
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली प्रधानमन्त्री बनेको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएका छन् ।
संविधानको धारा ७२ को उपधारा २ बमोजिम प्रचण्ड सरकारको नेतृत्वमा पुगेकाले उनले विश्वासको मत लिदा देखिएको दृश्यअनुसार प्रधानमन्त्री नियुक्ति उपधारा ३ बमोजिम हुनुपर्ने हो । तर, यस्तो भएन् ।
यस्तो स्थितिमा प्रचण्डले खुलेरै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गर्न थालेका छन् । प्रचण्डले यो बहसलाई अहिले पुनः चर्काउनुले के संकेत गर्छ त ?
कांग्रेस एमाले मिलेर सरकार निर्माण गर्ने भनिसकेपछि तत्कालीन समयमा प्रचण्डले मार्गप्रशस्त गर्नुपर्ने वा संसद फेस गर्ने दुई विकल्पमध्ये विश्वासको मत लिने बाटो रोजेका थिए । प्रचण्डले विश्वासको मत लिनुको उद्देश्य थियो, केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ कै उपधारा ३ आकर्षित हुने स्वभाविक पनि थियो । तर, यस्तो भएन् ।
उपधारा २ बमोजिम प्रधानमन्त्री बनेको व्यक्तिले विश्वासको मत पाउन नसकेमा उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था हो । तर, कांग्रेस एमालेले दबाब बढाएरै उपधारा २ बमोजिम मिलिजुली सरकार बनाउने बाटो रोजे ।
राष्ट्रपतिले यसअनुसार नै सरकार गठनको आह्वान गरे । ओली प्रधानमन्त्री बनेदेखि चर्को आलोचना र प्रश्न गरिरहेका प्रचण्डले पछिल्लो समय भने खुलेरै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने बताइरहेका छन् । प्रचण्ड किन यसरी लागिरहेका छन् ?
के ओलीले बालुवाटारमा संगै स्वर्ग नर्क जाने विषयलाई लिएर दिएको आश्वासन हो ? पुराना तुषले अहिले पनि पोलिरहेको हो ? प्रश्नहरु अनेक छन् । तर, वामपन्थी सरकार नै हुँदा अर्को वामपन्थी दलले गरिरहेको विरोधलाई भने प्रश्नका साथ हेरिएको छ ।
प्रचण्डको नजर
प्रचण्डले पटक–पटक कांग्रेस एमालेको सरकारलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेका छन् । यस्तोमा प्रचण्डले दिने विकल्पको रुपमा देखिएका पात्र हुन्, शेरबहादुर देउवा ।
देउवा प्रचण्डको रोजाईमा किन परिरहेका छन् ? प्रचण्ड आफैले गर्ने गरेका दाबी र देउवा चाहनुमा राजनीतिक स्वार्थ के ? प्रश्नहरु तमाम छन् । तर, राजनीतिक दाउपेचकाबीच प्रचण्डले देउवा चाहेको सार्वजनिक अभिव्यक्ति दिनुमा भने ओलीसँगको इगो नै प्रमुख कारण देखिन्छ ।
प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि अन्य भ्रष्टाचारका मुद्दाहरु अनुसन्धान गर्दै जाँदा अनुसन्धानको सुई बालकोट र बुढानिलकण्ठ सोझिएको आरोप लगाइरहेका देखिन्छन् ।
यस्तोमा देउवा किन प्रधानमन्त्री बन्न योग्य ? गम्भीर आरोप पनि लगाउने अनि प्रधानमन्त्रीको जिम्मेवारि पनि सम्हाल्नुपर्छ भन्ने विषय कति सहि ? प्रश्नहरु सतहमा छरपष्ट देखिन्छन् ।
उसोतः प्रचण्डले आफू ०८४ सम्म प्रधानमन्त्रीको रेसमा नरहेको भनिरहेका छन भने कांग्रेसले चाहेमा सरकारमा जान पनि सकिने वा नजान पनि सकिने भनिरहेका छन् ।
ओलीसँगको इगो
केपी ओलीले नै प्रचण्डलाई देउवाले प्रधानमन्त्री स्वीकार नगर्दा अघि सारे । राजनीतिक रुपमा ओलीले त्यो बेला देउवालाई चक्मा दिदै प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि कांग्रेसमा अनेक प्रश्नहरु उठे ।
त्यसपछि प्रचण्डले निरन्तर दाउपेचको राजनीति गर्न थाले । म्याजिक नम्बर भन्दै सत्तामा रहिरहने प्रपञ्च रचि नै रहे । प्रचण्डले सत्तामा रहि रहन कांग्रेस एमालेलाई प्रयोग गरिरहन्छन भन्ने भाष्य नै निर्माण हुने खतरा समेत सिर्जना हुन पुग्यो । तर, उनी नेतृत्वको सरकारले गरिरहेको कारबाहीमा भने जनताले आनन्द मानिरहेको देखिन्थ्यो ।
यस्तो स्थितिमा फेरि ओलीले कांग्रेससँग मिलेर सत्ताको नेतृत्व हातमा लिएपछि प्रचण्डमा इगो बढेको देखिन्छ । एमालेसँग जाँदा एकतासम्मको सपना देखेका प्रचण्डले धोका पाएको ठानेपछि ओलीलाई सत्ताबाट बाहिर ल्याएर रिस फेर्न खोजेका छन् । यसकारण पनि उनले देउवालाई प्रधानमन्त्री बन्नलाई सघाउने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
सरकार र अलोकप्रियता
सरकार निर्माणपछि प्रधानमन्त्री ओलीको कार्यकाल सफल हुन सकेन् । ओलीले सत्ता सम्हालेदेखि नै सडकमा विभिन्न आन्दोलनदेखि गणतन्त्रमाथिका प्रश्न नै जब्बर बनिरहेका छन् ।
सरकार एकपछि अर्को गर्दै आफ्ना मान्छे पोस्नमा उद्दत भएको आरोप लागिरहेको छ भने निजी क्षेत्रसँगको अस्वभाविक साँठगाँठले पनि सरकारमाथिको विश्वास गुम्न पुगेको छ ।
त्रिविमा प्रधानमन्त्रीको हस्तक्षेपपछि उपकुलपतिको राजीनामा होस वा सहकारी ठगी प्रकरणमा सरकारले आफ्ना जोगाउन गरिरहेको प्रयत्न नै किन नहोस, प्रश्नहरु देखिने गरि उठेका छन् ।
सडकमा समेत विभिन्न माग राख्दै आन्दोलन चलिरहेको छ भने कांग्रेसभित्रैबाट सरकारको गतिमा प्रश्न उठाइएका छन् ।
यस्तो स्थितिमा प्रचण्डले देउवा कार्ड फाल्दै कांग्रेसभित्रको उकुसमुकुसलाई भने थप जोखिममा पु¥याइदिएका छन् । यद्यपी देउवा प्रधानमन्त्री बन्ने बाटो रोज्लान वा एमालेलाई नै समर्थन गरिरहलान भन्ने प्रश्न भने अनुत्तरित नै देखिन्छ ।