
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका व्यवसायी दुर्गा प्रसाईं अन्ततः नाटकीय शैलीमा प्रहरी नियन्त्रणमा आए । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको भनिएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्व गर्दै उनले गरेको प्रदर्शनले राजधानीको मुटुमा अशान्ति मच्चाएर उनी एकाएक गायब भएका थिए ।
भारतको विभिन्न राज्य हुँदै झापा फर्किएका प्रसाईंलाई प्रहरीले विशेष सुरक्षा साथ काठमाडौं ल्याइ हिरासतमा राखिसकेको छ । अब आगामी परिदृष्य कस्ता देखिएलान् त ?
राजतन्त्रको पक्षमा खुलेर आन्दोलनको अगुवाइ गरेका दुर्गा प्रसाईं दुई हप्तासम्म भूमिगत रहँदा उनको खोजी तीव्र थियो ।
अन्ततः प्रहरीले उनलाई समातेपछि राजधानीमा एकपटक फेरि राजनीतिक तापक्रम चर्किएको छ । तीनकुनेमा गरेको प्रदर्शनपछि उनीमाथि लागेको आरोप र अबको सम्भावित राजनीतिक मोडले सबैको ध्यान तानेको छ ।
प्रसाईंको गिरफ्तारीसँगै राजावादी आन्दोलनमा गहिरो तरंग उत्पन्न छ । उनको नियन्त्रणलाई एक व्यक्तिको गिरफ्तारी नभई, गहिरो रणनीतिक अभियानको सुरुवातको रूपमा हेरिएको छ । सरकारले यसै बहानामा राजावादी लहरको मूल शिरा नै नाघ्ने संकेत देखिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह जो चैत्र १५ यता मौनता साँधिरहेका छन्, अहिले उनी झनै दबावमा देखिएका छन् । प्रसाईंको गिरफ्तारीले उनलाई मात्रै होइन राजसंस्थाको पुनस्र्थापनाको सपना देखिरहेका समर्थकहरूलाई समेत मानसिक धक्का दिएको छ । श्रीपेच मोहले चलायमान बनाएको यो आन्दोलन अब सत्ताको चक्रव्यूहमा फँस्ने खतरा झनै बढेको छ ।
राजावादी खेमामा त्रासको माहोल छ । सरकार र गणतन्त्र समर्थकहरूले भने राहतको सास फेरेका छन् । सरकारलाई भने यो अवसर रणनीतिक जितका रूपमा देखिएको छ । एक पत्थर, दुई शिकारको शैलीमा दुर्गा प्रसाईंको गिरफ्तारीले पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक भविष्यसमेत जोखिममा पारेको छ ।
प्रसाईं विशेष सुरक्षाका साथ काठमाडौं भित्र्याइए
करिब दुई साता भारतमा बिताएका प्रसाईं शुक्रबार भने पहेलो र कालो धर्के टिशर्ट, पहेलैं टोपी, कालो चस्मा अनि हातमा हत्कडीमा देखिए । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर विशेष सुरक्षा व्यवस्थामार्फत काठमाडौं ल्याएको हो ।
प्रसाईंलाई बुद्ध एयरको नियमित उडानमार्फत राजधानी ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी उनलाई लिनका लागि तयारी अवस्थामा थिए । तर, सञ्चारकर्मीहरूको नजरबाट टाढा राख्दै प्रहरीले डीएसपी तहको गाडीमार्फत वैकल्पिक मार्ग हुँदै प्रसाईंलाई विमानस्थलबाट बाहिर निकालेको थियो । सुरक्षाका दृष्टिले गरिएको यो मूभले चलचित्रको सस्पेन्स थ्रिलरको झल्को दिएको टिप्पणी गरिएको छ ।
यसबीच प्रसाईंका समर्थकहरूले उनलाई अपहरण शैलीमा नियन्त्रणमा लिइएको भन्दै कडा असन्तुष्टि जनाएका छन् ।
दुर्गा प्रसाईं १२ दिनका लागि हिरासतमा
पक्राउपछिको पहिलो कानुनी कारबाहीस्वरूप जिल्ला अदालत काठमाडौंले उनलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले माग गरेको अनुसन्धानका लागि १२ दिनको म्यादलाई अदालतले मिलान गरेको हो ।
प्रसाईंमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान हुनेछ । चैत १५ गतेको प्रदर्शनका क्रममा प्रसाईंले आफैंले हाँकेको गाडी भिडतिर दौडाएका थिए जसले प्रहरीलाई समेत जोखिममा पारेको थियो ।
राजावादी नारासहित गरिएको सो प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको दाबी समेत प्रसाईंले गरेका थिए । अहिले उनी पक्राउमा परेसँगै प्रदर्शन पछाडिको योजनाबारे थप खुलासा हुने अपेक्षा गरिएको छ ।
प्रसाईंको बयान निर्णायक बन्ने संकेत
पूर्वराजाको मनस्थिति त्रासदीले ग्रस्त छ । राजावादी पंक्तिमा असमझदारी र आरोप–प्रत्यारोपको तुफान चलिरहेको छ ।
प्रसाईंको पक्राउ कुनै क्षणिक झड्का होइन, यो त यस्तो बिजारोपण हो जसको जरा गहिरो र दूरसम्म फैलिनेवाला छ । पूरै राजावादी आन्दोलनको मौसमलाई दुर्गा प्रसाईंको एक्लो ‘स्टन्ट’ ले नै कर्कस बनाइदिने छ ।
जुन अभियान शाही सत्ता पुनःस्थापनाको सपना बोकेर चलेको थियो त्यही अभियान दिशाहीन, नेतृत्वविहीन र द्वन्द्वग्रस्त देखिन थालिसकेको छ । यता, प्रसाईंबाट प्राप्त बयानले राजावादी र गणतान्त्रिक दुवै पक्षमा तरंग ल्याउने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ ।
प्रसाईंले कुन–कुन व्यक्तिलाई घटनामा जोड्नेछन् भन्ने विषय चासोको विषय बनेको छ । उनको बयानका आधारमा आगामी राजनीतिक मोर्चाबन्दीसमेत तय हुन सक्ने आँकलन गरिएको छ ।
यसबीच, पूर्वराजा ज्ञानेन्द्र र गणतान्त्रिक शक्तिबीचको संघर्षमा प्रसाईंको भूमिका निर्णायक बन्ने देखिएको छ । सत्ता र शक्तिको यो दोहोरीमा उनको बयानले खेलको दिशा मोड्न सक्ने सम्भावना उच्च छ ।