाप गरेकै जति जग्गाको पुर्जा हातमा आइपुग्दा ढिलो भए पनि खुसीको कुरा भएको लाभान्वित स्थानीय बताउँछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको पुर्जा वितरण समारोहमा बकैया गाउँपालिका सँगको समन्वयमा ४० जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरिएको हो । मकवानपुरको सबै स्थानीयमा गरी ३५ हजार बढी नागरिकहरुलाई जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने देखिएको भूमि समस्या समाधान आयोग, मकवानपुरको तथ्यांक छ ।
सरकारको उद्देश्य राम्रो भए पनि प्रक्रिया लामो भएका कारण पुर्जा वितरणमा सकस देखिएको बताउँदै अब यो प्रक्रिया छाँटकाट गर्न आवश्यक रहेको जिल्ला अध्यक्ष बल बताउँछन् ।
आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरणमाथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको गरिएको हो । उनीहरुलाई न्यूनतम एक कठ्ठादेखि अधिकतम पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराएको भूमि आयोग मकवानपुरले जनाएको छ ।