
काठमाडौं । त्यसो त देशका विभिन्न भागमा समय समयमा अनेकथरी महोत्सव आयोजना गरिन्छ । तर पोखरामा गरिने एउटा यस्तो महोत्सव जसले किसानको खेतबारी र हरेक घरको भान्सालाई जोड्ने काम गर्छ ।
कुनैबेला यस्तो नी महोत्सव हुन्छ भनेर खिल्ली उडाइएको पोखरामा आयोजना हुने आलु महोत्सवले अहिले हेम्जाको आलु भनेर आलुकै ब्राण्डिङ गर्न सफल भएको छ ।
कोही बडेमानको मुला काँधमा बोकेका छन् । कोही बन्दा र आलुको माला लगाएको देखिन्छन् । कोही बाजागाजासहित नाच्दै हिडिरहेका छन् । अनि कसैको गला खाली छैन जसले आलुको माला नलगाएको होस् ।
केही महिलाहरु लामो डोरीमा स्थानीय उत्पादन झुण्ड्याउदै मानव साङ्लो नै बनाएर बसिरहेका छन् । यी दृष्यहरु हुन् पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा आयोजित १३ औँ राष्ट्रिय हेम्जा आलु महोत्सव । आइतवारदेखि शुरु भएको महोत्सव वैशाख ३ गतेसम्म जारी रहनेछ ।
खुला चौरमा निर्माण गरिएको एक कृत्रिम पहाड के को होला भन्ने लाग्यो होला तर नझुक्कीनुहोस् यो पनि आलु कै पहाड हो । पोखरा २५ हेम्जा आलु उत्पादनका लागि निकै चर्चित स्थान हो ।
त्यो सँगसँगै यहाँ उत्पादित तरकारीले पनि पोखराको ठूलै हिस्सा ओगट्छ । गाउँको उत्पादनले बजार नपाउने तथा युवा पलायन बढ्न थालेपछि स्थानीय विष्णु पादुका युवा क्लबले हेम्जामा आलु महोत्सव गर्न सुरु गर्यो ।
त्यसयता यहाँको उत्पादनले बजार त पाएको छ नै झन हेम्जाको आलु भनेर देशभरनै ब्राण्डीङ भएको छ । आलु महोत्सव सुरु भएदेखि यहाँको आलु बजारसम्म लाने झन्झटबाट मुक्त भएको र उत्पादित आलु महोत्सवबाटै बिक्री वितरण हुने गरेको विष्णुपादुका क्लबका उपाध्यक्ष राजेन्द्र बहादुर थापा बताउँछन् ।
हेम्जामा कृषि उत्पादनलाई प्रसय दिँदै आलु महोत्सव गर्न थालेको पनि १३ वर्ष वितिसकेको छ । यहि महोत्सवकै कारण कृषकको उत्पादनले बजार पाउने र भाउ पनि राम्रै पाउने गरेकाले किसानहरु हर्षित देखिन्छन् ।
देशभर कृषि पेशामा लाग्ने किसानहरुमा विस्तारै कृषिप्रतिको मोह घट्दै गएपनि पोखरा हेम्जामा भने कृषिप्रति आकर्षण बढ्दो छ ।
हेम्जाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । यो महोत्सवले हेम्जाको मात्र नभई पोखरा महानगरको पहिचान बनाउँदै छुट्टै पहिचान बनाएको स्थानीय सरकारको दाबी छ ।
आलु खेतीकै कारण पोखरा २५ हेम्जाको परिचय फेरिएको छ । हेम्जामा बार्षिक ४ हजार ५ सय मेट्रीक टनभन्दा बढी आलु उत्पादन भई बार्षिक १० करोड रुपैयाँ बराबरको व्यापार हुने गरेको पोखरा महानगरको तथ्यांकले बताउँछ । तर पछिल्लो समय घरघडेरीको विस्तार तथा ग्रामीण क्षेत्रहरुबाट बसाई सरेर आउनेका कारण कृषियोग्य जमिन घट्दै गएको छ ।
कृषियोग्य जमिन जोगाईराख्न सक्ने तथा आलु लगायतका विभिन्न कृषि उपजको उत्पादनमा आधुनिकीकरण भित्र्याउन सक्ने हो भने पोखरामा आयातित तरकारीजन्य बस्तुलाई स्थानीय उत्पादनले नै विस्थापन गर्नेमा कुनै दुई मत छैन ।