
काठमाडौं । राजसंस्था पुर्नस्थापनाको माग राख्दै तीनकुनेमा भड्किएको हिंसामा राज्य र आन्दोलनकारीबीचको जुहारी चलिरहेको छ । सरकारले आन्दोलनमा गरेको धरपकडपछिको स्थितिले राजावादी शक्तिहरु केहि रक्षात्मक बनेका छन् । तर, चैत्र १५ गतेको घटनापछि उनीहरुले अब विद्राहतहको चेतावनी दिनेसम्ममा पुगेका छन् ।
राजावादी शक्ति र समूहबीचको खासै एकता र सद्भाव देखिन्न । उनीहरुले राजावादी आन्दोलनमा ऐक्यबद्धता जनाउने त भन्छन्, तर परिणाममा सहमत हुन सक्दैनन् ।
उनीहरुले आन्दोलन, माहोल र त्यसको बाछिटासँगको हिसाब मिलान गर्न खोज्छन् । सायद यहि विषयका कारण दुर्गा प्रसाई अहिले राजावादी आन्दोलनबाटै भाग्नु परेको छ ।
दुर्गा प्रसाईले नै राजावादी आन्दोलनमा शिथिलता ल्याएको राजावादीहरुले नै भन्न थालेका छन् । यस किसिमको टिप्पणी गर्नेमा अग्रपंक्तिमा देखिन्छ, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी । राप्रपाले यस्तो भनेपनि राजावादी शक्तिहरुले भने अब राजसंस्था पुर्नस्थापना भएरै छाड्ने भनिरहेका छन् । राजावादी नेता केशरबहादुर विष्ट दुर्गा प्रसाईलाई सम्झिदै राजा बोल्ने नभई सांकेतिक हुने भनिरहेका छन् ।
विष्टले जस्तै राजावादी गतिविधिमा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समिति सेन्टिमेन्टदेखि एकताको पक्षमा जान सकिन्छ कि भन्ने ध्याउन्नमा देखिन्छ । राजावादी गतिविधिलाई जीवनको उत्तराद्र्धमा शान्तिपूर्ण पनि हुन सक्ने वा हिंसात्मक पनि हुन सक्ने भन्दै राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले आवश्यक परे विद्रोह हुनसक्ने भनिरहेका छन् ।
राजसंस्थाको स्थापनाका लागि आन्दोलन गर्नुपर्ने भन्दै विभिन्न शक्ति र समूह सक्रिय बनेको बेला कमल थापाले भने निर्वाचनबाटै राजसंस्था स्थापना गर्नुपर्ने अघोषित धारणा राखेका छन् । कमल थापाले संविधान संशोधन गर्दा व्यवस्था परिवर्तन गर्ने गरि अघि बढे देशमा आगो बल्ने भनेका छन् ।
थापाले संविधान संशोधन गर्न भन्दै कांग्रेस एमालेले निर्माण गरेको सत्ता गठबन्धन र त्यसपछिका स्थितिलाई केन्द्रित गरेको देखिन्छ । केहि नेताहरुले आण्दोलन र विद्रोहबाट राजा फर्किने भन्दै गर्दा कमल थापा भने जनमतबाटै अघि बढ्नुपर्ने धारणा राखेको देखिन्छ । तर, नवराज सुवेदीमाथि देखिएको संकटमोचन गर्नका लागि संयोजकको जिम्मेवारी पाएका जगमान गुरुङ भने राजसंस्था आएरै छाड्ने भनिरहेका छन् ।
तीनकुने घटनापछि रवीन्द्र मिश्र र धवलशमशेर जबरा प्रहरी हिरासतमा छन् । उनीहरुसँगै धेरै नेता कार्यकर्ता अनुसन्धानको घेरामा तानिएको बेला तीनकुने घटनाबाट पाठ सिक्नुपर्ने र सचेततापूर्वक अघि बढ्नुपर्ने दाबी गरेका कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्ने काममा असन्तुष्टी पोखे ।
थापाले यस्तो भन्दै गर्दा दुर्गा प्रसाईबारे केशरबहादुर विष्ट भने जथाभावी बोल्ने हुनाले माहोल बिग्रिने गरेकोतर्फ संकेत गर्छन् । प्रसाईले अभिव्यक्तिमा ध्यान दिन नसक्दा स्थिति बिग्रिने गरेको विष्टको बुझाई देखिन्छ ।
यसरी एउटै मञचमा उभिएका राजावादी नेताहरुले तीनकुने प्रकरणमा पक्राउ परेकालाई रिहाई नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् । उनीहरुले वैशाख २१ गतेसम्मको म्याद दिदै यस्तो अभिव्यक्ति दिएका छन् । जुन समयसम्म पक्राउ परेका नेताहरुको थुनछेक बहस नै सकिने वा अनुसन्धानका लागि कानूनले तोकेको समय नै सकिने स्थिति बन्नसक्छ । यसरी राजावादी नेताहरुले गरेको दाबी र लिएको जिकिरदेखि आन्दोलनसम्मका विषयमा चर्चा भने चलिरहेको छ।