News 24 Television
कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै सडकमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट बर्खास्त गरिएका कुलमान घिसिङको समर्थनमा फेरि प्रदर्शन चर्किन थालेका छन् । 

सरकारले बर्खास्त गरेको झण्डै २ सातापछि पत्रकार सम्मेलन गरी सरकारको आलोचना गरेपछि कुलमानको पक्षमा पुनः प्रदर्शन शुरु भएको हो । आइतबारको प्रदर्शनमा कुलमानलाई उज्यालोको नायक मात्र होइन, राष्ट्रपति बनाउन माग गरिएको छ । 

गत चैत ११ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रमान शाक्यलाई नियुक्त गरेपछि सडकमा सरकारविरुद्ध स्वस्फूर्त प्रदर्शन भए । सरकारको निर्णयविरुद्ध कुलमानले सर्वोच्चमा रिट हालेका थिए । यद्यपि उनलाई पुनवर्हालीका लागि सर्वोच्चले भने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कुलमानको कार्यकाल असार २४ गतेसम्म रहेको थियो । तर कार्यकाल सकिनु भन्दा ४ महिनाअघि नै पदबाट बर्खास्त गरिएपछि कुलमानलाई राजनीतिक फाइदा मिलेको छ । 

उज्यालोका नायक भन्दै नागरिकले गरेको प्रदर्शनले कुलमान झनै उत्साहित देखिन्छन् । दैनिक १८ घण्टाको लोडसेडिङ हटाउने भूमिका खेलेका कुलमानले प्राधिकरणलाई समेत नाफामा पु¥याएका थिए । त्यसैले उनी प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै बिदा भएको भन्दै जिम्मेवार नागरिकको रुपमा आफ्नो काम कर्तव्य र अभिभारा अभिब्यक्ति दिएका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गरी कुलमानले दिएको अभिब्यक्तिले उनी राजनीतिमा आउने दाउमा रहेको प्रष्ट देखिन्छ । उनको त्यही अभिब्यक्तिका कारण आइतबार काठमाडौंमा समर्थकहरुले प्रदर्शन गरेका छन् । 

विचौलियाको आडमा कुलमानलाई बर्खास्त गरिएको भन्दै विपक्षी दलहरुले मात्र होइन, नागरिकले पनि पुनः अँध्यारोमा बस्नुपर्ने अवस्था आउने हो कि भन्नेमा चिन्तित छन् । 

कुलमानका समर्थकहरुले आइतबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर कुलमानका तस्विर अंकित प्लेकार्ड प्रदर्शन गरे । 

कुलमान उज्यालो नेपालका नायक लेखिएको तस्विर अंकित टिसर्टसमेत लगाएका ठूलो संख्याका प्रदर्शनकारीहरुले पुनबहालीको माग मात्रै गरेका छैनन्, उनलाई राजनीतिमा आउन दबाब सिर्जना गरेका छन् । 

उनीहरुले कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने मागसहितको ब्यानरसमेत प्रदर्शन गरेका छन् । 

कुलमान राजनीतिमा आउने संकेत 

प्राधिकरणको नेतृत्वमा रहेर नागरिकलाई उज्यालो दिएर आफूले के गल्ती गरेको भन्ने प्रश्न कुलमानले बारम्बार उठाउँदै आएका छन् । 

अझ लामो समयको लोडसेडिङका बेला नागरिकलाई अँध्यारोमा राखेर डेडिकटेड तथा ट्रंक लाइन विद्युत महशुल नबुझाएका उद्योगीहरुबाट बक्यौता उठाउन निकै जोड गरे । तर बक्यौता उठाउन सरकार नै बाधक बनिदियो । विद्युत बक्यौता उठाउन जोड गरेकै कारण आफूलाई हटाइएको घिसिङले बताइरहेका छन् । 

जसका कारण उनी आम नागरिकको हाइहाई बनिरहेका छन् । प्राधिकरणको नेतृत्वमा रहेर चमत्कारिक रुपमा लोडसेडिङमुक्त गराएका कुलमान केही समयका लागि कार्यकारी निर्देशकमा पुर्नबहाली हुनु भन्दा नहुनु नै उनका लागि फाइदा देखिन्छ । 

कुलमानलाई मात्र होइन, अघिल्लो निर्वाचनमा समेत कुलमानको प्रचार गरेको माओवादीलाई पनि आगामी निर्वाचनमा उनलाई उभ्याउन पाउँदा राजनीतिक फाइदा हुने निश्चित छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update