News 24 Television
देशको समग्र विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले पछिल्लो दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको बताए । देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन उनले आह्वान पनि गरे ।

लगानीकर्ताहरुलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताउँदै पौडेलले त्यसका लागि सरकारले अध्यादेशहरुमार्फत लगानीको वातावरण सिर्जना गरेको बताए । अध्यादेशहरु अहिले कानूनको रुपमा आइसकेको र कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिटै पारित गर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘पछिल्लो दिनमा हाम्रो देशको समग्र विकासमा श्रोतको व्यवस्थापन एउटा चुनौतिपूर्ण विषय बन्दै गएको छ । त्यस हिसावले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन देश, दुनियाँका सबै लगानीकर्ताहरुलाई अनुरोध गरिरहेका छौँ । आकर्षित गर्ने प्रयास गरिरहेका छौँ । त्यसै सिलसिलामा यहाँहरुलाई थाहा छ, पछिल्लो दिनमा सरकारले केही महत्वपूर्ण अध्यादेशहरु लिएर आयो । ति अध्यादेशहरु अहिले अध्यादेशको तहमा मात्रै होइन, कानूनको तहमा रुपान्तरित भएका छन् । कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेका छन् । मन्त्रीपरिषद्ले ति चिजहरुलाई छिटै पारित गर्नेछ । हामी नेपालमा लगानीमैत्री वातावरण बनाउँछौँ । लगानीका प्रशस्त क्षेत्रहरु छन् ।’

उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरु रहेको बताए । उनले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वित्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको पनि बताए । उक्त विधेयकलाई सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए ।

उनका अनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रश्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ । विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update