News 24 Television
उहिलेको उजाड डाँडा, अहिले जिल्लाकै सान 

दोलखा । दोलखाको सदरमुकाम चरिकोटबाटै देख्न सकिने उत्तरतर्फ रहेको खोरथली वन कुनै बेला उजाड डाँडा बनिसकेको थियो । तर अहिले खोरथली मनमोहक रमाइलो डाँडामा परिणत भएको छ । पर्यटनको दृष्टिकोणले पनि अत्यन्तै सम्भावनायुक्त यस वन क्षेत्रले करोडौंको आम्दानी पनि गर्न सफल भएको छ । 

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ र  ६ मा अवस्थित खोर थली वन ३६ साल भन्दा अगाडि नाङ्गो डाँडा रहेको थियो । 

तत्कालीन राजा बिरेन्द्र भ्रमणमा आउँदा सदरमुकाम नजीकको वन उजाड देखेपछी ५ बर्ष भित्रमा जङ्गल हरभरा हुनु पर्ने उर्दी जारी गरेका थिए । त्ययसपछि यस क्षेत्रमा वृक्षरोपण थालिएको स्थानिय बुढापाका बताउँछन् । 

डाँडामा स्थानीय बिरुवा रोप्दा असफल भएपछि स्विस सरकारको सहयोगमा पुनः पाटे र गोबरे जातका सल्लाको वृक्षारोपण गरिएको थियो । १ सय ७८ हेक्टरमा फैलिएको यस वनमा बिरुवा लगाउन नै ७ बर्ष लागेको स्थानीयको भनाइ छ । 

सरकारी तवरबाट मात्र वन संरक्षण हुने सम्भव नभएपछि तत्कालीन जिल्ला वन कार्यालय दोलखाले २०४७ साल असार २७ गते नारायण बहादुर थापाको अध्यक्षतामा वन संरक्षण समिति गठन गरकोे थियो । वन संरक्षणको क्रममा विभिन्न उतारचढाव आएपनि हाल सामुदायिक वन उपभोक्ता अन्र्तगत दीगो वन व्यवस्थापनले गर्दा खोरथली वन अहिलेको अवस्थासम्म आइपुगेको खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाको, भनाइ छ । 

सुरुवातमा खाता खोल्ने रकम पनि नभएको खोरथली वनले उपभोक्तालाई  काठ दाउरा बिक्रीवितरण गरेर बार्षिक करिब ९ लाख रुपैयाँसम्म  आम्दानी गर्ने गरेको छ । सामुदायिक वनकै कारण वनमा चोरी सिकारी, तस्करी, अवैध निकासी रोकिएर कुनैबेलाको उजाड डाँडा अहिले घना वनमा परिणत भएको छ । घना वन भएकोले खोरथली वनले बैज्ञानिक प्रबिधिबाट रुख ब्यवस्थापन गरेर पनि वनलाई आकर्षक वनाउनुको साथै यस बर्ष भित्रमा वनको आम्दानी १ करोड रुपैयासम्म पु¥याउने लक्ष्य लिएको छ । 

दीगो वन व्यस्थापन २०८९ को कार्यविधि आएसँगै वनमा बिरुवा उत्पादन, वृक्षारोपण र थिनिङ कार्य गर्दै वनलाई ब्यवस्थापन गर्न लागिएको छ ।

यस सामुदायिक वनमा पर्यापर्यटनको पनि प्रचुर सम्भावना रहेको छ । यसै सामुदायिक वन भित्र रहेको भ्यु टावर उचित व्यवस्थापनको अभावमा ओझेलमा रहेको छ । प्रकृतिलाई अलिकति पनि असर नपुर्याइ निर्माण गरिएको ढुंगाको सिढिको पैदलमार्गले वनक्षेत्रलाई मनमोहक बनाएको छ । राणाकालमा युद्ध गरिएको भनिएको गढि पनि यसै वन भित्र रहेको छ । 

खोरथली वन हुदै कालिन्चोक मन्दिर पनि जान सकिन्छ । यस सामुदायिक वनबाट देखिने सिम्पानीको दृश्यले त जो कोहिको पनि मन लोभ्याउने गर्दछ । वनले नै संचालन गरेको नर्सरीमा बिरुवा खरिद गर्नको लागि जिल्ला भित्र र जिल्ला बाहिरका मानिसहरुको आउने गरेका छन् ।

यस वन भित्र अग्नि नियन्त्रणका लागी १३ किलोमीटर अग्नि रेखा तथा वन पदमार्गहरु निर्माण भएका छन् । यस पदमार्गले वनको हरेक क्षेत्रमा पुग्न र उपभोक्तालाई पनि घाँस दाउरा गर्न सहज भएको छ । 

डिभिजन वन कार्यालयले सुरुवाती समयदेखि नै यस वनलाई निगरानी गरिरहेएको छ भने दीगो वन व्यवस्थापनको लागि तीन तहमा ब्यस्थापन गर्दै पहाडी क्षेत्रमा पनि यस किसिमको वन वनाउन सकिने र यो वन पहाडी क्षेत्रकै नमुना वन हुनसक्ने डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज  न्यौपाने बताउँछन् । 

डिभिजन वन कार्यालय र स्थानीयको सक्रियतामा नाङ्गो डाँडामा हरियाली छाएको छ । प्राकृतिक सुन्दरताले भरिभराउ चौडापाते वनको रुपमा विकसित हुँदै गइरहेको खोरथली सामुदायिक वनले हरियो वन नेपालको धन भन्ने भनाइलाई सार्थक बनाउँदै लगेको छ । 

अब यसलाई अझ परिष्कृत गर्दै दिर्घकालिन योजना बनाउन सके खोरथली सामुदायिक वन देशकै नमुना वन बन्ने निश्चित छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update