
कैलाली । अधिंकाश सुदूरपश्चिमेलीहरुको मौलिक पर्व विसु संक्रान्ति अर्थात विश्व संक्रान्ति नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाहरु समेत धमाधम घर फर्किरहेका छन् ।
सुदूरपश्चिमका हजारौं मानिसको रोजगारी प्राय भारत नै हुन्छ । भारत गएकाहरु समेत विसु पर्व मनाउन घर फर्किन थालेपछि यतिबेला सुदूरपश्चिम क्षेत्रका नाकाहरु व्यस्त देखिन थालेका छन् ।
सुदूरपश्चिमका अधिंकाश क्षेत्रमा र कर्णाली प्रदेशमा केही क्षेत्रमा नयाँ वर्षलाई विसु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ । विसु पर्व सुदूरपश्चिमको मौलिक चाड पनि हो । विसु पर्व नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रमा चहलपल बढेको छ ।
रोजगारी वा विभिन्न अरु कामले आफ्नो घरबाट टाढा रहेकाहरु पनि अहिले फर्किरहेका छन् । सुदूरपश्चिमका हजारौं मानिसहरु रोजगारीका लागि भारत जाने गरेका छन् । तर, अहिले उनीहरुलाई विसुपर्वको चटारो छ ।
पर्व मनाउन भन्दै स्वदेश फर्किरहेकाहरुले गर्दा भारतसँगका सीमानाकाहरु थप चलायमान रहेका छन् । कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट, दार्चुलाको दत्तु, खलंगा लगायतका नाकामा चहलपहल बढेको छ ।
सीमानाका मात्रै होइन विसु पर्वको तयारीमा गाउँघरमा समेत चटारो छ । घर लिपपोत गर्ने, मिठा मसिना खानाका परिकारहरु पकाउने कार्यमा जुटेका छन् महिलाहरु ।
विसु पर्व आउनु पहिले नै सुदूरपश्चिमका विशेषगरि पहाडी क्षेत्रमा घर रातो माटो र कमेरो माटोले रंगिन बनाउने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको छ ।
अघिल्लो .वर्ष नयाँ वर्षमा बिसु मनाएर मजदुरीका लागि भारत पसेकाहरु यतिबेला घर फर्किएका मध्ये धेरैजसो असारमा खेतीपातीको काम सकेर फेरि भारततिरै फर्कने गरेका छन् । गाउँघरमा रोजगारीको अवसर नहुँदा गुजारा चलाउन भारत पस्नु पर्ने बाध्यता छ । गाउँमा आम्दानीको स्रोत नभएपछि कतिपय त बालबच्चासहित कामको खोजीमा भारत जाने गरेका छन् ।
एक हप्तादेखि दैनिक कैलालीको नाकाबाट हजारौको संख्यामा भारतबाट नेपालीहरु घर फर्किरहेका छन् ।
विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ । विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायमा एकआपसमा सिस्नु लगाएर रमाईलो गर्ने प्रचलन समेत छ ।