News 24 Television
काँग्रेससँग मिलेर सरकार बनाउने प्रचण्ड दाउ, रक्षात्मक एमाले !

काठमाडौँ । नयाँ वर्षसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने दावी गरेका छन् । २०८० असारमै काँग्रेस र एमालेले नयाँ गठबन्धन गरेर सरकार निर्माण गरेका थिए । त्यसयता सार्वजनिक रुपमै निरन्तर सरकार नटिक्ने दावी प्रचण्डले गर्दै आएका छन् । तर यतिका समय सरकार कायमै छ । यही बीचमा प्रचण्ड नयाँ वर्षको आगमनसँगै राजनीतिमा पनि नयाँपना आउने भन्दै सरकार परिवर्तनको दावी गर्न थालेका हुन् । 

हुनपनि सरकारविरुद्ध सत्तापक्षकै दलहरुदेखि प्रतिपक्षी मैदान उत्रिएका छन् । मुलुकमा शिक्षक, किसान र लघुवित्त पीडितहरुसम्म आन्दोलनमै छन् । यद्यपि सरकार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नतर्फ केन्द्रीत देखिँदैन । 

सरकारमा संसदकै ठूला दलहरुको सहकार्य छ । तरपनि सुशासन र पारदर्शिता कायम हुन सकेको छैन । यस्तोमा सरकारप्रति सत्तारुढ दलका नेताहरुसमेत सन्तुष्ट रहेका छैनन् । सरकारको कामकारवाहीप्रति काँग्रेसकै नेताहरुले रोष प्रकट गर्ने गरेका छन् । 

यस्तैमा विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार फेर्ने रणनीति बुन्दै  काँग्रेसको नेतृत्वमा सरकार बन्ने स्थितिमा आफूले सघाउने संकेत गरिरहेका छन् । उनी काँग्रेस एमालेबीचको फाटोको विन्दू खोजिरहेका छन् । नयाँ वर्षसँगै प्रचण्डले काँग्रेस एमालेमा फाटो आउने संभावना देखेरै सरकार परिवर्तन हुनसक्ने अड्कल गरिरहेका हुन् । 

रक्षात्मक ओली ! 

प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको नेतृत्वमै रहँदापनि उनमा त्रास कम छैन । सरकार निर्माण गर्दा केपी आली र शेरबहादुर देउवाले आधा–आधा कार्यकाल र संविधान संशोधनको एजेन्डा बनाएका थिए । तर दुई दलले संविधान संशोधनको सम्झौता कार्यान्वयन गराउन सकेका छैनन् । उता आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने विषयमा पनि काँग्रेस एमालेबीच समझदारी पालना हुनेमा शंका कायमै छ । यस्लाई शंकारहित बनाउन प्रधानमन्त्री ओलीले सँधै देउवालाई पद हस्तान्तरणको मिति सुनाउने गरेका छन् । उता सरकार र सत्ता नेतृत्वमाथि उठेका प्रश्नको जवाफ दिन पनि एमालेले सडक प्रदर्शन गर्ने रणनीति बुनेको छ । 

एमालेले राजावादी र सरकारविरुद्धको प्रदर्शनलाई काउण्टर दिन कार्यकर्ता उतार्नेदेखि जनसभासम्म गर्दै आएको छ । एमालेले यसकैविरुद्ध बुटवल र झापामा जागरणसभा समेत ग¥यो । अब बैशाख ९ र ११ गते काठमाडौंमा एक लाख युवा सडक उतार्ने पनि एमालेको तयारी छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update