
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनस्तरमा बढेको निराशा, असन्तुष्टि र बेचैनी नै आफूहरूको चिन्ताको विषय रहेको बताएका छन् । आइतबार नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै उनले चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति समेत दुःख व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साहसाथ आएको नयाँ वर्षको उपलक्ष्यमा देश–विदेशमा रहेबसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना । हरेक नयाँ वर्ष नयाँ आशा र विश्वासका साथ आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो ।’
साथै समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, विचार र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता रहेको बताउँदै त्यस क्रममा सबैले संयमता अपनाउनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो ।’
नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद अरू केही नभएको भन्दै शाहले जनतामा देश र भविष्यप्रतिको जागरुकता देखिनु सकारात्मक रहेको बताए । उनले भनेका छन्, ‘मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो ।’
वर्तमान बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यस्रोत जनता नै हुन् भन्ने सदैव स्थापित हुनुर्पने बताउँदै उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्यपदेशलाई मूल मन्त्र सोच्नुपर्ने बताए । सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार र राजनीतिको मूल धार हुनुपर्ने उनको भनाइ छ ।