
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिदै तीनकुने घटनामा दुःख व्यक्त गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै हलचल मच्चाएका पूर्वराजाले नयाँ वर्षको शुभकामनामार्फत २०८२ मा नयाँ परिस्थिति सिर्जना हुने भन्दै राजकीय स्पेश खोजेका छन् ।
उसोतः उनले युवालाई स्वदेश फर्क अभियान चलाउनेदेखि विभिन्न विषयमा विवेचना गरेका छन् । देशको अर्थतन्त्रमा ठूलो समस्या सिर्जना भएको भनेका पूर्वराजाले आत्मनिर्भर अर्थतन्त्रको कुरा समेत उठाएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा आफुलाई साथ दिन अपिल गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि हौसिएका राजावादी शक्तिको प्रदर्शनको क्रममा तीनकुनेमा चैत्र १५ गते हिंसा, लुटपाट र आतंक नै मच्चियो ।
यसमा राज्य समेत संवेदनशील बन्न नसकेको आरोप व्याप्त छ । तर, त्यसपछि फेरि पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना दिदै तीनकुने घटनामा दःुख व्यक्त गरेका छन् ।
चैत्र १५ गते भएको घटनामा पूर्वराजामा समवेदना नभएको चर्को आलोचना र टिप्पणी चलिरह्यो । संसदमा समेत चर्को आवाज उठ्यो । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले राजा नबोल्ने जिकिर गरे । राजावादी नेताहरुले यस्तो जिकिर गरेको आधा महिनापछि ज्ञानेन्द्रले दुःख व्यक्त गरे ।
तर, अत्यन्तै ढिला गरेर । यसरी दुःख व्यक्त गरेका ज्ञानेन्द्रले संवैधानिक राजसंस्थाको पक्षमा रहेको भन्दै उनले गद्दीमोह भने छरपष्ट पारेका छन् । कुनै सत्ता हातमा लिएका उनले प्रजातन्त्र, नागरिक स्वतन्त्रता र सार्वभौमिकताबारे भने गहिरो विश्वास रहेको जिकिर गरे ।
उसोतः ज्ञानेन्द्रले राप्रपाले भन्दै आएको संवैधानिक राजसंस्थाको रुपमा रहने इच्छा समेत व्यक्त गरे ।
लामो शुभकामना सन्देश सार्वजनिक गराएका ज्ञानेन्द्रले नयाँ वर्ष २०८२ मा नेपालमा परिवर्तन हुने, शान्ति अमनचयन कायम हुने भन्दै जनप्रदर्शन हुने र जनताको बलबाट आफु आउने संकेत समेत गरे ।
पूर्वराजाले यस्तो अपिल गर्दै गर्दा राजनीतिक दलहरुले भने उछितो काढ्ने गरेका छन् । पूर्वराजाको व्यवहार र आचरणकै कारण तीनकुने घटना भएको भन्दै उनलाई जिम्मेवार बनाउनुपर्ने माग गरिरहेका छन भने पूर्वराजाले पनि तीनकुनेमा भएको प्रदर्शनलाई जनप्रदर्शन भन्दै त्यसको समर्थन गरेका छन् ।
यता, संसदीय समितिमा नै उनलाई बोलाएर तीनकुने घटनाबारे सोधपुछ गर्नुपर्ने विषय उठिरहेको बेला तीनकुनेको प्रदर्शनलाई जनप्रदर्शन भन्दै त्यसको नैतिक जिम्मेवारी लिएका पूर्वराजालाई संसदीय समितिमा बोलाएर सोधपुछ गर्न मिल्छ ? यस्तो प्रश्नमा संसद सचिवालय भने सहमत देखिन्न । पूर्वराजालाई बोलाएर सोधपुछ गर्न नसकिने भनेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले २०८२ साललाई आफ्नो सत्तारोहणको अवसरको रुपमा लिन खोजेको सन्देश सार्वजनिक गरेका छन् । यता, सरकारले भने तीनकुने प्रकरणमा उनबलाई जोड्नुपर्ने भन्दै आक्रोश पोखिरहेको छ । तर, ज्ञानेन्द्रको सन्देशले फेरि राजनीतिक हंगामा भने मच्चिने देखिन्छ ।