
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा जाने आदेश भएकै दिनदेखि प्रहरी नियन्त्रणमा छन् ।
रविलाई प्रहरीले उनको निवासबाटै रातारात पक्राउ गरेपछि विभिन्न प्रश्न उठिरहेका छन् भने अदालतको आदेशमा समेत प्रश्न उठाइएको छ । यस्तोमा के रविबिनाको रास्वपा सक्रिय अनि प्रभावकारी बन्न सक्ला त ? पार्टी जीवननै कमजोर विन्दुमा पुगेको टिप्पणी हुन थालेका छन् ।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा मुद्दा पूर्पक्षका लागि थुना छन् । तर, थुनामा पठाउने आदेश पहिलेनै रास्वपाले जनयात्रा गर्ने कार्यक्रम तय गरिसकेको थियो ।
चितवनबाट जनयात्रा अभियान भव्यरुपमा अघि बढाउने योजना थियो रास्वपाको । तर, घटनाले अर्कै मोड लियो । रवि लामिछानेले चितवनबाट कार्यक्रम थाल्ने भनेको अघिल्लो राति नै उनी पक्राउ परे ।
अर्थात रास्वपाको मियोका रुपमा रहेका रविले जनयात्रा अभियानलाई अघि बढाउन सकेनन् । अन्य नेताहरुलाई उनले अभियान सञ्चालनको जिम्मेवारी सुम्पिय । तर, रविबिनाको जनयात्रा अभियान उद्घाटन कार्यक्रम निकै फितलो बन्न पुग्यो । रास्वपाका नेताहरुले पार्टी राजनीतिलाई भन्दा बढि आक्रोश पोख्ने र लान्छना लगाउने काममा मात्रै समय खर्चिए ।
यहाँ न त मुलुकका लागि पार्टीको योजना सुनाइयो, न त जनताको जीवन सहजताका कुनै कुरा सुनिए ।
रास्वपाका नेताहरुले जनयात्रा घोषणापछि काठमाडौंमा जात्रा चलेको भन्दै आक्रोश पोखे । तर, उनीहरुले सहकारी ठगीमा पीडितलाई न्यायको नेतृत्व गर्ने विषयमा भने कतै बोल्न सकेनन् ।
चितवनबाट शुरु भएको जनयात्रालाई नेताहरुले राजनीतिक रुपमा धक्का दिने गरि अघि बढ्नुपर्नेमा न्यून सहभागीताले पनि संकटमा परेको देखिन्छ ।
रास्वपाको मूल नेतृत्व रवि लामिछानेमाथि नै गम्भीर आरोपमा थुनामा पठाउने आदेशपछि समर्थक, शुभचिन्तकहरु तनावमा परेका छन् ।
रविबिनाको रास्वपा
रवि लामिछाने रुपन्देही कारागार चलान हुने भएका छन् । सोमबार सरकारी कार्यालय खुलेपछि उनलाई कारागार चलान गरिने बताइएको छ । यसरी हेर्दा रवि पार्टी सभापतिमा फर्किएको ६ दिनमै ठूलो संकटमा फसेका छन् ।
सभापतिको जिम्मेवारीसँगै म्यासिफ रिफर्म गर्ने उद्घोष गरेका रविले अब के गर्लान् ? रास्वपाले वैशाखमा गर्ने भनेको महाधिवेशन रविको अनुपस्थितिमा गर्न सक्ला ? प्रश्नहरु देखिन्छन् ।
जनयात्रामा होमिने भनेको रास्वपालाई अदालतको झड्काले कस्तो रणनीति तय गर्ने मोडमा पु¥याउला ? कार्यबाहक नै कार्यबाहकको कोचाकोचबाट रास्वपाले आफूलाई कसरी अब्बल राजनीतिक दलको रुपमा अघि सार्ला ? रास्वपा समर्थक, नेता कार्यकर्ता र आम जनतामा चासो देखिन्छ ।
यसअघि पनि रवि प्रहरी हिरासतमा गएदेखि रास्वपाले आफ्नो उपस्थिति बलियो ढंगले देखाउन सकेको थिएन् । रवि जिम्मेवारीमा फर्किएपछि केहि हौसिएका रास्वपाका नेता कार्यकर्ता फेरि तनावमा देखिन्छन् ।
यसको पुष्टी चितवनको जनसभाले नै गरेको देखिन्छ । चितवनको गेष्ट हाउस चौरमा भएको कार्यक्रममा मुस्किलले १५ सयको उपस्थिति हुनुले नै रविबिना रास्वपा खास अघि बढ्न सक्दैन भन्ने संकेत गरिरहेको देखिन्छ ।
तामझाम र विशेष खुलासा गर्ने भनिएको चितवनको जनयात्रामा जनसहभागीता नै न्यून हुनुले प्रश्न पक्कै उठेका छन् ।
रास्वपामा रविबाहेकका नेताहरुले आफूलाई स्थापित गराउन सक्ने स्थिति निर्माण नहुनु र रविको एकल प्रयासबाट रास्वपा चल्ने नचल्ने स्थिति सिर्जना हुनुले पनि अबको रास्वपा कस्तो र कत्रो हुन्छ भन्ने कोणबाट बहस थालिएको छ ।
आदेश र शंका
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश ग¥यो, शुक्रबार झण्डै ८ बज्न लाग्दा । ८ बज्नै लाग्दा आएको आदेशपछि प्रहरीले ९ नबज्दै पक्राउको सबै तयारी सक्काइसकेको थियो ।
रविको निवासमा प्रहरी तैनाथ भइसकेको थियो । यसरी प्रहरीले देखाएको सक्रियतामाथि अहिले विभिन्न कोणबाट प्रश्न उठेको छ ।
छिटो सक्रियता देखाउदा होस वा समयमै नपुग्दा होस, प्रहरीले आरोप खेप्ने गर्छ नै । तर, रवि सहकारी ठगी आरोपमा थुनामा जाने गरि भएको आदेश भने विवादमा परेको छ ।
रविलाई थुनामा पठाउने आदेश गरेका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको फैसलामा प्रश्न उठेका छन् । यस पहिले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेका न्यायाधीश रमेश ढकालले रवि लामिछानेलाई भने थुनामा पठाउने आदेश गरे ।
आदेश न्यायाधीशको नियमित कर्म नै हो तर, फैसलाको खण्ड नै कपिपेस्ट भएको भेटिदा भने प्रश्न उठेको छ ।
फरक प्रकृतिको मुद्दामा गरेको फैसलामा रविको मुद्दाको आदेशका पेज नम्बर ४, ५, ६, ७ र ८ मा भएका विषय सन्दीप लामिछानेको मुद्दामा भएको आदेशको पेज नम्बर ५ देखि १५ सम्मका विषयसँग हुबहु मिल्छन् । यहि विषयले पनि प्रश्न थप उठाएको छ।