
काठमाडौं । राजसंस्था पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र राप्रपाका नेताहरुले नवीन सम्झौताको अवधारणा अघि सारेको छ । उनीहरुले भन्ने गरेको नवीन सम्झौताको खाका कस्तो हो त्यो बाहिर आएको छैन, तर उनीहरुले दिदै आएका अभिव्यक्तिलाई आधार मान्ने हो भने उनीहरुको यो नवीन सम्झौतामा माओवादीदखि पूर्वराजासम्म अट्ने व्यवस्थालाई इंगित गरेको प्रष्ट हुन्छ ।
गणतन्त्र स्थापनाको करिब २ दशक बितिसक्दा पनि देशको अवस्थामा सुधार हुन नसकेको भन्दै राजाको विकल्प नदेखिएको राप्रपाको दाबी छ । तर श्मशासघाटमा पुगिसकेको राजतन्त्र पुनःस्थापना गरेर देशलाई प्रतिगमनको बाटोमा हिडाउन खोज्ने काम बन्द गर्नु पर्ने चेतावनी गणतन्त्र पक्षधर दलहरुले दिएका छन् ।
राजनीतिक दलहरुको शैलीका कारण विक्षिप्त बनेका नागरिकको उकुसमुकुसलाई क्यास गर्ने दाउमा यतिबेला राजावादी दल राप्रपा र अन्य समूह छन् । मुलुक गणतन्त्रमा गएको २ दशक बित्नै लाग्दा पनि नागरिकको अवस्थामा कुनै सुधार हुन नसकेको आरोप राजावादीहरु लगाउँछन् । तर देशमा प्रो–एक्टिभ फोर्सको तुलनामा रि–एक्टिभ फोर्सको संख्या उच्च हुँदै जाँदै गणतन्त यता सत्तामा पुगेका दलहरुले गरेका राम्रा कामहरुभन्दा उनीहरुको कमजोरी, गल्ती र अवैध गतिविधिहरुले बढि चर्चा पाइरहको छ । यही माहोल राजसंस्थाका समर्थकहरुका लागि मौकामा चौका हान्ने उपयुक्त अवसर बनेको छ ।
पूर्वराजाको फागुन ७ गते पूर्वको सन्देश र पोखराबाट काठमाडाँै फर्कदा उनको स्वागतमा देखिएको भिडका कारण राजावादीहरुको उत्साह बढेको हो । त्यसैले पनि राप्रपा लगायतका राजावादी समूहहरु यतिबेला राजसंस्था पुनःस्थपनाका लागि संयुक्त जनआन्दोलन समिति नै गठन गरेर श्रृंखलाबद्ध प्रदर्शनमा उत्रिएका छन् ।
दुर्गा प्रसाई नेत्तृत्वको प्रदर्शन हिंसामा परिणत हुँदा आलोचित मात्रै बनेन फेरि उनै दुर्गा प्रसाईको आह्वानमा अर्को प्रदर्शन गर्न करिबकरिब असम्भव जस्तै भइसकेको छ । प्रसाईको शैली नरुचाएको संसदको पाँचौ ठूलो दल राप्रपाले मंगलवार काठमाडौँमा प्रदर्शन गर्दै नवीन सम्झौताको अवधारणा ल्याएको हो । यो सम्झौतामा उनीहरुले गणतन्त्रवादी दलहरु पनि अट्ने र राजा पनि अट्ने भनिरहेका छन् ।
राजावादीहरुले आफ्नो मागलाई सम्बोधन गर्न सरकार र गणतन्त्रवादी दलहरुलाई दबाब बढाउन खोजिरहेका छन् । आफुहरुको मागलाई नजरअन्दाज गरिए प्रधानमन्त्रीलाई नै बन्धक बनाउनदेखि त्यसको निसानामा राजनीतिक
चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा लागायका नेताहरु प्रहरी नियणन्त्रणमा छन् । यदि उनीहरुलाई बैशाख २१ गते सम्म रिहाइ नभए सामूहिक गिरफ्तारी दिने संयुक्त जनआन्दोलनका कार्यवाहक संयोजक डा.जगमान गुरुङको चेतावनी छ ।
गणतन्त्रवादी तथा सरकार
राजावादीहरुले सरकार र गणतन्त्रवादी दलहरुलाई राजसंस्था पुनस्र्थापनाका लागि दबाब बढाइरहदाँ उनीहरुलाई दबाउने र काउन्टर दिने रणनीतिमा सरकार र गणतन्त्रवादी दलहरु छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शन र गतिविधिलाई संविधान मिच्ने गलत काम भनिसकेका छन् । दुई चार हजार मानिसले व्यवस्था परिवर्तन् गर्छौं भनेर वितण्डा मच्याउने, व्यक्तिका घरमा आगो लगाउने काम गरेको भन्दै उनीहरु सबै कानूनी दायरामा आउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा घुसपैठ र प्रहरी दमन भएको राजावादी समूहहरुको आरोप छ । यसमा राजावादी सहित सत्तापक्षकै केही सांसदहरुले छानविन समितिको माग गरेका छन् । तर केहीदिन अघि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले घटना कसरी घट्यो ? उद्देश्य के हो भन्ने सबै कुरा स्पष्ट भइसकेकाले छानविन समितिको आवश्यकता नभएको बताइसकेका छन् । छानविन र अनुसन्धान प्रहरीले गरिरहेकाले त्यो नै प्रयाप्त रहेको गृहमन्त्री लेखकको भनाइ छ ।
राजावादीहरुको प्रदर्शन र मागविरुद्ध माओवादी केन्द्र खरो रुपमा प्रस्तुत हुने गरेको छ । चैत १५ गते गणतन्त्रको रक्षाका लागि भन्दै माओवादी नेत्तृत्वमा समाजवादी मोर्चाले काठमाडौँमा सभा नै गरेर काउन्टर दिएको थियो । राजसंस्था फर्किनै नसक्ने भन्दै मओवादी केन्द्रले गणतन्त्रको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिइसकेको छ ।
संसदको ठूलो दल र सत्तामा समेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राजसंस्था पुर्नसथापना हुन नसक्ने भन्दै आइरहेका छन् । केही दिन अघि काठमाडौंमा गणेशमान सिंह फाउण्डेशनले आयोजना कार्यक्रममा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रर्दशन भएपनि भारतीय नेताहरुको समर्थन नरहेको दाबी गरेका थिए ।
राजावादीहरु नै अलमलमा !
राजसंस्था पुनःस्थापना वा नवीन सम्झौता जे भनेपछि राजावादी समूहहरु नै अलमलमा देखिन्छन् । राप्रपाले संवैधानिक राजसंस्थाको लागि नवीन सम्झौताको वकालत गर्छ भने अन्य राजावादी समूहहरुको एजेण्डा कस्तो हो प्रष्ट छैन । सानो सानो झुण्डमा रहेका राप्रपा र राजावादी समूहरुबीच नै मेलमिलाप छैन ।
आफै–आफै आन्दोलनको घोषणा गरेर हिडिरहेका उनीहरु जुन समूहले प्रदर्शन वा आन्दोलन गरेपनि सबैको समर्थन हुने बताउँछन् । तर भित्रभित्र उनीहरुबीच खास राजावादी शक्ति हामी हौ भन्ने स्थापित गर्न प्रतिष्पर्धा चलेको देखिन् छ । यसले गर्दापनि उनीहरुबीच नै राजसंस्थाको मुद्दालाई लिएर समान धारणा बन्न सकेको देखिन्न ।