News 24 Television
गभर्नर नियुक्तिदेखि ओली चतु¥याईसम्मः प्रचण्डको काँधमा देउवा बुई !

काठमाडौं । राजनीतिमा नयाँ उथलपुथल आउने सम्भावना बढ्दै गएका छन् । सरकार फेरिने सम्भावनादेखि राजनीतिक कोर्स करेक्सनमा नयाँ समीकरणको आन्तरिक तयारी समेत तीव्र देखिन थालेको छ । के नयाँ वर्षको शुरुवातसँगै फेरि सरकार फेरबदल होला त ? 
 
कांग्रेस–एमाले मिलेर निर्माण गरेको बलियो सरकारमाथिका प्रश्नहरु परस्पर विवादास्पद बनिरहेका छन् । सरकारको स्थिरता लामो समय कायम नहने अड्कबाजीहरु चलिरहेका  छन् । यस्तोमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नयाँ वर्षसँगै सरकार फेरिने आभास आफूलाई मिलेको भनिरहेका छन् । 

सरकार फेरिने चर्चा प्रचण्डले गरिरहेपनि यसका केहि आधार तयार भइसकेको संकेत सत्तारुढ दल नेपाली कांग्रेसले पनि देखाइरहेको छ । कांग्रेसका नेताहरुले सरकारको गतिमा प्रश्न गर्दै भन्न थालेका छन्, नचाहिने काममा सरकारले हात हाल्दा जतापनि जवाफ दिदै हिड्नु परेको छ । 

यो तरिका सहि भएन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कडा आलोचना गरिरहेका छन् । उनीहरुले सरकारको गति ठिक नरहेको भन्दै उनीहरुले आलोचना गरिरहेका छन् । 

यस्तोमा कांग्रेस नेता शेखर कोइरालाले पनि सरकारको कडा आलोचना गर्दै कामग्रेस सत्तामा भएपनि सरकारमा नभएको भनिरहेका छन् । यसमा देउवाले पनि सरकार बद्नामित बनिरहेको भन्न थालेका छन् । 

कांग्रेसभित्र विस्तारै सरकारविरोधि आवाज बलिया बन्न थालेको देखिन्छ । सरकार गठनदेखि नै विभिन्न अवरोध सिर्जना गरिरहेको सरकारले सेवा प्रवाह र जनतालाई आश्वस्त तुल्याउने काममा खास सक्रियता नै देखाएको छैन् । नागरिक वितृष्णा तीब्र बनिरहेको बेला प्रधानमन्त्री केपी ओलीले नै जता पुग्यो त्यतै सरकारको नेतृत्व हस्तान्त्रण गर्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिने परिस्थितिले पनि गठबन्धनमा सौहार्दता कायम हुन नसकेको अवस्था देखिन्छ ।

के कारणले सरकार फेरिन सक्छ ?

सरकार निर्माणमा शेरबहादुर देउवा र केपी ओलीबीचको सम्बन्ध जति सुमधुर भएपनि व्यवहारतः कुरा मिल्न सकेको देखिन्न । विभिन्न नियुक्तिदेखि निर्वाचनसम्म आइपुग्दा ठूला दलबीचको प्रतिष्पर्धा जोडले बढेको देखिन्छ । 

यस्तोमा पछिल्लो समय गभर्नर नियुक्तिको गाँठो फक्न कठिन बाटोमा पुगेको बताइन्छ । सरकारले गभर्नर नियुक्ति सामान्यतया एक महिना अघि गर्नुपर्ने भएपनि कामू तोक्ने गरि सरकार सेलाएको छ । 

गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्रीको नेतृत्वमा बनेको समितिले बैठक समेत गर्न सकेको छैन् । कांग्रेस एमालेले आफ्ना उम्मेदवार भिडाउदै गर्दा प्रधानमन्त्री केपी ओलीले फुत्त राष्ट्र बैंककै वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई ल्याइदिए । 

यसरी ओलीले खेल्न थालेपछि तनाव चुलिएको बताइन्छ । नेप्सेको नेतृत्व चयनमा कुरा नमिल्दा एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएजस्तै गभर्नर नियुक्तिको प्रक्रियामा पुग्दासम्म सरकार र गठबन्धनको बेमेल ह्वात्तै बढेको दाबी गर्ने गरिन्छ । 

यतिमात्रै कारण नभई सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले नै सामान्य कुरामा समेत ध्यान नदिने, गठबन्धनको बद्नाम नै गराउने गरि मन्त्रीहरुलाई फुक्काफाल छाडिदिने लगायतका काम गरेको कांग्रेसमा चर्चा छ । 

ऊर्जामन्त्री दीपक खड्कालाई प्रधानमन्त्री ओलीले एसम्यान बनाएको आरोप कांग्रेसभित्रै लागिरहेको बताइन्छ । सायद यहि भएर पनि होला, विद्युत प्राधिकरणको नेतृत्वमा आएका हितेन्द्रदेव शाक्यलाई मन्त्री खड्काले एसियाकै सक्षम इन्जिनियरको संज्ञा दिएका छन् ।

यस्ता अनेक विषयमा प्रधानमन्त्री ओलीले आफू अनुकुल खेल्न थालेपछि कांग्रेस तर्सिन र तर्किन खोजेको बताइन्छ ।

मौकाको पर्खाई

कांग्रेसलाई माओवादी केन्द्र लगायतका साना दलहरुले सकारको नेतृत्व गर्न उक्साइरहेका छन् । देउवा पनि नेतृत्व पाउने निश्चितता देखिए गठबन्धन छाड्ने उपर्यक्त समय आएको बुझाईमा देखिन्छन् । 

सरकारविरुद्ध सडकमा देखिएका आन्दोलन, गणतन्त्रमाथि उठेका प्रश्न, सरकारले सामान्य सुरक्षा प्रवन्ध गर्न नसकेको विषयदेखि अन्य विषयलाई केन्द्रमा राखेर गठबन्धन फेर्न योभन्दा उपर्युक्त समय फेरि नआउन पनि सक्ने विश्लेषणका साथ कांग्रेसले सोच बनाइरहेको स्थितिमा नयाँ वर्षको प्रवेशसँगै सत्ता फेरबदलको खेल बढ्न सक्ने स्थिति देखा पर्न थालेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update