
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पालिरहेको सत्तामोहमा सत्तारुढ दल एमालेले आपत्ति जनाएको छ । एमाले सचिवालय बैठकले पूर्वराजाको गतिविधिमाथि आपत्ति जनाउदै माओवादी केन्द्रमाथि समेत प्रहार गरेको छ । अहिले परिस्थिति तरल बनिरहेका बेला एमालेले गर्न लागेको वैशाख ११ को प्रदर्शनबारे समेत विवेचना शुरु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा चैत्र १५ गतेको तीनकुने प्रदर्शनलाई जनप्रदर्शन भनेका छन् भने, लोकतन्त्रमा विरोध गर्न पाउने कुराको स्मरण गराएका छन् । संवैधानिक राजसंस्थाको पक्षमा वकालत गरेका पूर्वराजाले ०८२ मा आफू सत्तामा फर्किन सम्भव हुने गरि जनतालाई सडकमा आउन संकेत पनि गरेका छन् ।
पूर्वराजाको यस्तो अभिव्यक्ति निरन्तर आउन थालेको छ । तीनकुनेमा मच्चिएको लुटपाटदेखि हिंसामा दुख व्यक्त गरेजस्तो गरेका पूर्वराजालाई यस्ता गतिविधि थप नगर्न एमालेले सचेत गराउने भनेको छ । एमाले सचिवालय बैठकले तीनकुने घटनालाई लिएर जनतामा जागरण आएको भन्ने विषयले एमालेले आपत्ति जनाएको भनिएको छ ।
एमालेले यसरी आक्रोश पोख्दै गर्दा सत्ता फेरिने हल्लाबारे समेत चर्चा गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् ।
प्रचण्डले यस्तो दाबी गर्न थालेपछि एमालेले प्रचण्ड सत्ताबाट हट्दाको पीडाको रुपमा अथ्र्याएको छ।
एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले सत्तामोह पालेको पुष्टी भएको आरोप लगाएको छ भने यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएको छ । तर, सरकारको गति, कामकाज, शैली, आचरण र अन्य विषयमा भने खास चर्चा गरेको देखिन्न ।
११ गते प्रदर्शन गर्ने
एमालेले वैशाख ११ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । एमालेले अहिले सडकमा देखिएका गणतन्त्रविरोधी प्रदर्शन, राजनीतिप्रतिको असन्तुष्टपूर्ण आम बुझाईलाई बदल्ने र संविधान, गणतन्त्रको रक्षाका लागि प्रदर्शन गर्ने भनेको छ । वैशाख ११ गतेको प्रदर्शनलाई एमालेले आफ्नो शक्ति परिक्षणको रुपमा समेत लिएको छ । समाजवादी मोर्चासम्बद्ध दलहरुले काठमाडौंमा गरेको प्रदर्शनलाई उत्साहको रुपमा अथ्र्याएका प्रधानमन्त्री केपी ओलीमाथि त्योभन्दा ठूलो ¥याली निकाल्ने दबाब समेत देखिन्छ ।
विश्व राजनीति नियाल्दा सरकारको नेतृत्व गरेको दल सडकमा ओर्लिने अभ्यास विरलै देखिन्छ । तर, ओलीले आफू सरकारको नेतृत्वमा हुँदै शक्ति देखाउन यस्तो प्रयास गर्दै आएका छन् । विशेष संकटको बेला समेत ओलीले यस्तो प्रयोग गर्ने गर्छन् ।
तत्कालीन नेकपा विभाजनको बेला समेत ओलीले दरबारमार्गमा यस्तो सभा गरेर चुनौति दिने काम गरेका थिए । पछिल्लो समय पनि अनेक प्रश्नको घेराबन्दीमा परेपछि ओलीले प्रदर्शन गर्न लागेका हुन् । लोकतन्त्र दिवसको दिन आयोजना गर्न लागिएको प्रदर्शनले आफ्नो शक्ति प्रदर्शनका साथै एमाले र आफ्नो नेतृत्व अझैं स्वीकार्य छ है भन्ने भाष्य स्थापितको प्रयास हुनेछ । तर, त्यो दिनको प्रदर्शनले कस्तो रुप लिन्छ भन्ने विषयले समेत थुप्रै अर्थ राख्नेछ ।