
वीरगञ्ज । वीरगञ्जमा हिन्दु धर्मावलम्बीहरुले आज हनुमान जयन्तिको अवसरमा निकालिएको शोभा यात्रामा ढुंगामुढा प्रहार भएपछि बीरगंजमा तनाव बढेको छ ।
हनुमान जयन्तीको अवसरमा हिन्दुहरुले निकालेको शोभा यात्रा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित ईदगाह पुगे लगतै ढुंगामुढा भएपछि दुई समुहबिच उत्पन्न विवाद झपडमा परिणत हुन पुग्यो । झडप लगतै छपकैया चोकमा पार्किंग गरी राखिएका करिब ५ वटा मोटरसाईकल तथा पसलहरुमा आगजनी भएको छ भने दुई समुहले एकअर्कामाथि ढुंगामुडा समेत प्रहार भएको बताइएको छ ।
झडपका कारण सुरक्षाकर्मीसहित ११ जना भन्दा बढी घाईते भएका छन् । उनीहरुको वीरगञ्जसिथत नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले तनावग्रस्त स्थितिलाई नियन्त्राणमा लिन ४ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । वीरगञ्ज महानगरपालिकाबाट ल्याइएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको छ ।
स्थिति थप तनावग्रस्त हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । शनिबार बेलुका साढे ६ बजेदेखि आइतबार दिउँसाे १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हाे ।
घटना कसरी भएको र विवाद कसले सुरु गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । यस्तै उक्त क्षेत्रमा फेरी पनि झडपको सृजना हुन सक्ने भन्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्ररहीको भनाई छ ।
प्रत्येक वर्ष चैत्र शूल्क पुर्णिमाका दिनमा मनाइने हनुमान जयन्तीको अवसरमा आज वीरगञ्जका हिन्दु समुदायले वृहत शोभा यात्रा निकालिनुका साथै धार्मिक संगठनहरुको संयुक्त आयोजनामा साझँ महाआरतीको समेत आयोजना गरेको छ । आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने र सामाजिक एकताको उदेश्य सहित नगरका विभिन्न स्थानहरुबाट ठूलो संख्यामा भक्तजनहरु जम्मा भई विशाल शोभा यात्रा निकालेको हो ।