News 24 Television
प्रधानमन्त्रीलाई भेटेपछि हर्कले भने– ‘काम नभएसम्म विश्वास लाग्दैन’

काठमाडौँ । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् ।सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले धरानी जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका हुन् ।

सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलेबाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने उनले बताए । मेयर साम्पाङले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक रहेको बताए ।

उनले खानेपानी व्यवस्थापनका लागि करिव पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको बताए ।  प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उत्तिकै बढेको बताए ।

मेयर साङपाङले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले श्रमदान गर्न आउन पर्यो कि भन्दै व्यङ्ग्य समेत गरे । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update