News 24 Television
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह 

काठमाडौं । राजनीतिक अस्थिरताको कारण मार खेपिरहेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको विश्वास दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित क्याविनेटका महत्वपूर्ण मन्त्रालयका  मन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका छन् ।

निजी क्षेत्रलाई निराशावाट माथि उठ्न र ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीले सरकार र आफनो क्याविनेट तयार रहेको भन्दै उद्यमी ब्यवसायीहरुसमक्ष प्रतिवद्धता पनि जनाएका छन् । 

विहिवार नेपाल उद्योग वाणिज्य महासंघको ५९ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई निराश नहुन र विश्वासको साथ अर्थतन्त्रमा जुट्न आग्रह गरेका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र राजनीतिक अस्थिरता र विश्वासको संकटमा रहेको र युवाहरुमा निराशा बढेको अवस्थामा सरकारले अर्थतन्त्रमा विश्वासको वातावरण निर्माण गर्न जोडदार माग गरेका छन् । 

सरकारले अहिलेको निराशालाई तत्काल हटाउन सकेन भने स्वदेशी तथा विदेशी लगानी दुवै घट्न सक्ने हुदाँ अर्थतन्त्रमा आशा र विश्वास जगाउन सरकार लागि पर्नु पर्ने ढकालको भनाइ छ । अर्थतन्त्रमा निराशा र विश्वासको संकट बढेको गुनासो बढेको अवस्थामा सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न तयार रहेको विश्वास प्रधानमन्त्रीले पटकपटक दिलाउने प्रयास गरे । गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह मण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र मुख्य सचिव एकनारायण अर्याल लगायतको टिम सहित कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले सरकारको साथ उद्यमी व्यवसायीमाथि रहेको देखाउनकै लागि मन्त्रीहरुसहित उपस्थित भएको बताए ।  

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रको मनोभावना र अवस्थालाई बुझेर सरकार मुलुकमा राजनीतिक स्थिरता दिन गठन भएको स्पष्ट पारिन् । मन्त्री राणाले कर्मचारीतन्त्रलाई सहयोगी भएर काम गर्न पििन आग्रह गरिन् । कर्मचारीतन्त्रले कुनै पनि अवरोध सिर्जना नगरी आर्थिक विकास र लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध भएको उनले बताइन ।  

उद्यमी ब्यवसायीले निराशा ब्यक्त गरिरहेको अवस्थामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर प्रसाद भण्डारीले उद्योग मैत्री निती र कानून संसोधन तथा परिमार्जन गरी लगानीको लागि निजी क्षेत्रलाई विश्वास्त हुन आग्रह गरे । 

पछिल्लो पटक गठबन्धन सरकार राजनीतिक अस्थिरता र नीति निर्णयहरुका  कारण आलोचित भइरहेको वेला निजी क्षेत्रका उद्यमी ब्यवसायीलाई सरकारले विश्वासमा लिन वोली र भाषणमा भन्दा पनि ब्यवहारमा उनीहरुलाई विश्वासमा लिएर अर्थतन्त्र चलायमान बनाउन सक्नु पर्छ । 

युवामा बढेको निराशा र अर्थतन्त्रमा रहेको शिथिलतालाई सरकारले वेलैमा बुझ्न सकेन भने झन मुलुक गम्भीर आर्थिक संकटमा फस्न सक्ने भन्दै उद्यमी ब्यवसायीले प्रधानमन्त्री तथा मन्त्रीहरु समक्ष यसलाई गम्भिररुपमा लिन आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update