
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने बताएका हुन् । शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहजरुपमा सेवा सुविधा दिएर सुशासन कायम गर्ने सवाललाई प्रामथिकतामा राख्न निर्देश गर्दै उनले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरु पनि सक्रिय भएकाले सुरक्षा प्रवन्ध र उचित स्रोत साधनको तयारी गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाल सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामाी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ भने त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुनेछ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरुसहितको छलफल बोलाएका हुन् ।
छलफलबारे जानकारी दिँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बजेटलाई रिफर्म गर्नेगरी आगामी आर्थिक वर्षको बजेट निर्माणमा लाग्न प्रधानमन्त्रीले निर्देशन दिए । लथालिङ्ग तरिकाले विगतमा गरिने प्राथमिकताहरुलाई सच्याएर रिफर्म गर्नेगरी छलफल भएको बताए । अनावश्यक खर्च कटौति गर्ने, परियोजना बैंकलाई अक्षरशः पालना गर्नेगरी अघि बढ्नेबारेमा छलफल भएको बताए ।
उनले भने, ‘जुन तरिकाले बजेटहरु बनिरहेका छन्, त्यसलाई रिफर्म गर्ने । रिफर्म कसरी गर्ने भन्दा प्रायोटाइजेसन जुन हिसावले लथालिङ्ग तरिकाले हुन्थ्यो, पहिला त्यसलाई करेक्शन गर्ने । परियोजना बैंकलाई अक्षरशः लागू गर्ने । तीन करोडको बजेटको त्यो शिलिङ कन्टिन्यु गर्ने । रेभिन्यु कसरी कलेक्शन गर्ने, कसरी बढाउने । अनावश्यक खर्च कटौति गर्ने ।’
अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व संकलन ५५ प्रतिशत, कुल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।