News 24 Television
काठमाडौँ उपत्यका लगायत पूर्वी भेगमा वर्षा

काठमाडौँ । लामो सुख्खा यामपछि काठमाडौँ उपत्यका लगायत पूर्वी नेपालका जिल्लाहरुमा हल्का वर्षा भएको छ । बुधबार बिहानदेखि पूर्वमा हल्का वर्षा भए पनि काठमाडौँमा भने दिउँसो मात्र वर्षा भएको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेकोले वर्षा हुने सम्भावना छ ।

बुधबार दिउँसो देशभर नै आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ ।

पूर्वबाट पश्चिम सरिरहेको जलवाष्फयुक्त वायुका कारण राति थप गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पश्चिमी भेगमा पनि मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update