News 24 Television
राजनीतिक सन्यासमा गगन–रविको बाजी : सरकारमाथि ‘फिक्सिङ’को आरोप !

काठमाडौं । झण्डै एक वर्ष अघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गरे राजनीति छोड्ने चुनौती दिए । उनको यो चुनौती समग्र काँग्रेस र महामन्त्री गगन थापा लक्षित थियो ।

काँग्रेस र पार्टीका महामन्त्री गगन थापाले रविमाथि आँफै सिक्नेचर गरेर सहकारीको रकम लिएको भन्ने आरोप सदनबाटै बारम्बार लागाउँदै आएका थिए । यसैको काउन्टर जवाफमा सहकारी ठगी प्रकरणमा आफू दोषी भए राजनीति छोड्ने रविको चेतावनी थियो । यस्तैमा प्रमाणित गर्न नसके गगनले राजनीति छोड्नुपर्ने र प्रमाणित गरे आफूले राजनीति छोड्ने रविको सर्त थियो । 

गगनले पनि रविले पेश गरेको चुनौतीलाई स्वीकार गर्दै तार्किक र प्रमाणको आधारमा भिड्ने जवाफ दिएका थिए । यदी रविलाई दोषी करार गर्न नसके राजनीतिबाट सन्यास लिने गगनको पनि चुनौती छ । तर चुनौतीपछिको एक वर्ष, न रवि नै दोषी प्रमाणित भइसकेका छन् न त गगनले नै पनि आरोप प्रमाणित गर्नसके । तरपनि रवि र गगनबीच यो विषयमा संघर्ष जारी नै छ । 

८४ दिनमा छुटेका रवि, ८५ दिनमा पक्राउ ! 

सहकारी ठगीकै प्रकरणमा यसअघि कात्तिक २ गते रवि पक्राउ परेका थिए । त्यसपछि रविलाई कास्की, चितवन, रुपन्देही र काठामाडौं जिल्ला अदालतले रकम धरौटीमै रिहाइ गरेको थियो ।

सो समय ८४ दिन हिरासतमा रहेका रविले चार जिल्लाबाट झण्डै ३ करोड धरौटी रकम बुझाएका छन् । यसपछि पनि अन्यायमा परेको भन्ने बुझाइसहित रविले धरौटी तिराउने सबै जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दिए ।

जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले भने जिल्ला अदालत रुपन्देहीको आदेश नै बदर गर्दै रविलाई पुनः पक्राउ गर्न आदेश दिएको हो । यो सँगै रवि चैत २२ गते राति पक्राउ परे । यसअघि विभिन्न जिल्लामा अनुसन्धान गर्दा ८४ दिनको हिरासत बसाईपछि पुस २५ गते छुटेका रवि त्यसको ८५ दिनपछि पुनः पक्राउ परेका हुन् ।

रवि भर्सेस गगनको अर्को अध्याय !

रास्वपाले रवि पक्राउको पद्धति, शैली र समयको विषयमा विभिन्न प्रश्न उठाउँदै उनको ज्यान नै खतरामा रहेको समेत औल्याउँदै सरकारको नियतमाथि प्रश्न उठाइरहेको छ । अदालतको आदेशलाई समेत रास्वपाले सत्ताको प्रभावका रुपमा परिभाषित गरिरहेको छ ।

यस्तैमा रास्वपाले रवि–गगन टसलको विषयलाई पनि जोडेर हेर्न थालेको छ । विगतमा गगन र रविले राजनीतिलाई नै दाउ थापेर राखेको बाजीलाई गगनको पक्षमै पार्न सरकारसमेत लागी परेको रास्वपा नेताहहरुले आशंका गर्न थालेका छन् । अनेक प्रकरण र काण्डहरुलाई छोडेर सरकार रविविरुद्ध मात्रै लागिरहनुलाई रास्वपाले गगनको पक्षमै नजिता निकाल्न सरकार उद्दत भएको आरोप लगाउन थालेको हो । 

सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथिको छानविन र यसको निश्कर्ष तत्काल टुंगिने अवस्था देखिँदैन । रुपन्देहीको ठगी प्रकरणमाथि रविलाई उच्च अदालतले पुरपक्षका लागि थुनामा राख्दा भावि फैसला कस्तो आउँला ? अन्य जिल्लाहरुमा अझ के होला ? भन्ने कौतुहलता झन झन बढ्दो छ ।

यहीबीचमा रास्वपाले रवि पक्राउको विषयमा विभिन्न आरोप, टिप्पणी र विरोध गरेपनि अदालतको आदेश मान्नुको विकल्प छैन । यद्यपि एमाले नेतृत्वको सरकार, काँग्रेसले सम्हालेको गृहमन्त्रालय र अन्य गतिविधिलाई लिएर रास्वपाले भने रविको यो गिरफ्तारीलाई ‘रवि भर्सेस् गगनको अर्को अध्याय’का रुपमा व्याख्या गर्न थालेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update