News 24 Television
ओली–देउवाले खोले भारतको कुरा : आवरण एक, भित्री इच्छा अर्कै !

काठमाडौँ । नेपालमा विभिन्न आन्दोलन र प्रदर्शन चलिरहेका छन् । यस्ता आन्दोलन प्रदर्शनबाट नेपालले समस्या भोगिरहँदा राजावादी प्रदर्शन र यसमा देखिने भूराजनीतिक प्रभावको विषय समेत पेचिलो बन्ने गरेको छ । विशेषगरि नेपालका सम्बन्धमा भारतका योगी आदित्यनाथमाथि लाग्ने आरोपदेखि दुई देशको सम्बन्धका अनेक आयामबारे चर्चा चलिरहेको देखिन्छ । 

नेपाल दुई विशाल र उदयीमान राष्ट्रको बीचमा छ । उत्तरमा चीन र दक्षिणमा भारत छन् । विश्व-अर्थतन्त्रमा ठूलो प्रभाव राख्ने र जनसंख्याको हिसाबले समेत आधा विश्वलाई प्रभाव पार्ने मुलुकको बीचमा रहेको नेपालमाथि विभिन्न भूराजनीतिक प्रभाव देखिने गरेका छन् ।  नेपालको शासन सत्तादेखि सामान्य व्यापारसम्म देखिने यस्ता प्रभावले गहिरो संकट नै निम्त्याउने गरेपनि प्रधानमन्त्री ओलीले सन्तुलनका आधारमा काम गर्ने जिकिर गरिरहेका छन् । 

ओलीले  भनेजस्तै नेपालको समस्या चीनको तुलनामा भारतसँग धेरै देखिन्छ ।  सीमा विवाददेखि जनस्तरको सम्बन्ध र खुला सीमाले देखाइरहेका समस्याले पनि प्रश्न उठ्ने गरेका छन् । यस्तोमा काठमाडौंमा भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरको योगदानबारेको चर्चामा सरकारी अधिकारी र नेताहरुले सम्बन्ध सुधारको विषयमा आफ्ना तर्कहरु अघि सारेका   छन् । 

यसरी नेपाल–भारतको सम्बन्धका चर्चामा पछिल्लो समय बढि केन्द्रमा रहेको विषय छ, राजावादी आन्दोलन र राजावादी आन्दोलनको क्रममा देखिएको योगि आदित्यनाथको फोटो । योगी आदित्यनाथ उत्तरप्रदेशका मुख्यमन्त्री समेत हुन् । योगिले पटक–पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग समेत भेट्ने गरेका छन् । उनको शंकास्पद व्यवहार र पूर्वराजाको सत्ता आशक्तिका कारण पनि अनेक प्रश्नहरु उठिरहेका छन् । तर, योगि आदित्यनाथले दिल्लीस्थित नेपालको दूतावासमै पुगेर आफू राजतन्त्रको पक्षमा छैन भन्दै प्रष्टीकरण दिएको जिकिर कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

नेपालको राजनीतिक परिवर्तनमा भारतले प्रत्यक्ष अप्रत्यक्ष समर्थन र साथ दिने गरेको कुरा लुकेको विषय होइन् । दिल्ली सम्झौतादेखि विभिन्न विषयमा हुने गरेका यस्ता सम्झौताले पनि भारतले कुनै न कुनै स्पेश लिने गरेको देखिन्छ । यस्तोमा नेपालमा भइरहेको प्रणालीविरुद्धको आन्दोलन र दुई देशबीचको सम्बन्धमा दरार आएको भन्ने शंकाकाबीच यस्ता विषय छरपष्ट हुनुले शंका थप बलियो बनाइदिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update