News 24 Television
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : महामन्त्री थापा

काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरे । उनले बिचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला कि त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

महामन्त्री थापाले भने, ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update