News 24 Television
महायानी बौद्धमार्गीको महत्वपूर्ण अनुष्ठान बज्रगुरु मन्त्र जप दोलखामा सम्पन्न 

दोलखा । भीमेश्वर, कालिन्चोक लगायतका प्रख्यात धार्मिकस्थलहरु रहेको दोलखामा महायानी बौद्ध धर्मावलवम्बीका लागि महत्वपूर्ण मानिने वज्रगुरु मन्त्र जप कार्यक्रम मंगलवार सम्पन्न भएको छ । १० दिनसम्म गरिएको १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजामा हजारौँ बाँैद्धमार्गी सहभागि हुँदा चरिकोट गुलजार बन्यो । 

धार्मिकरुपमा महत्वपूर्ण रहेको दोलखाको चरिकोट पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ । दोलखामा प्राचीनकालदेखि नै बौद्ध र हिन्दु धर्मसंस्कारको अभ्यास हुँदै आएको छ । यही धार्मिक सहिष्णुतालाई बल पुग्नेगरी अठारौं १० करोड बज्र गुरु महामन्त्र जप तथा विश्व शान्ति पुजा चरिकोटमा सम्पन्न भएको छ । 

धर्म अभ्यास र पूण्यप्राप्तिको लक्ष्य राखेर गरिएको बज्रगुरु मन्त्र जपका क्रममा हजारौ धर्मावलम्वी चरिकोट पुग्दा धार्मिकसँगै जिल्लाको आर्थिक पाटो पनि निकै चलायमान बनेको छ । 

दोलखाको सदरमुकाम चरिकोटमा  चैत १७ गतेदेखि धार्मिक पर्यटन पर्वधन गर्ने उद्देश्यले १८ औं बज्रगुरु मन्त्र तथा विश्व शान्ति पूजा आयोजना गरिएको हो । 

१० दिनसम्म जारी धार्मिक अनुष्ठानमा बौद्ध धर्मावलम्बी मात्रै सहभागिता भएनन्, हिन्दु, किरात लगायतका धर्मका अनुयायीहरु पनि ठूलो संख्यामा उपस्थिति भएको देख्न सकिन्थ्यो । बुद्धका अनेक अवतारको बारेमा फरक फरक ढंगले वर्णन र गुरु रिन्पोचेका १२ लिलाहरुको महत्वको बारेमा पनि विभिन्न चिरपरिचित बौद्ध धर्मगुरुहरुले ब्याख्या गरेका थिए ।

दैनिक १५ सयभन्दा पूजामा सहभागि भएका थिए । जसमध्ये पहिलो दिन र अन्तिम दिन १० हजारभन्दा बढि सहभागि भएका थिए । पूजामा अमेरिका, बेलायत लगायतबाट समेत धेरै धर्मावलम्वी उपस्थित भएका थिए । 

पूजाको पहिलो दिन अभिषेक लिदै विभिन्न बौद्ध गुरुहरुबाट गुरु रिन्पोचेको मन्त्र जप गरिएको थियो । मन्त्र जपको प्रक्रिया अन्तिम दिनसम्मै जारी थियो ।

हरेक दिन मन्त्र जपसँगै विविध सास्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । वर्सेनि आयोजना हुँदै आएको बजगुरु मन्त्र जपको १८ औँ श्रृंखला यसपटक दोलखामा गरिएको हो । बज्रगुरु जपको उद्देश्य धार्मिक पर्यटन प्रवर्धनका साथै बिश्वमा शान्ति फैलियोस् भन्ने कामनाका लागि गरिएको १८ औं बज्रगुरु मन्त्र तथा बिश्व शान्ति पुजाका संयोजक खेन्पो पेम छिरि शेर्पाले जानकारी दिए । 

पछिल्लो समय आर्थिक मन्दी लगायतका कारण दोलखाको पर्यटन सुस्त बन्दै गइरहेको छ । पर्यटन प्रवद्र्धनकै लागि दोलखा महोत्सव आयोजना गरिएको थियो । तर यसपटक आयोजना भएको बज्रगुरु मन्त्र जप पूजाले व्यापार बढेको स्थानीय व्यापारी बताउँछन् । किराना पसल देखि कपडा पसलसम्म उत्तिकै भिड रहेको थियो भने होटलहरु पनि भरिभराउ थिए ।

कालिन्चोक, भिमेश्वर, सैलुङ्ग जस्ता धार्मिक स्थलहरुमा हिन्दु धर्मावलम्बीसँगै बौद्ध धर्मावलम्वीहरुको पनि धार्मिक आस्थाको धरोहर हुन् । १८ औँ वज्रगुरु मन्त्रजपले यहाँको धार्मिक पर्यटकीय सम्भावनालाई पनि झन उजागर गरेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update