News 24 Television
सामुदायिक विद्यालय सुनसान, निजीमा चहलपहल

काठमाडौँ । नयाँ शैक्षिक सत्र २०८२ सोमवारबाट शुरु भएको छ । यो शैक्षिक सत्रको विद्यालय भर्ना अभियान मंगलबारदेशि शुरु हुँदैछ । हिमाली जिल्लालाई समेत मध्यनजर गरी बैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु भएको हो । विगतमा शैक्षिक सत्र शुरु भएको महिनौंसम्म पनि पाठ्यपुस्तक नपुग्ने समस्या हुने गरेकोमा यो वर्ष शैक्षिक सत्र शुरु नहुँदै ७७ जिल्लामै पाठ्यपुस्तक पनि पुगिसकेको छ । तर देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरु भने विद्यालयमा ताला लगाएर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका छन् । 

नयाँ शैक्षिक शुरु भएसँगै बैशाख २ गतेदेखि देशैभर भर्ना अभियान शुरु हुँदैछ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ सरकारले भर्ना अभियान शुरु हुँदा शिक्षकहरु भने काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । सरकारले भने भर्ना अभियान सफल पार्न सबै शिक्षक, अभिभावक तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन प्रधानमन्त्री ओलीले सोमवार आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले बालबालिकालाई भर्ना र नियमित विद्यालय पठाउन आह्वान गरे पनि काठमाडौंसहित देशैभरका सामुदायिक विद्यालयका ढोकामा ताल्चा झुण्ड्याएर शिक्षकहरु आफ्नो स्वार्थकेन्द्रित शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघर बानेश्वर सडकमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । 

नेपाल राष्ट्रिय शिक्षक महासंघको अगुवाईमा देशैभरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारी चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन् । महासंघ विगतमा आफूहरुसँग भएको सहमति समेटिने गरी शिक्षा ऐन जारी गर्नुपर्ने एक मात्र अडानमा छ । आन्दोलनको तेस्रो दिन चैत २३ गते प्रधानमन्त्रीले आफूमाथि विश्वास गरेर शिक्षकहरु प्रदर्शनमा आएको भन्दै शिक्षकको माग सुन्ने भन्दै आश्वस्त पार्न खोजे । 

तर शिक्षक महासंघ भने ऐन जारी नभएसम्म विद्यालय नफर्किने भन्दै वार्तामा बस्न समेत माग पूरा हुने ज्ञारेन्टी खोजिरहे । शिक्षकको कुरा सुन्ने आफ्नो सरकारमात्रै रहेको अभिब्यक्ति दिएको दुई दिनपछि चैत २५ गते ओलीले शिक्षकहरुले किन आन्दोलन चलाइरहनु भएको आफूलाई थाहै नभएको भन्दै कटाक्ष गरे । 

भर्ना अभियान प्रभावित 

झण्डै २ सातासम्म आन्दोलन जारी रहँदा शिक्षक महासंघको तर्फबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने काम मात्रै भएको छ । माग पूरा नभएसम्म विद्यालय नफर्किने भन्दै शिक्षकहरु सडकमा उत्रिएपछि सामुदायिक विद्यालयहरु सुनसान छन् । तर यहि मौकामा निजी विद्यालयहरुमा भने चहलपहल निकै बढेको छ । एक त सामुदायिक विद्यालयको नतिजा नै कमजोर छ, अझ भर्ना अभियानका बेलामा शिक्षकहरुको आन्दोलन । यो वर्ष सरकारले एसईई परीक्षाको नतिजा असार ७ गतेभित्रै प्रकाशन गर्ने भनी मिति नै तय गरेको छ । तर शिक्षक आन्दोलनको कारण एसईईको उत्तरपुस्तिकासमेत अहिलेसम्म परीक्षण शुरु भएको छैन । जसका कारण नतिजा पूर्वनिर्धारित समयमा प्रकाशित गर्न समस्या हुने भएको छ । 
  
दुर्गम जिल्लामा समेत पुग्यो पाठ्यपुस्तक

बैशाख १ देखि नयाँ शैक्षिक सत्र शुरु हुनु भन्दा झण्डै एक साताअघि नै यो वर्ष सबै पाठ्यपुस्तकहरु जिल्ला तथा पालिकासम्म पुगिसकेका छन् । शैक्षिकसत्रको ६ महिनासम्म पनि पाठ्यपुस्तक नपुग्ने दुर्गम जिल्लामा समेत यो पटक पाठ्यपुस्तक पुगिसक्दा बालबालिकाको भर्ना नै अन्योल छ । शिक्षकहरुको माग बमोजिम प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेट बढाउने तथा आगामी संसद अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउने प्रतिवद्धता जनाएका छन् । संसद नै नचलेको समयमा विद्यालय नै बन्द गरेर आन्दोलन हुँदा सबै बालबालिकालाई विद्यालयसम्म नपुग्ने निश्चित छ । त्यसैले विद्यार्थी भर्ना अभियानमा शिक्षकहरु जिम्मेवारी बन्न जरुरी छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update