
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा तेश्रो पटक ३ दिने रात्रि बजार संचालनमा आएको छ । नयाँ वर्ष २०८२ लाई लक्ष्ाित गर्दै वीरगञ्ज महानगरपालिकाले शुक्रवारदेखि रात्री बजारको आयोजना गरेको हो ।
सुस्ताउदै गएको वीरगञ्जको अर्थतन्त्रलाई उकास्न र सामाजिक एकताका लागी विभिन्न संघसस्थाहरुको सहयोगमा रात्री बजार सञ्चालनमा ल्याइएको हो ।
वीरगञ्ज महानगरपालिकाले नगरको आर्थिक विकास र समृद्धि तथा स्थानीयको मनोरञ्जनका लागी विगत ३ वर्षदेखी नयाँ वर्षलाई लक्षित गर्दै रात्री बजार संचालन गर्दै आएको छ ।
आर्थिक नगरी वीरगञ्जमा मनोरञ्जन गर्ने स्थानको अभावका कारण नयाँ वर्ष लगायत विभिन्न चाडपर्वहरुमा स्थानीयहरुको आकर्षणको केन्द्रविन्दु हेटौडा, सौराहालगायत नजिकका पर्यटकिय नगरी बन्दै गएको हो ।
यता वीरगन्जलाई आर्थिक नगरी भन्ने गरेपनि यहाँका बजारहरु राति ८ बजे पछि नै बन्द हुने गरेका छन् । सोही कुरालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाको कार्यालयले रात्री बजारको अवधारणा ल्याएको हो ।
वीरगञ्जको अर्थतन्त्रलाई चलायमान बनाउन खासगरी नेपाल–भारत सिमावर्ती सहर रक्सौलबाट पनि ठूलो संख्यामा पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले रात्री बजार संचालनमा ल्याएको र त्यसका लागी राति १२ बजेसम्म सिमानाका खुल्ला गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह बताउँछन् ।
वीरगञजमा पहिलो पटक गत २०७९ साल चैत्र महिनाको अन्तिम ३ दिन रात्री बजार लागेको थियो ।
यसले वीरगञ्ज बजारलाई अबेर रातिसम्म संचालनमा ल्याउने वातावरण बनाउने मात्र नभई नेपाल–भारत सिमावर्ती सहरका भारतीय पर्यटकहरुलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यवसायीहरु बताउँछन् ।
यसवर्ष पनि चैत २९ देखि ३१ गते ३ दिनसम्म रात्री बजार संचालनमा आइसकेको छ ।
अहिले वीरगञ्जको मुख्य सडक आदर्शनगर चोकदेखी पुरानो बसपार्कसम्म झिलीमिली बत्तीले सिंगारिएको छ ।
वीरगञ्जमा रात्री बजारको लोकप्रियता ब्ढदै गएपछि महानगरपालिकाले प्रत्येक महिनाको अन्तिम २ दिन रात्री बजार आयोजना गर्दै आएको थियो । तर पछिल्लो समय विभिन्न आन्तरिक कारण देखाउदै बन्द भएको रात्री बजार नयाँ वर्षको उपलक्ष्यमा पुनः संचालनमा ल्याएको छ ।
रात्री बजारले वीरगञ्जबासीलाई मनोरञ्जनका लागी अन्य स्थानहरु जानु भन्दा वीरगञ्जमै रहेर रमाईलो गर्ने वातावरण सृजना गरेको स्थानीयको भनाई छ ।
रात्रीबजार मनोरञ्जनका साथै साना व्यापारी तथा स्वदेशी उत्पादनहरुको बजारीकरणका लागी पनि उचित माध्यम बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन् ।
रात्री बजारमा बालबालिकाका लागी विभिन्न खेल सामग्री तथा मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । यस्तै हस्तकला, घरेलु उत्पादन, घरायसी समानहरु, फुट मसाज, सेल्फी खिच्ने ठाउँ, कपडा तथा स्वदेशी उत्पादनको प्रचारप्रसार र विक्री वितरण लागी भन्दै १ सय स्टलहरु रहेको ग्रिन सिटी सामुदायीक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।
वीरगञ्ज साईक्लिङग क्लब, फोरजिआर, एनवाईईएफ, ग्रिनसिटी, रुंगटा वेल्फेयर सोसाईटीसहित विभिन्न संस्थाहरुको सहयोगमा रात्री बजार संचालन गर्दै आएको हो ।
अस्तव्यस्त रहेको आर्थिक अवस्थालाई रात्रीबजार जस्ता महोत्सवले स्वदेशी उत्पादनको प्रसारप्रसारमा सहयोग मात्र पु¥याउदैन नव उद्यमीहरुलाई आफ्नो क्षमता देखाउने थलो रुपमा पनि रात्री बजार विकसित हुँदै गएको छ । यसलाई विभिन्न कारण देखाउँदै रोक्नु भन्दा स्थानीय सरोकारवाला तथा व्यापारीहरुसँग हातेमालो गरेर फरक ढंगबाट सुरुवात गर्नु उचित हुन्छ ।