
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।
उनले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे। उनले काँग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताए। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको बताए । उनले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको बताए ।
मन्त्री पौडेलले, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको हो । आज काँग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन । काँग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालीरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरु प्रश्तुत गर्नसक्छौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’
उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए । प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रश्ताव गरे । पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए ।
संघीय मन्त्रीमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने बताए । प्रदेशको मन्त्रीमण्डल तीन सदस्यीय बनाउनुपर्ने बताए । राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने बताए। मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गरेका छन् ।