
काठमाडौं । व्यवस्थामाथिका प्रश्नको धरातलमा टेकेर मुलुकमा राजनीतिक माहोल गर्माएको छ । यही गरम माहोललाई कोही थप चर्काउने दाउमा छन्, त कोही माहोल बदल्दै आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।
चैत्र १५ मा भएको राजावादी हिंसात्मक प्रदर्शन र समाजवादी मोर्चाको प्रदर्शन पश्चात थप प्रदर्शनकै माहोलले प्राथमिकता पाएको देखिन्छ । राजनीतिक दलहरु आ–आफ्ना एजेण्डा सुदृष्ढ गर्न प्रदर्शनको बाटो अगाल्न व्यस्त देखिएका छन् ।
यो चैत्र महिना प्रदर्शनमाथि प्रदर्शनको वहार बोकेको महिना जस्तै बन्न पुगेको छ । चाहे राजावादी भन्नेहरु हुन्, चाहे गणतन्त्रको विकल्प छैन भन्ने राजनीतिक दलहरु हुन्, उनीहरु अहिले देशव्यापी प्रदर्शनमा जुटेको देखिन्छ ।
मुलुकमा आफ्नो पक्कड बलियो बनाउने उद्देश्यका साथ कोही अभियानसहित अघि बढेका छन् त कोही खबरदारीको शैलीमा प्रदर्शनमा उत्रिरहेका छन् र, थप प्रदर्शनको खाका कोरिरहेका छन् । विशेषगरि यही चैत्र १५ गतेदेखि प्रदर्शनको अस्त्र बढिनै प्रयोगमा ल्याइएको देखिन्छ ।
चैत्र १५ मा राजावादीहरुले काठमाडौंको तीनकुनेमा विध्वंशनै मच्चाउने गरि प्रदर्शन गरे । त्यो प्रदर्शन केवल प्रदर्शनमा सीमित रहेन । उनीहरुले व्यक्तिका घरमा आगो लगाउनेदेखि मानिसको ज्यानै जानेसम्मको अवस्था सृजना गरे । राजावादीहरुको हिंसात्मक प्रदर्शनमा परि २ जनाको मृत्यु नै भयो ।
सोही दिन समाजवादी मोर्चाको आयोजनामा गणतन्त्रको पक्षमा जनप्रदर्शन गरियो । वामपन्थी विचारधाराको अवलम्वन गर्ने दलहरु सम्मिलित यस मोर्चाले भने वृहत जनसभा ग¥यो तर, शान्त एवम् शालिनताका साथ । यि दुई प्रदर्शनको मुल मर्म हो मुलुकको शासन व्यवस्था । एक पक्षले गणतान्त्रिक व्यवस्थाको विकल्प उन्नत गणतन्त्र नै हुने दाबी गरिरहेको छ, भने अर्को पक्ष वंशीय शासन चाहियो भन्दै कुर्लिरहेको छ ।
यहाँ प्रदर्शन यतिमै सीमित छैनन् । राजावादीहरुको १५ गतेको प्रदर्शनलाई काउण्टर जवाफ दिन तत्काल नेकपा एमालेले मोटरसाइकल ¥याली निकाली मुलुकका मुख्य शहरमा प्रदर्शन ग¥यो । स्थानीय नेताहरुले पनि गणतन्त्रको सुदृढीकरणका लागि भन्दै खबरदारी एवम् प्रदर्शन गरिरहेका छन् । यहि पेरिफेरिमा, यहि चैत्र २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्र चाहियो भन्दै प्रदर्शनमा उत्रने तयारी गरिरहेको छ ।
यतिमात्रै होइन राप्रपाले चैत्र २६ मा प्रदर्शनको तयारी गर्दैगर्दा त्यसको एक दिन अघि नेकपा एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने तयारीमा जुटेको छ ।
चैत्र २९ गते फेरि नेकपा एमालेले भेलाको तयारी थालेको छ । जुन भेलाले गणतन्त्रको रक्षाका लागि आगामी योजनाबारे खाका तयार गर्ने भनिएको छ ।
कुन पार्टीको प्रदर्शन कसरी–कहाँ हुँदै ?
- नेकपा (एकीकृत समाजवादी) यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने
- प्रदर्शनको एजेण्डा– मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै संघीय लोकतान्त्रिक
गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा खबरदारी एवम् जनचेतना जगाउने
- संगठन सुदृढीकरणका लागि जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरि उनीहरुको गरिवी निवारण, सुशासन, जनजीविका केन्द्रित आन्दोलन
- मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भण्डाफोर गर्ने
- चैत्र १५ मा तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानविनको माग
- घटनाको निष्पक्ष छानविन गरि त्यसमा संलग्न दोषीलाई कानूनी कारबाहीका लागि दबाब दिने उद्देश्य
- पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदर्शनको तयारीमा
- चैत्र २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा
- प्रदर्शनको एजेण्डा– मुलुकमा राजसंस्था स्थापना
- संवैधानिक राजाको वकालत
- चैत्र १५ मा भएको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै दमनविरुद्ध खबरदारी
नेकपा एमाले पनि वृहत सभाको तयारीमा
- चैत्र २९ गते नेकपा एमालेले सुदूरपश्चिम प्रदेशस्तरीय वृहत् विशेष सभा धनगढीमा आयोजना गर्ने
- सभाको उद्देश्य– लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास,
संविधानको रक्षा र पछिल्लो समयमा देखिएका अराजकताविरुद्ध जनसमर्थन र सकारात्मक सन्देश प्रवाह
- शान्ति, सुशासन र विकासका पक्षधरहरुलाई एकीकृत गर्न, अराजकता मच्याउने भीडका विरुद्ध सभाको आयोजना
यसरी नेकपा एमालेले पनि वर्तमान व्यवस्थाको रक्षा, सुदृढीकरण र समृद्धिका लागि भन्दै प्रदर्शनको अस्त्र नै प्रयोग गरेको छ । सबै तहका नेता, कार्यकर्ता सहित गणतन्त्र र परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन एमालेले आह्वान गरिसकेको अवस्था छ ।
यो बीचमै अन्य सानातिना प्रदर्शनहरु पनि रहेका देखिन्छन् । यसरी हेर्दा यो चैत्र महिना प्रदर्शनको महिना जस्तै बन्न पुगेको देखिन्छ ।