
काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएको छ । आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको र चैत १५ को घटनामा संलग्न नेताहरुलाई हिरासतमा राखिएको अवस्थामा उनीहरुको रिहाइका लागि समितिले अल्टिमेटम दिएको हो । समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २१ गतेसम्म अल्टिमेटम दिँदै त्यस अवधिमा रिहाइ नगरे २२ गते सामुहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । बुधवार काठमाडौंमा आयोजित प्रतिबद्धता सभामा उनले नजरबन्द गरिएका र पक्राउ परेका सबैलाई रिहा गर्न अल्टिमेटम दिएका हुन् । तीनकुनेमा मारिएका युवाहरुको रगतले लत्पतिएको माटोको टिका लगाएर भद्र आन्दोलनमार्फत सामुहिक गिरफ्तारी दिने उनले घोषणा गरे । तीनकुनेको घटनापछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरुले हल्ला चलाएको भन्दै उनले अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने दाबी समेत गरे ।
राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको भन्दै राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिनाकारण धरपकड गरेको बताए । राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै अबको संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी समेत दिए । इतिहासमा रामले अनेकौँ उपाय अपनाउँदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अच्याचारको अन्त्य गरेको भन्दै पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने उनको भनाइ छ । नेपालीहरुको मनोवैज्ञानिक सुरक्षा र एकताका लागि राजसंस्था अपरिहार्य भएको समेत उनको दाबी छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलहरुले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको भन्दै त्यसो गरेमा आफूहरुले आगो बाल्ने चेतावनी दिए । सत्तामा आफ्नो वर्चश्व कायम गर्न र ब्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख दलहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको उनको आरोप छ । दलहरुले यस्तो धृष्टता गरेमा देशमा आगो बाल्ने चेतावनी दिए । साथै, तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य सरकारले गरेको भन्दै यो स्वीकार्य नहुने समेत उनले बताए । सरकार र गणतन्त्रवादी दलहरु राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयासमा लागेको उनको आरोप छ । लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति लुकाउनतिर गणतन्त्रवादी दलहरु लागिपरेको उनले बताए ।
चैत १५ को घटनाबाट आफूहरु कतिपनि बिचलित नभएको थापाको भनाइ छ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको कमाण्डमा १५ गते तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन, तोडफोडसहित आगजनी भएको थियो । त्यस घटनालाई सरकारले अराजकताको संज्ञा दिँदै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, सांसद धवल शमशेर जबरालगाय दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिँदै छ । यद्यपि कमाण्डर प्रसाई भने त्यसदिनदेखि भूमिगत रुपमा फरार छन्, प्रहरीले उनको अत्तोपत्तो लगाउन सकेको छैन । सो घटनापछि प्रमुख दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा हिंसा भएको भन्दै उनीमाथि पनि छानबिन गर्न माग गर्दै आएका छन् । उक्त घटनाको न्यायिक छानबिन हुनुपर्ने माग समेत उठे पनि सरकारले समिति भने नबनाउने भएको छ । अनुसन्धानको जिम्मा प्रहरीलाई नै दिइएको छ ।