News 24 Television
ओलीसँग देउवा सचेत ! सत्ता उलटफेरको फेरि यस्तो इशारा !

काठमाडौं । नेपाली कांग्रेस एमाले नेतृत्वको सरकारसँग विरक्तिएको हो ? आम रुपमा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री केपी ओलीले ०८४ को निर्वाचनपछि समेत सहकार्य हुने दाबी गरिरहेको बेला कांग्रेसले सरकारको गतिमा मात्रै प्रश्न उठाएको छैन्, सरकार धेरै बदनाम बन्न पुगेकोमा समेत सचेत बन्नु पर्ने भन्न थालेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय प्राय भन्ने गरेको एउटा वाक्य हो, प्रधानमन्त्री केपी ओली जेलदेखिको साथी हो । सत्ता सहकार्यमा पुरापुर सघाउछौं । 

देउवाले यस्तो जिकिर गरिरहँदा प्रधानमन्त्री केपी ओलीले पनि समयमै सत्ता हस्तान्तरण गर्ने विषय कतै छुटाउदैनन् । पार्टीको आन्तरिक कार्यक्रममा होस वा अन्य सार्वजनिक फोरममा नै किन नहोस, ओलीले सरकारको नेतृत्व हस्तान्तरणको कार्यतालिका नै सार्वजनिक गर्ने गरेका छन् । 

प्रधानमन्त्री ओलीले कांग्रेससँग आगामी निर्वाचनपछिसम्मको सहकार्यको विषय उठाउदै समेत उठाउने गरेका छन् । तर, कांग्रेसमा भने तीव्र मतभेद देखिन थालेको छ । कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममै कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको टिप्पणी गरे ।

सरकारमा कांग्रेस रहेपनि प्रभावकारी नभएको भन्ने कुरा गरेका शेखर कोइरालालाई समेत शेरबहादुर देउवाले जवाफ दिए । देउवाले सरकारका नाममा धेरै  बद्नामी भएको स्वीकार गर्दै यस्तो नहोस भन्नेतर्फ सचेत रहेको जिकिर गरेका छन् । 

यसरी कांग्रेसमा पनि सरकारको कामलाई लिएर प्रश्न उठ्न थालेका छन् । प्रधानमन्त्री केपी ओलीले सरकार टसमस नहुने दाबी गरिरहेको बेला सरकारको गति र कार्यशैलीमाथि कांग्रेसमा बाक्लै प्रश्न उठ्न थालेको छ । 

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समेत कांग्रेस सरकारलाई स्वागत गर्ने भन्दै सार्वजनिक टिप्पणी गरिसकेको छ । तर, सरकारमाथिका यस्ता टिप्पणी चर्किदै गर्दा प्रधानमन्त्री ओलीले भने आफू काम गर्न आएको सार्वजनिक दाबी भने गर्ने गरेको देखिन्छ । केहि समय पहिले ओलीले आफू तालि बजाउन नआएको भन्दै कामबाटै प्रमाणित गर्ने जिकिर गरेका थिए । 

कांग्रेस–एमाले सरकारमा वितृष्णाको ग्राफ भने सत्तारुढ दलभित्रैबाट सार्वजनिक हुन थालेको छ । कांग्रेस महामन्त्री गगन थापादेखि अन्य नेताहरुले समेत सरकारको आलोचना सार्वजनिक रुपमा गर्न थालेका छन् । 

अन्य नेताका कुरालाई त खास फरक अर्थमा हेरिदैन । तर, सभापति देउवाले नै सरकार बदनामीको बाटोतर्फ गएकोमा आफू सचेत भएको भन्न थालेपछि भने स्थिति फेरिने अवस्थामा त पुगेको छैन ? प्रश्नहरु उठेका छन् । यस्तोमा प्रतिपक्षी दलले पनि कांग्रेसलाई सरकारमा ल्याएर ओलीलाई हटाउने प्रयास थालेकै   देखिन्छ । यस्तोमा कांग्रेसको दिक्दारी र ओलीको सत्ता यात्रा कहिलेसम्म कायम रहन्छ भन्ने प्रश्न समेत रोचक मोडमा पुगेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update