
काठमाडौं । राज्य प्रमुखको तहमा पुगेका व्यक्तिहरुको सक्रिय राजनीति मोहले प्रश्न उब्जिएका छन् । राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउने विषय कति सहि ? विवेचना चलिरहेको छ ।
यस्तोमा अधिकांशले राष्ट्र प्रमुख बनिसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने मत राख्दै आएका छन् । तर, माओवादी केन्द्रले यसको विरुद्धमा गएर निर्णय गरेको छ ।
माओवादी केन्द्रले उपराष्ट्रपतिको दुई कार्यकाल सक्काएर घरमा बसिरहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई सक्रिय राजनीतिमा फर्काएको छ ।
पासाङलाई माओवादी केन्द्रले उपाध्यक्षको जिम्मेवारी नै सुम्पिएको छ । लामो समयको रस्साकस्सीपछि माओवादीले पासाङलाई जिम्मेवारीमा फर्काएपछि माओवाभित्र उकुसमुकुस बढेको छ । तर, नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति भने दिने आँट गरेको भने देखिन्न । पासाङले उपराष्ट्रपतिको जिम्मेवारीमा पनि सन्तुलन कायम गर्न सकेनन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी ओलीको पक्षमा धमाधम कदम चाल्दै गर्दा पासाङले पनि प्रचण्डको पक्षमा वक्तव्यबाजी नै गरे । यसरी आफ्नो कार्यकाललाई सन्तुलित बनाउन नसकेका पासाङ माओवादी केन्द्रको सक्रिय राजनीतिमा किन आए ? पासाङ आफ्नै इच्छाले आए वा प्रचण्डको चाहनामा ? अनेक प्रश्नहरु उठेपनि उनीमाथि केहि प्रश्नहरु भने उठेका छन् ।
सक्रिय राजनीतिमा पासाङ किन ?
पासाङ उपराष्ट्रपतिको जिम्मेवारीबाट फर्किएपछि उनी राज्यको सेवा सुविधासहित बसिरहेका छन् । आलिसान बंगला निर्माण गरेका पासाङमाथि सम्पत्तिको स्रोत खोज्नुपर्ने आवाज समेत उठेका देखिन्छन् । तर, उनी चलाखीपूर्वक पार्टी राजनीतिमा सक्रिय भए । यता प्रचण्डलाई पनि पार्टीको आन्तरिक शक्ति सन्तुलन तनावपूर्ण बनेको बेला पासाङले ढिपी कस्नुले फाइदा नै हुन पुग्यो । यस्तो स्थितिमा पासाङले अन्ततः विरोध, विवाद र जिम्मेवारीमा फर्काउन नहुने आवाजकाबीच उपाध्यक्षको जिम्मेवारीमा फर्किएका छन् । जसका केहि कारणहरु यस्ता छन् ।
– छोरा दिपेश पुनमाथि लागेका सुनदेखि विभिन्न तस्करीका आरोप
– दिपेश सहकारी ठगीमा समेत मुछिने र वेथितिमा नाम जोडिनेमा अग्रपंक्तिमा देखिनु
– उपराष्ट्रपतिको कार्यकालभरीको आम्दानीबाहिर देखिने काठमाडौंको आलिशान बंगला निर्माण
– सम्पत्ति स्रोतको खोजिने खतरा र राज्यबाट कुनैपनि बेला प्रताडना भोग्नपर्ने स्थिति
– सक्रिय राजनीतिमा फर्किए सिंगो पार्टीले नै रक्षामा उत्रिने आशा
– राजनीतिक आडमा राज्यशक्तिको वरिपरी रहेर शक्तिको दुरुपयोगमा समेत काम लाग्न सक्ने अपेक्षा
यस्ता तमाम प्रश्न र आशंकाकाबीच पासाङको सक्रिय राजनीतिले माओवादी केन्द्रभित्र प्रचण्डको निर्णय कसरी निर्णयार्थ पेश हुन्छ भन्ने स्थिति समेत देखाएको छ ।
विरोध शुरु
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति सक्रिय राजनीतिमा आउने विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विरोध जनाएका छन् । सक्रिय राजनीतिमा आउने कुरालाई राज्यले कस्तो सेवा दिएको छ भन्ने विषयलाई समेत केन्द्रमा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सक्रिय राजनीतिमा राष्ट्रपति उपराष्ट्रपति आउन नहुनेमा चर्को आवाज उठिरहेको छ । राष्ट्रपति वा उपराष्ट्रपतिले पदीय गरिमा र सेवा भावलाई सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्नेमा जोड दिने गरिन्छ । यद्यपी अहिलेको परिस्थिति भने फेरिन थालेको देखिन्छ ।
एमालेको अर्को दाउ र विद्यादेवी भण्डारी
नेकपा एमालेभित्र पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने चर्चा व्यापक बनेको छ । भण्डारी पनि देशका विभिन्न क्षेत्रमा पुगेर आफ्नो लोकप्रियताको ग्राफ जाँच गरिरहेकी छन् ।
एमालेमा भण्डारीको आगमनलाई केपी ओलीले आफ्नो योजनामा बाहेक अघि सार्न नचाहेको बेला भित्रभित्रै चलेको चलखेलपछि ओली पनि अब आफ्नै पहलमा भण्डारीलाई अघि सार्ने मुडमा पुगेको दाबि गरिन्छ । यसको फाइदाको रुपमा ओलीले सत्तालाई नै हेरेको समेत चर्चा चल्ने गरेको छ ।
राष्ट्रपति भएको व्यक्ति प्रधानमन्त्री बन्दैन भन्ने बुझाईका कारण पनि ओलीले भण्डारीलाई ०८४ को निर्वाचनपछि आफुलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरि अध्यक्षको जिम्मेवारीमा फर्काउने तयारी गरेको दाबी गर्न थालिएको छ । तर, भण्डारीको सक्रियता र सक्रिय राजनीतिलाई माओवादी केन्द्रको उपाध्यक्ष बनेर पूर्वउपराष्ट्रपति पासाङले ढोला खुला गरिदिएका छन् ।