
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीको जिम्मेवारीमा फर्किँदै गर्दा सरकारमाथि आक्रोश र संसय दुवै प्रकट गरेका थिए । उलने भनेका थिए – ‘सरकारले म माथि अन्याय र ज्यादती गर्यो । म चितवनमा गएर आफ्ना मतदातालाई दुखेसो सुनाउँछु । बाराको मुद्धालाई सरकारले हतियार बनाएर राखेको छ । मेरो शीरमा सरकारले तरबार झुण्ड्याएर राखेको छ । सरकारले जुनबेला पनि उक्त तरबार झार्न सक्छ ।’
योसँगै रविले आफूलाई जुनसुकै बेला प्रहरीले नियन्त्रणमा लिनसक्नेदेखि आफ्नो ज्यान नै खतरामा रहेको समेत आशंका व्यक्त गरेका थिए । पक्राउ गर्न गएको प्रहरीको हर्कत र रविको परिस्थििति अहिले रवि आँफैले गरेको पूर्वआशंकाकै स्थितिमा पुगेको टिप्पणी हुन भइरहेका छन् ।
सरकारबाटै आतङ्कित रवि
पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेले प्रहरीको पक्राउ प्रकृया र शैलीप्रति असन्तुष्टी जनाइरहेका छन् । उनले भिडियो नै बनाएर सरकारविद्धको असन्तुष्टि र आफूमाथि खतराको संकेत गर्दै सामाजिक संजालमा पोष्ट गरेका छन् । जहाँ आफूलाई मारिएको अवस्थामा पनि चुनाव चिन्ह जिवित रहनेसम्म भनेका छन् ।
रास्वपाले रविको नेतृत्वमा चितवनमा शनिबार सभाको आयोजना गर्ने तयारी समेत गरेको थियो । तर यो हुन नपाउँदै रवि गिरफ्तारीमा परेका छन् । गिरफ्तारीपछि नै रविको सुरक्षामाथि शंका पैदा भइरहेका हुन् ।
प्रहरीले नै अन्तिम इच्छा के छ ? भन्दै सोधेर देखाएको हर्कतले समेत सरकारमाथि थप प्रश्न उठेको हो । यसपछि रास्वपा नेताहरुले समेत रविको सुरक्षामा गम्भीर आशंका गरिरहेका छन् । रास्वपा नेता मिलन लिम्बूले सभापति रविको जिउज्यान नै खतरामा रहेको भन्दै सरकारमाथि खबरदारी पेश गरेका छन् ।
'अदालतको आदेशलगत्तै गिरफ्तारी दिन तयार हुनु भएका सभापती रवि लामिछानेलाई पक्राउ गर्न घर पुगेका प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर प्रश्न गरेका छन । यसको मतलब के हो ? प्रहरीको यो प्रश्नले आम पार्टी पंक्ति र शुभचिन्तकमा सभापतिलाई सरकारले जतिखेर जे पनि गर्न सक्ने गम्भीर आशंका र डर उत्पन्न गराएको छ,’ लिम्बूले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।