News 24 Television
ओलीप्रति गगनको कटाक्षः बिड तात्यो, ताप्के  तातेन  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको लागि नै सरकार बनेको र त्यहि दिशामा सरकारले काम गरिरहेको राग अलापिरहेका हुन्छन् । देशमा भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रवाहको लागि सरकारले काम गरिरहेको प्रधानमन्त्रीले दाबी गरिरहे पनि सत्तारुढ प्रमुख घटक कांग्रेस नै सरकारको कामप्रति सन्तुष्ट हुन सकिरहेको छैन । 

मुलुकमा पछिल्लो समय नागरिक असन्तुष्टि चरम उत्कर्षमा छ । भ्रष्टाचार, बेरोजगारी, महंगीले नागरिक वाक्क दिक्क छन् । यो असन्तुष्टि सामाजिक सञ्जालदेखि सडकसम्म नै पोखिन थालेको छ । शिक्षक, चिकित्सक, मिटरब्याजपीडित, सुकुम्बासी हर क्षेत्रका नागरिक सडक आन्दोलनमा छन् । तर पनि सरकार नागरिक असन्तुष्टिलाई सम्बोधन गर्र्ने गरी जिम्मेवार बन्न सकिरहेको छैन । नागरिक असन्तुष्टि मात्र होइन, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नै सरकारको काम कारबाहीप्रति बेखुश देखिन्छ । 

विगतमा साना राजनीतिक दलहरुको सत्ता गठबन्धनले सरकारको स्थायित्व नभएकाले नै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन भएको नेताहरुले बताउने गरेका छन् । तर पनि दुई ठूला दल मिलेर पनि सरकारले त्यो गतिमा काम गर्न सकेको छैन । 

सरकारलाई सहयोग गर्नकै लागि भन्दै सत्तारुढ २ दल कांग्रेस र एमालेले संयन्त्रसमेत बनाएका छन् । सरकारलाई सहयोग गर्न बनेको संयन्त्रकै सदस्य सरकारको कामको गति देखेर दिक्क छन् । त्यसैले बिड तातेर केही हुने रहेनछ, ताप्के तात्नुपर्ने रहेछ भन्छन्, सरकारको संयन्त्रको सदस्य एवम् कांग्रेस महामन्त्री गगन थापा । 

सत्ता साझेदार प्रमुख दल कांग्रेस नेताहरुले नै सरकारको काम कारबाहीप्रति असन्तुष्ट जनाए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो सरकारले अनपेक्षिक काम गरिरहेको दाबी गर्न छाड्दैनन् । 

विहीबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको उद्घाटन गर्न पुग्दा पनि प्रधानमन्त्री ओली उहि समृद्धि, सुशासन, भ्रष्टाचार अन्त्य र सेवा प्रवाहको भाषणबाजी नै गरे । आफ्नो नेतृत्वको सरकारले अस्थिरता अन्त्य गर्ने रटान लगाइरहे । 

यति मात्र होइन, अझ प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिको चर्चासमेत गर्न भ्याए । निजी क्षेत्रको प्रशंसा गर्दै उनले निजी क्षेत्रका प्रयासहरु पनि राष्ट्रिय हुने भन्दै निजी क्षेत्रका लागि संयोजन र प्रोटेक्सन सरकारले गर्ने प्रतिवद्धता समेत जनाए । 

सत्तासाझेदार प्रमुख दल नै सरकारको गतिप्रति असन्तुष्टि जनाइरहँदा प्रधानमन्त्री ओलीले सस्तो भाषणबाजी दिन छाडेका छैनन् । 

प्रधानमन्त्री, मन्त्रीहरुको यस्तै भाषणबाजीकै कारण नागरिकको असन्तुष्टि चुलिएको छ । यसरी नै नागरिकको असन्तुष्टिलाई सम्बोधन नगर्ने हो भने, सरकारविरुद्ध मात्र होइन, सिङ्गो ब्यवस्थाकै विरुद्ध सडकमा ओर्लिने दिन नआउनला भन्न सकिँदैन ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update