News 24 Television
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ? 

काठमाडौं । चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि अर्थात् हानुमान जयन्तीको अवसरमा शनिबार हिन्दु धर्मालम्बीहरुले हनुमानको पूजाआजा गरेर मनाएका छन् । हनुमानलाई मन पर्ने फलफूल धूपबत्तीले यस दिनमा उनको विशेष पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । 

भगवान रामको परमभक्तका रुपमा रहेका हनुमानको विश्वभरका हिन्दु धर्मालम्बीहरुले शनिबार विशेष पूजाआजा गरेर हनुमान जयन्ती मनाएका छन् । हनुमानलाई वायु देवको छोरा मानिन्छ र उनले कुनै पनि रुप धारण गर्न सक्ने धार्मीक ग्रन्थहरुमा उल्लेख छ । हनुमान जयन्तीका अवसरमा देशभरका राममन्दिर र हनुमान मन्दिरमा विशेष पूजा गरिएको छ । 

काठमाडौंमा पनि विभिन्न मन्दिरमा यसदिन भक्तजनको भीड रहेको थियो । यसैगरि, ललितपुरको लनखेल स्थित हनुमान सेवा केन्द्र परिसरमा रहेको संकटमोचन हनुमानको मन्दिरमा पनि भक्तजनहरुले घुईचो रहयो । हनुमानलाई मन पर्ने फलफूल र धुपबत्ति बालेर हनुमानको विशेष पूजा गरिएको छ । 

२०४२ सालमा जवालखेलमा हनुमान्को मुर्तीलाई विधिपूर्वक प्रण प्रतिष्ठा गरेर मन्दिर निर्माण गरिएको थियो । त्यसयता यस स्थानमा दैनिक पूजाआजा गरिदैं आएको छ । यस मन्दिरमा हनुमानको पूजा गरे मनोकांक्षा पुरा हुने विश्वासका साथ हनुमान जयन्तिका दिन भक्तजनको विशेष भीड रहने गर्छ ।  

यस मन्दिरमा हरेक शनिबार र मंगलबार हनुमानको महिमासहितका भजनकृतन विशेष रुपमा गरिन्छ । साथै मंगलबार सन्ध्या आरती पनि गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि हनुमान जयन्तीका अवसरमा संकट मोचन होम समेत गरिएको छ । 

हनुमान् माथि शनिको बक्र दृष्टि नपर्ने भएकाले उनको पूजाआजा गरेमा संकट मोचन हुने जनविश्वास रहदैं आएको छ । 

वैष्णव सम्प्रदायले हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको रुपमा समेत लिने गर्छन् । नेपालमा १७ औं सताब्दीदेखि हनुमानका मूर्तिहरु बन्ने गरेको र सोही समयदेखि नै हनुमान् सम्प्रदाय प्रख्यात पनि हुन थालेको धार्मीक विश्लेषकहरु बताउँछन् । 

हनुमानको मन्दिरमा किन गरिन्छ सिन्दुर लेपन ?

हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । पशुपतिमा मन्दिर परिसर भित्र मुल मन्दिरको पश्चिम ढोका अगाडि पनि शिव गण नन्दि नजिकै  हनुमानको मूर्ती स्थापित छ । त्यहाँ पनि मूर्तिमा सिन्धुर लेपन गरिएको छ । 

भगवान् रामको दरबारमा सीताले हनुमानलाई एउटा दिव्य हार दिएपछि त्यो हारलाई चुँडालेर फुटाएर हनुमान्ले हेर्न थाल्दा दरबारका अधिकारीहरूले हनुमानलाई कि फुटालेको भन्दै सोधेको र उनले यो हारभित्र भगवान् राम र सीता छ कि छैन भन्दै हेर्न फुटालेको प्रतिक्रीया दिए पछि दरवारका अधिकारीहरुले तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि भनेको र हनुमानले आफ्नो हृदय च्यातेर आत्ममा रामसीता देखाइ दिएको दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कुरा आध्यात्म रामायणमा वर्णन गरिएको छ । त्यसपश्चात नै हनुमानलाई सिन्दुर र तेल अर्पण अनि लेपनसहित पूजा गरिन्छ । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update