News 24 Television
प्रहरी संयन्त्रलाई नै झुक्याएका प्रसाईँ, अन्ततः दुई सातापछि नियन्त्रणमा 

काठमाडौं । तीनकुने घटनामा पत्रकारसहित दुई जनाको ज्यान गएपछि प्रहरीको घेरा तोडेर फरार भएका दुर्गा प्रसाईँ पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै प्रसाईँलाई काठमाडौं ल्याइएको छ ।

 गत चैत १५ गते काठमाडौको तीनकुनेमा उनकै नेतृत्वमा राजावादीहरुले प्रदर्शन गरेका थिए । तर त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तनाव हुनुका साथै विभिन्न घरममा आगजनी, तोडफोड र मानविय क्षतिसमेत गयो । यसपछि प्रसाईँ फरार भएका थिए । फरार भएको दुई सातापछि उनी पक्राउ परेका हुन् । 

प्रसाईँको चतु¥याइँ !

घटना लगत्तै दुर्गा प्रसाइँ आफ्नै गाडी हाँकेर भागेका थिए । उनले प्रदर्शन स्थालमा अप्रिय घटना भएपछि प्रहरीको घेरालाई नै तोड्दै आफ्नो गाडी हाँके । त्यसपछि उनी कता गए भन्ने पत्तो प्रहरीलेसमेत पाउन सकेन । केही समय तीनकुनेकै एक सटरमा लुकेका प्रसाईँको अन्तिम लोकेशन ललितपुरको एक निवास देखिएपनि उनी प्रहरीलाई छलेर भाग्न सफल भए । फरारपछि पनि उनले प्रहरीलाई छल्न विभिन्न भिडियो सन्देश पठाइरहे । 

उनले पहिलो पटक भिडियो सन्देश जारी गर्दै आफुलाई प्रहरी र सरकारले नै ज्यानै मार्नेगरी तार्गेटमा राखेकोले आफू सुरक्षित आश्रयको खोजीमा लागेको भनेका थिए । आफू प्रहरीबाट नभाग्ने र नडराउने भन्दै उनले काठमाडौंकै एक मन्दिरमा लुकेर बसेको भनेर ढाट्ने कोसिस गरेको देखिन्थ्यो । 

निरन्तर खोजी गरिरहेपनि दुई सातासम्म उनी प्रहरीलाई छल्न सफल भए । पक्राउ पर्नुभन्दा दुई दिन अघि पनि उनले अर्को भिडियो सन्देश जारी गर्दै आफू नेपालमै रहेको जिकिर गरिरहेका थिए । तर उनले आफ्नो ज्यानको खतरा रहेको भन्दै जीवन ग्यारेन्टी भएमा प्रहरीमा गिरफ्तारी दिने भनेका थिए । तर पनि उनले आफू नेपालमै रहेको भन्दै पुनः ढाँट्ने कोशिसलाई भने जारी नै राखेका थिए । यद्यपि प्रहरीको अनुसन्धानले उनको छल्ने कोशिसलाई भने परास्त पारेको छ ।  

प्रसाइँको अर्को चलाखी ! 

प्रहरीले दुर्गाको खोजी गरिरहँदा नेपाललाई मात्रै नभएर भारतलाई पनि केन्द्रमा राखेर खोजी गरिरहेको थियो । बिहीबार प्रहरीको अनुसन्धान दुर्गा प्रसाईँ नजिक पुगिसकेको थियो । यही क्रममा उनले आसाम प्रहरीमा आत्मसमर्पण गरे । प्रहरीले नियन्त्रण गर्नु अघि नै आत्मसमर्पण गरेको भन्ने सन्देश दिनलाई दुर्गाले यस्तो रणनीति रचेको देखिन्छ । पक्राउ अघिको भिडियोमै सुरक्षा ग्यारेन्टी भए आफू प्रहरीमा हाजिर हुने भनेका थिए । 

यही अभिव्यक्तिलाई पूरा गर्नलाई पनि उनले नियन्त्रणमा पर्नुअघि नै आत्मसमर्पण गरेको आँकलन गर्न सकिन्छ । राजा ल्याउने आन्दोलनको नेतृत्व गरेका प्रसाईँले तीनकुने घटनामा प्रहरी र सरकारकै ज्यादती भएको रुपमा व्याख्या गरिरहेका छन् । तर सो प्रदर्शनमा दुई जनाको ज्यान र अरबौँको भौतिक संरचनामा क्षति भएको छ । उक्त प्रदर्शनको नेतृत्व दुर्गाले नै गरेकाले उनीविरुद्ध अब कस्ता मुद्धा आकर्षित हुन्छन् ? र, उनीमाथि कस्तो कारवाही होला ? यो भने हेर्न बाँकी छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update