News 24 Television
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ? 

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । यो सँगै रवि शुक्रबार नै प्रहरी नियन्त्रणमा पुगे । उनलाई शनिबार भैरहवा पुर्याइएको छ । लामो समय पार्टी जिम्मेवारी बाहिर रहका रविले गत चैत १८ गते मात्रै पार्टी जिम्मेवाबारी सम्हाल्न आइपुगेका थिए ।

त्यसको एक साता नवित्दै रवि प्रहरीको नियन्त्रणमा परेका हुन् । रविलाई जिल्ला अदालत रुपन्देहीले गते माघमा एक करोड धरौटी बुझाएर छाड्न आदेश दिएको थियो । तर उक्त आदेश बदर गरिपाउँ भनि रविले उच्च अदालतमा निवेदन दिएका थिए । 

यसै निवेदनको सुनुवाइ गर्दै उच्च अदालतल तुलसीपुरले जिल्ला अदालतको फैसलालाई नै उल्टाएर रविलाई पुनः थुनामा पठाउन अदेश दिएको हो । यसै अनुसार रवि शुक्रबार राति पक्राउ परेका हुन् । 

रास्वपाको रणनीति के ? 

चितवनमा आमसभा गर्ने तयारी गरिरँदा एक दिन अघि नै सभापति रवि पक्राउ परेपछि रास्वपाले आकस्मिक केन्द्रीय सचिवालय बैठक राखेको छ । शुक्रबार रातिदेखि नै बसेको भर्चुअल बैठकमा पार्टीका चार कदमबारे निर्णय गरिएको हो । जुन यस्ता छन्  

–    उच्च अदालत तुलसीपुर बुटवल इजलासले सभापति रवि लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने ।

–     पक्राउ पूर्जीबिनै रविको निवासमा प्रहरी आइपुगेको र बेडरुममै बसेर प्रहरीले पक्राउ पूर्जी लेखेको विषयमाथि विरोध जनाउने ।

–    शनिबार चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई सभ्य, भव्य र सफल पार्ने निर्णय पनि गरेको छ । रविले आफू पक्राउ पर्नु अघि नै सभालाई निरन्तरता दिनु भनेका थिए । जुन रविको निर्देशनलाई पालना गर्दै सभाको कार्यक्रमलाई सम्पन्न गर्ने रास्वपाको निर्णय छ । 

र, पार्टी नेतृत्वको लागि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिने निर्णय पनि गरेको छ । सभापति रवि लामिछानेले कार्यवाहक सभापति डीपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने बैठकले निर्णय गरेको हो । 

रविलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि फेरि थुनामा पठाउन आदेश आएपछि अब रविको भविष्य के होला ? पार्टीको भूमिका कस्तो होला ? भन्ने आम प्रश्न रहिरहेका बेला रास्वपाले तत्काललाई सम्यमित भएर अघि बढ्ने र पक्राउको प्रतिवाद गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update