News 24 Television
एमालेले वैशाख ११ गते सेलिब्रेसन गर्ने,  ‘कम्युनिस्ट योद्धा’का रूपमा ७ जनालाई सम्मान

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ । 

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले बताए । उनका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । ज्ञवालीले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने  जानकारी दिए ।

उनले भने, ‘वैशाख ११ गते जनताले जितेको दिन निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन हो । त्यो दिनलाई हामी उत्सवको रुपमा मनाउने र आजको पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्व बताउन, गणतन्त्रको महत्व बताउन सेलिबे्रसनको रुपमा काठमाडौंमा एउटा भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्यसको बारेमा पनि हामीले सल्लाहहरु गरेका छौं ।’

उनले बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरुबारे समेत समीक्षा भएको बताए । शाहद्वारा आईतवार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उनले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update