News 24 Television
आदिवासी युवा संगठन र यसको भूमिका

नेपाल युवा बाहुल्य भएको देश हो । अफसोस  नेपाल युवाहरूको देश भने अझै हुन सकेको छैन। ठूलो सङ्ख्यामा युवाहरु हुनुको फाइदा देशले लिन सकेको छैन । नेपाली युवाहरुले देशमा आफ्नो क्षमता अनुसारको अवसर त पाएका छैनन् नै, आफ्नो क्षमता विकास गर्ने अवसर पनि पाएका छैनन्। बरु, युवाहरु दैनिक हजारौं सङ्ख्यामा नेपाली भूमि छोडिरहेको समाचारहरु हाम्रो लागि सामान्य जस्तो लाग्न थालिसकेको  छ ।

युवाहरु देशमा बस्नु अझ गाउँघरमा बस्नु असामान्य हुँदै गएको छ। यस्तो लाग्छ युवाहरु भनेको देशमा बस्ने समूह नै हैन। उनिहरु भनेको युवाकालमा पर्देशिनुनै पर्छ। नेपालीहरु पुस्तौ देखि पर्देशिनु एउटा नियती जस्तै बनेको छ। त्यसमा पनि युवाहरुनै अग्रपंक्तिमा आउछन् । देशमा युवाहरु बस्नु भनेको काम नलाग्ने, बरालिनेहरु हुन भन्ने जस्तो भाष्य बनेको छ अहिले ।आम युवाहरु पनि देशमा आफ्नो भविस्य देखिरहेका छैनन् । युवाहरूमा निराशा व्याप्त छ। यो देशको लागि सुखद संकेत होइन।  मलाई लाग्छ नेपाली समाजमा युवाहरुको कानले सबैभन्दा धेरै सुन्ने भनेकै कहिले बिहे गर्छस् रु न विदेश नगएको ? भन्ने वाक्यांशहरु होलान् । युवाहरु प्रती बनेको माथिका भाष्य र वाक्यांशहरुले हाम्रो नेपाली समाज युवामैत्री छैन। हाम्रो देश युवा मैत्री छैन भन्ने पुष्टि गर्छ । युवामैत्री व्यवस्था छैन, युवा मैत्री नीति छैन।

तर, यो विचारधारा कहाँबाट आउँछ रु यस्ता विचारधाराको निर्माण भनेको हाम्रो राज्यसत्ताले नै गरिरहेको छ। राज्यसत्ताको नेतृत्व गर्ने वृद्ध नेताहरु र पुरातन सोचहरु नै यस्ता विचारधाराको उपज हो। अधिकांश नेपाली युवाहरुको जिवनचक्र नागरिकता देखि पासपोर्ट र वैदेशिक यात्रा सम्म मात्रै चलिरहेको छ। यो चक्र पुस्तौ देखि जारी छ। अधिकाङ्श नेपाली युवाहरुको उर्जाशिल र उर्वर उमेर देश बाहिर नै सकिन्छ। यस्तै किसिमले हाम्रो देश नै वृद्धाश्रम जस्तो बन्ने अवस्था आउदैन भन्न सकिदैन ।

नेपाली युवाहरुको कुरा गर्दैगर्दा नेपालका आदिवासी युवाहरूको अवस्था आम नेपाली युवाहरुको भन्दा तात्विक हिसाबले फरक छैन । झनै गम्भीर छ र सोचनीय अवस्थामा छ। देशमै पहिचानको सङ्कटमा परेका आदिवासी युवाहरु देश बाहिर पहिचानविहीनताको अवस्थामा छन्। आम नेपाली युवा र आदिवासी युवा हुनुमा यहा धेरै फरक छ।

एकसाथ विभेदको चपेटामा बसेर अधिकारको निम्ति संघर्ष गर्नुपर्ने युवाहरु, अस्तित्व संकटको सामना गरिरहेको युवा, जिवन दैनिकीसँग लडिरहेको युवा, आफ्नो मौलिक ज्ञान, भाषा, सस्कार संस्कृती, भूमी, बोकेर बाचिरहेको युवा भन्नु नै आदिवासी युवा हो। विश्व भूमण्डलीकरणले आज समग्र आदिवासीहरुको पहिचान संकटमा परिरहेको बेला युवाहरु यसबाट अछुतो रहन सक्दैनन् । नेपालका गाउँसमाजहरु युवाविहिन हुँदै गएको छ।युवा भनेको उमेर समूह मात्रै पनि हैन, युवा उमेरसँगै युवा विचार हो। युवा जोस जागर, उर्जा र उत्साहमा हुन्छ। युवाहरु उत्पादनमा हुनुपर्छ,युवाहरु विचारको उत्पादनमा पनि अग्रसर हुनुपर्छ । युवाहरु दिशानिर्देश अनुसार बाटो हिड्ने बटुवा मात्रै पनि होइन भविष्यको  सहि दिशा पहिल्याउने बाटो खन्ने हुनुपर्छ ।

युवा संगठन र यसको भूमिकाः

अहिले आदिवासी युवा संगठन पनि महासंगठन युवाहरुको साझा मुद्दा बोक्दै र युवा सशक्तिकरणको लागि नेतृत्वदायी भूमिका खेल्दै आएको आदिवासी जनजाति युवा महासंघ, आफ्नो छैटौं केन्द्रिय महाधिवेशन गर्ने तर्खरमा छ। यो महाधिवेशनले नयाँ नेतृत्व निर्माण गर्ने मात्र नभएर आम आदिवासी तथा गैर आदिवासी युवाहरुको साझा समस्याहरुको हल गर्ने एजेन्डा समेत ल्याएर त्यसको कार्यन्वयन तर्फ नयाँ नेतृत्व अग्रसर हुनुपर्ने छ। 

महाधिवेशनलाई खाली औपचारिकतामा सीमित नराखी, यथार्थपरक र भविष्यमुखी एजेन्डाहरू अघि सार्न सकेमा प्रभावकारी बनाउन सकिन्छ। आदिवासी जनजाति युवा महासङ्घ आदिवासी युवाहरुलाई देशको समग्र प्रणालीको मुलधारमा ल्याउने एउटा मार्ग हो। यति मात्रै हैन आदिवासी युवा महासंघ आदिवासी युवाहरुको मूल संगठन पनि हो। आदिवासी युवाहरुलाई समग्र नेपाली  युवाहहरुको मुलधारको रुपमा स्थापित गर्न पनि जरुरी छ। आम नेपाली युवाहरु र देशकै नेतृत्व गर्ने गरि आदिवासी युवाहरुले आफुलाई विकास गर्नुपर्ने छ। देशकै करिब ४० प्रतिशत आदिवासी युवाहरुले देश र समाजको सहि ढंगले नेतृत्व गर्ने जिम्मेवारी बोध गर्न ढिला भैसकेको छ। यसमा आदिवासी जनजाती युवा महासंघले महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ। बरालिएका नेपाली युवाहरुलाई, भड्किएका नेपाली युवाहरुको मनलाई, उडिरहेको युवाहरुको सपनाहरुलाई नियन्त्रण गरेर मात्र देशको हित हुन्छ।

निराशाले व्याप्त युवाहरूमा आशा र भरोसाको बिज नछरी युवा समूहबाट समाज र समुदायले फाईदा लिन सक्दैन। युवाहरुको जोस, जागर, सीप, ज्ञान, उmर्जा, र उमेरको सहि सदुपयोग गरेर मात्र देश र समाजले लाभ लिन सक्छ। युवाहरुले राजनीतिक, प्रशासनिक लगायत राज्यको जुनसुकै क्षेत्रमा हस्तक्षेपकारी ढंगले नेतृत्व लिनुपर्छ अनि मात्र देशको समग्र विकासले गति लिने छ।

वृद्ध नेताहरूलाई ससम्मान आराम दिने गरि युवाहरु नेतृत्वमा आउन अपरिहार्य भैसकेको छ। यसको लागि आदिवासी युवा महासंघ जस्तो सस्थाहरुलले महत्वपूर्ण भुमिका निवाह गर्नुपर्ने छ। विशेषतः आदिवासी युवाहरूको शसक्तिकरणमा अझै जोड दिनुपर्दछ ।आदिवासी युवाहरूको शसक्तिकरण भनेको केवल उनिहरुको भाषिक, सांस्कृतिक अधिकार सुनिश्चितताको लागि तयार गर्नु मात्र हैन, आफ्नो पहिचान जोगाउदै समग्र अवसरहरु ग्रहण गर्न सक्षम बनाउनु हो। शसक्त आदिवासी युवा भनेको, समृद्ध नेपालको मेरुदण्ड पनि हो। 

आदिवासी युवा र गैरआदिवासी युवाः 

आदिवासी युवाहरु भनेको आफ्नै भाषा, संस्कृति, परम्परा, लोककला, भेषभूषा र रीतिथिति भएको समूह हो। उनिहरु स्वभावैले सामुदायिक जीवनशैली, सामूहिक सहकार्यमा बढी केन्द्रित हुन्छन्। आदिवासीहरु ग्रामीण तथा दुर्गम भेगमा बसोबास गर्ने भएकाले आदिवासी युवाहरुको शिक्षामा पहुँच कम छ। योसँगै भाषा अवरोधका कारण शिक्षा र सरकारी सेवामा उनिहरुले चुनौतीको सामना गरिरहेका छन्।

आदिवासी युवाहरूसँग भएको सीपले उचित स्थान पाएको छैन र औपचारिक शिक्षा प्रणालीमा उनिहरुको प्रतिनिधित्व कमजोर छ। अर्को तिर आदिवासीहरु भूमिहीनता र गरिबीका समस्या सङ्ग अझै जुधिरहेका छन्, कयौ आदिवासी समुदायहरु सुकुम्बासी बन्नुपरेको छ।

यसो भन्दै गर्दा आदिवासी युवाहरु आफ्नो अधिकारका लागि आफै आन्दोलन र वकालत गर्नुपर्ने अवस्थामा छन । उनीहरुको आवाज अझै सशक्त बनिसकेको छैन। आदिवासी युवाहरूको काँधमा दोहोरो जिम्मेवारी छ उनिहरुले एकसाथ संस्कृति र समुदाय जोगाउँदै आधुनिकतामा फड्को मार्नुपर्ने छ। आफुलाई मुलधारमा स्थापित गर्न अझै धेरै संघर्ष जारी राख्नुपर्ने छ। अर्को तर्फ गैर आदिवासी युवाहरु विशेषगरी सत्ताधारी समुदायका युवाहरु राष्ट्रिय राजनीति र सस्कृतिमा शसक्त उपस्थिति जनाउछन । त्योसँगै स्वतः उनीहरुले अवसर र लाभ पनि तुलनात्मक ढंगले बढी पाउछन् ।

राज्यशक्ति र नीतिनिर्माण तहमा पनि उनीहरुको पहुँच सहज  छ। देशकै युवाहरुमा यस्तो असमान परिस्थितिले अवश्य पनि शुभ सङ्केत गर्दैन। पहिचानको विविधतालाई स्वीकार गर्दै उनिहरुबिचको असमानताको खाडल पुर्नु पनि अहिलेको आवश्यकता हो। तब मात्र समग्र युवाहरुलाई राष्ट्रनिर्माणमा एकताबद्ध गर्न सकिन्छ। सम्पूर्ण युवाहरुको सहकार्य, समावेशिता, र समान अवसरको सुनिश्चित गर्न सकियो भने राष्ट्र निर्माणमा ठूलो योगदान पुग्छ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update