
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारका गर्न चाहे पनि सफल हुन सकिरहेका छैनन् । गत असारमा काँग्रेससँगको गठबन्धनबाट सत्तामा पुगेका ओलीले त्यसलगत्तैदेखि परराष्ट्रमन्त्री आरजु राणालाई परिचालित गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिगतमा चिसिएको सम्बन्ध सुधारका लागि अनेक प्रयास गरे । पटकपटक मोदीलाई नेपाल भ्रमणको निम्तो समेत । तर मोदीले ओलीलाई खासै महत्व नदिएको देखिन्छ । ओली–मोदीबीच अन्तर्राष्ट्रिय फोरमहरुमा भने २ पटक साइडलाइन भेटवार्ता भएको छ । गत कार्तिकमा संयुक्त राष्ट्र संघको ७९ औँ महासभाको दौरान ओली–मोदीबीच करिब ४५ मिनेट भेटवार्ता चल्यो । यसपटक बैंककमा भएको बिमस्टेकको छैटौँ शिखर सम्मेलनका दौरान ओली–मोदीबीच एक्लाएक्लै ४० मिनेट भेटवार्ता चल्यो । यद्यपि सम्बन्ध सुधार भएको छाटकाट भने देखिएको छैन ।
ती भेटहरुमा ओली आफैले मोदीलाई नेपाल भ्रमणमा निम्त्याए पनि मोदी भने नआउने भएका छन् । मोदी आगामी जेठ पहिलो साता हुने ‘सगरमाथा संवाद’मा नेपाल आउने चर्चा थियो । तर बैंककबाट फर्केपछि प्रधानमन्त्री ओलीले नेपाल मोदी उक्त संवादका लागि नेपाल नआउने बताए । सोही समयमा मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी ओलीले दिए । उनले थाइल्याण्ड भ्रमणमा मोदीसँग आफ्नो सुमधुर भेट भएको बताए । उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरुको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने कुराहरुमा छलफल भएको बताए ।
यद्यपि औपचारिकता लागि भेट सुमधुर बताइए पनि ओलीसँग मोदी खुस नरहेको कुरा विभिन्न तथ्यगत विश्लेषणबाट जाहेर भएको छ । ओलीले सगरमाथा संवादअगावै भारत भ्रमणमा जानसक्ने दाबी समेत गरेका छन् । अहिलेसम्म ओलीलाई भारतले भ्रमणमा निम्त्याएको थिएन । अब पनि ओली मोदीको भ्रमण हुनेमा आशंका कायमै छ । कालापानी लिम्पियाधुरा सहितको नेपालको चुच्चे नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीसँग भारत चिढिएको थियो । त्यसयता नेपालको सत्तामा अस्थिरता झन मौलायो भने नेपाल–भारत सम्बन्ध सुधार चुनौतीपूर्ण बन्दै गएको छ ।
यसै सन्दर्भमा काठमाडौँमा सोमबार गणेशमान सिंह फाउण्डेसनले ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । त्यहाँ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताउँदै कुनै पनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने बताए । विश्व–परिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षिण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उनको भनाइ छ । उहाँले नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमा उनले जोड दिए ।
तर भारतले नेपालको हित र विकास चाहँदैन, केवल यहाँ अनेक तत्वलाई उचालेर अस्थिरता निम्त्याइराख्न चाहन्छ भन्ने बुझाई आम जनतामा पर्दै गएको छ । चाहे त्यो राणा शासन फाल्न, बहुदल ल्याउन होस या माओवादी सशस्त्र युद्ध चलाउन होस्, राजसंस्था उन्मूलन गर्नमा समेत भारतको प्रत्यक्ष भूमिका रहिआएको कुरा कतैबाट छिपेको छैन । अहिले गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध राजसंस्था र हिन्दू राष्ट्रको वकालत भारतकै आड र उक्साहटमा बढिरहेको भन्ने एकथरी विश्लेषण भइरहेछन् । यद्यपि भारतीय पक्षले खुलेर त्यस्ता कुनै पनि गतिविधिको पक्षपोषण भने गरेको छैन ।
यसबारेमा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने फरक मत राख्छन् । उनले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताए । राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको देउवाको दाबी छ । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको बताए । भारत नेपालमा गणतन्त्र र प्रजातन्त्रकै पक्षमा रहेको देउवाको भनाइ छ । गणेशमान पुत्र एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिए । उनले नेपालमा जुनसुकै पार्टीको सरकार भए पनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले बैंककबाट फर्केकै दिन विमानस्थमा भारतसँग सम्बन्ध सुधार हुन नसकेको संकेत गरिसकेका थिए । त्यसपछि र अघिका कार्यक्रममा पनि उनले सांकेतिक अभिव्यक्ति दिँदै आएका छन् । आखिर भारतले के चाहन्छ नेपालमा, किन ओलीसँग सम्बन्ध सुध्रन सकिरहेको छैन ? यो आमचासोको विषय बनेको छ ।