News 24 Television
बालुवाटारमै प्रधानमन्त्री थुन्नेदेखि निर्वाचन छाडेर विद्रोहमा जानेसम्मका धम्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुबाट गणतन्त्र खतरामा रहेको भन्दै राजसंस्था फर्काई छाड्ने दाबी गरेको छ । राप्रपाका नेताहरुले तीनकुने प्रकरणदेखि राजावादी गतिविधि र प्रजातन्त्रको वकालत गर्दै प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै थुन्ने चेतावनी समेत दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको सभामा उल्लेख्य सहभागीता देखिएन् । तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसामा बदलिएपछि यो विषय विवादमा छ । सरकार र गणतन्त्रवादी दलहरुले राजावादीले हिंसा मच्चाएको आरोप लगाइरहेका छन भने राप्रपाले सरकारले नै घुसपैठ गरेको आरोप लगाइरहेको छ । 

यस्तोमा राप्रपाले बल्खुमा गरेको प्रदर्शनमा नेताहरुले अनेक आक्रोश पोखे । राप्रपाका सांसद दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश, श्रीलंका जस्तो हुने भने । 

राप्रपाका नेताहरुले गणतन्त्रमाथि प्रहार गर्नेदेखि विद्रोहको चेतावनीसम्म दिए । यस्तोमा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले जडिबुटीस्थित सञ्चो कम्पनीमा आगो लगाउने माओवादी कार्यकर्ता भएको आरोप लगाए । 

बल्खुमा प्रदर्शनकारी भने उल्लेख्य सहभागी भएनन् । तर, पनि नेताहरुले चेतावनी भने विद्रोह गर्नेसम्मका दिए । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले निर्वाचन बहिस्कारदेखि विद्रोहको चेतावनी दिए भने अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपीलाई युवा संघको सहअध्यक्ष भन्दै गम्भीर आरोप नै लगाए । 

यसरी उनीहरुले गणतन्त्रमाथिका चुनौति थप्दै गर्दा राजसंस्था, हिन्दु राष्ट्र, संघीयताको खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरे । तर, गणतन्त्रवादीले भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिएकोदेखि विभिन्न विषयको आक्रोश पोख्दै लिङ्देनले प्रधानमन्त्रीलाई बालुवाटारमै भातपानी नहुने गरि राखिदिने धम्की दिए । 

राप्रपाको कार्यक्रमलाई ध्यानमा राख्दै सरकारले सुरक्षा व्यवस्था भने कडाईका साथ लागू गरेको थियो । यद्यपी राप्रपाले फोहोर सफा गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पनि जरिवाना नकाट्न चेतावनी दिने काम ग¥यो । फोहोर उठाउदै उनीहरुले महानगरलाई जिम्मा लगाएपछि बालेनले पनि प्रतिक्रिया दिदै सफा राख्ने दायित्वको स्मरण गराएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update