
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन २०८२ बैशाख २५ देखि २७ गतेसम्म हुने भनिएको थियो । यसको तय गत असोज १ र २ गते काठमाडौँमा भएको रास्वपाको राष्ट्रिय भेलाले नै गरेको हो । तर पार्टी सभापति रवि लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परे ।
त्यसपछि रवि विभिन्न मुद्धामा ८४ दिन हिरासत बस्नु प¥यो । यसपछिका दिनमा पनि अदालती झमेलाकै कारण रवि पार्टी गतिविधि र सार्वजनिक कार्यक्रममा खासै देखिएनन् । रवि मौन रहँदा अनेकौँ प्रश्नले घेरिन पुगे । तर रवि चैत १७ गतेदेखि पार्टीको नेतृत्वमा फर्किने चर्चा भयो ।
त्यसको भोलि पल्ट नै रवि रास्वपा सभापतिको जिम्मेवारीमा फर्किँदै आफ्नै नेतृत्वमा पार्टीको बैठक बसाले । तर त्यसको एकसाता पनि नपुग्दै रवि पुनः पक्राउ परेका छन् । योसँगै रास्वपाको पहिलो महाअधिवेशन हुन्छ वा हुँदैन ? भन्ने प्रश्न र चासो बढ्दो छ ।
कारागार अवधि अनिश्चित !
रास्वपा रवि लामिछानेकै नेतृत्वमा २०७९ सालमा स्थापित दल हो । रास्वपाले स्थापना भएको केही महिनापछि नै आम निर्वाचनको सामना गर्दा राम्रै सफला प्राप्त गरेको थियो । तर उसले पार्टी चलायमान पार्न भने सकिरहेको छैन ।
रास्वपालाई स्थापना भएको ५ वर्षभित्र अधिवेशन गर्नुपर्ने बाध्यता छ । र, रवि यही बैशाखमा अधिवेशन सम्पनन गर्दै आउँदो ०८४ को निर्वाचनमा पार्टीलाई उचाइमा पु¥याउन चाहन्थे । तर उच्च अदालत तुलसीपुर बुटवल इजालसले रविलाई सहकारी ठगी प्रकरणमै पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । यसपछि रवि एकसाता देखि नै हिरासतमा छन् ।
रविले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका छन् । यद्यपि उच्चको आदेश के आउँला र उनको कारागार बसाई अवधि कति होला भन्ने यकिन छैन ।
रविविनै पार्टीको अधिवेशन हुन सक्ला ?
रास्वपाको महाधिवेशन हुने वा नहुने भन्नेबारेको निर्णय यही बैशाख ४ गते बस्ने सचिवालयको बैठकले निर्णय गर्नेछ । यसमा कार्यवाहक सभापति डीपी अर्यालले महाधिवशेन गर्ने वा नगर्ने भन्नेबारे निश्कर्ष दिनेछन् ।
उनले नेताहरुको रायका आधारमा निर्णय लिने बताइरहेका छन् । यसअघि चैत १८ गते रविकै नेतृत्वमा बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन निर्धारित समयमै गर्ने निर्णय गरेको थियो ।
साथै उनले पार्टीको भावि कार्यादेशका बारेमा लिखित रायसमेत माग गरेका थिए । हुनत पार्टीको महाधिवेशनका लागि धेरैजसो तयारी पनि भइसकेको बताइन्छ । तर रविविनै महाधिवेशन गर्ने वा नगर्ने भन्नेमा नेताहरु एकमत हुन सकिरहेका छैनन् ।
यदी महाधिवेशन भइहाले रविविरुद्ध उम्मेदवारी दिने वा नदिने ? रविका लागि सभापति पद खाली छाड्न पाइन्छ कि पाइँदैन ? रवि हिरासतमै रहिरहे उनलाई सभापतिमा निर्वाचित भएको घोषणा गर्न मिल्छ मिल्दैन ?
जस्ता आम प्रश्नहरुको जवाफ रास्वपाले खोजिरहेको छ । कानून र विधानले पार्टी भित्रका यी तमाम प्रश्नहरुमाथि अनुकुल जवाफ दिए रविविनै पनि रास्वपाको महाधिवेशन हुने संभावना छ । नत्र रविलाई बाइपास नै गरेर रास्वपाको महाधिवेशन हुनसक्ने संभावना भने न्यून नै देखिन्छ ।