News 24 Television
म्यानमारलाई २७ टन राहत सामग्री प्रदान गर्दैछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । बुधवार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।

नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताइन् । म्यानमारमा गत शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूचि माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूचिअनुसार खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको मन्त्रीले बताइन् । यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने जानकारी मन्त्री राणाले दिइन् ।

उनले भनिन्, ‘हाम्रो राजदुतावास म्यानमारमा भएको हुनोल त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरुलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु माग्नुभएको थियो । मेडिकल टिम नेपाली सेनाले पठाएको छ । त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ । नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौँ ।’ 

हस्तान्तरण गरिने सामग्रीहरुको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु पठाउने जानकारी दिनुभयो । उहाँकाअनुसार २७ मेट्रिक टन भन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । 

प्रवक्ता बुढाथोकीले निजी संघसंस्थाको सहयोगका साथै सरकारसँग मौज्दात सामग्रीहरु समावेश गरेर राहत सामग्री पठाउन लागिएको बताए । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update