
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिनअघि मात्रै चैत १७ गतेदेखि पार्टीको जिम्मेवारीमा फर्किएका थिए ।
पछिल्लो विशेष राजनीतिक परिस्थितिका कारण जिम्मेवारीमा फर्किएको बताएका लामिछाने पुपक्र्षका लागि थुनामा पठाइएको छ । २ महिने जनयात्रा उद्घाटनको अघिल्लो राती पक्राउ परेपछि रविलाई फेरि अर्को धक्का लागेको छ ।
काठमाडौंसहित आधा दर्जन बढी जिल्लामा सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि डोलप्रसाद अर्याल (डीपी)ले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर सबै जिल्ला अदालतमा मोटो रकम धरौटी बुझाएर छुटेका लामिछानेले आफ्नो त्यही मुद्दा मामिलाका कारण डीपीले नै पार्टीको नेतृत्व लिँदै आएका थिए ।
सहकारी ठगी प्रकरणकै कारण सांसद पदसमेत निलम्बनमा परेका लामिछाने चैत १७ गतेदेखि पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए । यहिबीचमा आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न उनले सभामुख देवराज घिमिरेलाई समेत गुहारे ।
सहकारी ठगी प्रकरणको मुद्दा मामिलाका कारण लामिछाने पार्टी काम भन्दा बाहिर रहेकै कारण पछिल्लो समय राजावादीहरुको सक्रियता बढ्दा पनि रास्वपा गुमनाम जस्तै बन्यो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानमा राजावादीहरुको सडकमा ओर्लिँदा गणतन्त्रवादीहरुले पनि शक्ति प्रदर्शनमा उत्रिए । रास्वपा भने न त राजावादी भए, न त गणतन्त्रवादीले विश्वास गर्न सके ।
गणतन्त्रवादीको सर्वदलीय बैठकमा समेत रास्वपालाई नडाकिएपछि आक्रोशित बनेको रास्वपाले शनिवारदेखि २ महिने देशब्यापी जनयात्रा शुरु गर्ने तयारी गर्दा त्यसैको अघिल्लो रात सभापति लामिछाने पक्राउ परे ।
सहकारी ठगी मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासबाट पुपक्र्षका लागि थुनामा पठाउने आदेश भएपछि लामिछानेलाई शुक्रबार राती नै पक्राउ गरी शनिवार विहान भैरहवा पु¥याएको छ ।
आइतबार पनि सार्वजनिक विदा भएकाले लामिछाने दुई दिन रुपन्देही प्रहरी हिरासतमै रहनुपर्ने भएको छ । कारागार चलान गर्नुअघि अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक विदा पश्चात लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने छ । लामिछाने पक्राउ परेपछि भने रास्वपा नेता कार्यकर्ता निकै आक्रोशित बनेका छन् ।
रविको पक्राउपछिको अन्यौलताकाबीच रास्वपाले शनिवार चितवनको भरतपुरबाट जनयात्राको उद्घाटन गरेको छ ।
रवि पक्राउ परेका कारण रविकै निर्वाचन क्षेत्रमा पर्ने चितवनको गेष्टहाउस चौरमा आयोजित जनयात्राको पार्टी कार्यबाहक सभापति अर्यालले उद्घाटन गरेका छन् ।
लामिछानेले कार्यक्रम नरोक्न निर्देशन दिएपछि चितवनमा भेला भएका रास्वपाका केन्द्रीय नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को आक्रोश पोखेका छन् ।
रविले जब उच्च अदालत गुहारे
गोरखा मिडिया नेटवर्कका तत्कालिन निर्देशक रहेका रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा काठमाडौ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्लामा मुद्दा परेको थियो ।
तर ती सबै जिल्लाबाट छुट्टाछुट्टै धरौटी बुझाएर रवि रिहा भएका थिए । प्राप्त प्रमाणको आधारमा रविलाई निर्दोष भन्न नसकिने भन्दै सबै जिल्ला अदालतले धरौटी मागेको थियो । मोटो रकम धरौटी बुझाए पनि अदालतले आफूलाई न्याय दिएको अभिब्यक्ति दिएका रविले धरौटी खारेज गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत लुम्बिनी र पोखरामा पुनरावेदन गरे ।
जिल्लाको आदेश चित्त नबुझेको भन्दै सरकारी वकिलको कार्यालय पनि उच्चमा पुनरावेदन गरेको थियो ।
सोही पुनरावेदनको सुनुवाई गर्दै उच्च अदलत तुल्सीपुर बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै पठाउन आदेश दियो । उच्चको आदेशपछि शुक्रबार राती नै पक्राउ परेका उनलाई सोमवार कारागार पठाइँदैछ । यद्यपि लामिछानेले न्यायको सबै ढोका ढक्ढकाउने बताएका छन् ।
पछिल्लो समय देशमा राजवादी र गणतन्त्रवादीबीचको ध्रुवीकरण बढिरहेका बेला जनयात्रा अभियान सञ्चालन गरी पार्टीलाई पुनः अस्तित्वमा ल्याउने रास्वपा सभापति लामिछानेको चाहना हो । नागरिकको असन्तुष्टिलाई राजावादीले क्यास गर्न सक्ने देखेर नै लामिछाने अत्तालिएका हुन् ।
राजावादी र गणतन्त्रवादीको ध्रुवीकरणको खतरा बढ्दै गर्दा नागरिकको असन्तुष्टिलाई लिएर मुलधारका राजनीतिक दल तथा सरकारविरुद्ध आक्रोशलाई साथ लिने योजना रविको अनुपस्थितिमा रास्वपाले पुरा गर्ला नगर्ला त्यो भविष्यकै गर्भमा छ ।