
काठमाडौं । उच्च अदालतको आदेश अनुसार नै रवि लामिछाने शुक्रबार आफ्नै निवासबाट पक्राउ परेका छन् । तर उनको पक्राउ प्रकृया र विधिको विषयमाथि विविध प्रश्न उठिरहेका छन् ।
यस्तोमै रास्वपाले रविलाई प्रहरीले पक्राउ पूर्जी विनै नियन्त्रणमा लिन निजी निवास पुगेको तथा प्रहरीमाथि नै प्रश्न उठाइएपछि मात्रै बेड रुपममै बसेर पूर्जी लेखिएको भन्दै विरोध जनाइरहेको छ ।
साथै रास्वपाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसालेरै रविको पक्राउ प्रकृयाको विरोध गर्ने निर्णय गरेको छ । त्यस्तै पक्राउका लागि पुगेको प्रहरी टोलीले रवि र रास्वपा नेताहरुमाथि गरेको व्यवहारको समेत आलोचना भइरहेका छन् । जहाँ पक्राउ गर्न पुगेको टोलीले रविलाई अन्तिम इच्छा के छ ? भन्दै प्रश्न गरेपछि दुई पक्षबिच सवाल जवाफ भएका छन् ।
त्यस्तैगरी रवि स्वयमले पनि प्रहरीमा गिरफ्तारी दिने तयारी गरिरहँदा जबरजस्ती गरिएको गुनासो गरिरहेका छन् । पक्राउ प्रकृयाप्रति रवि आँफैले सरकारको नियतमाथि प्रश्न गर्दै आफू अन्यायमा परेको जिकिर गरिरहेका छन् ।
रवि आँफै मात्रै हौइन, रास्वपा र आम नागरिकले समेत पक्राउ पद्धतिको विरोध गरिरहेका छन् । यसैलाई लिएर प्रहरीको भूमिका र चरित्रमाथि आम टिप्पणी भइरहेको छ । साथै अदालत र सरकारको नियतमा समेत कतिपयले प्रश्न उठाइरहेका छन् । यद्यपि रवि र रास्वपाले अदालतको आदेश मान्नुको विकल्प छैन ।
सम्झाउँदै शंकर !
सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने प्रहरीले पक्राउ पूर्जी काट्ने रिति र थिति रवि गृहमन्त्री हुँदा देखि नै उही प्रकारको रहेको जवाफ फर्काएका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै रास्वपालाई उक्त थिति स्मरण गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने ’रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो ? भन्ने रास्वपाका नेताहरूलाई ’थाह’ नहुने कुरै भएन । तर पनि ‘सुधार’को खोजी यस्तै वेलामा हुने त हो नि ?’