हरेक वर्ष चैत्र महिनाको चैत्र शुक्ल अष्टमीको दिन चैते दशैं मनाउने गरिन्छ। चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दशैं भनिन्छ। चैते दशैं यसकारण अस्टमिको दिनमा मनाउने गरिन्छ कि आठौं दिन भगवान भगवती लाइ जनावरहरूको बलि दिने दिन हो । त्यसैले अष्टमीको दिन भगवतीको मन्दिरहरुमा पुजा आराधना गर्न भक्तजनहरुको भीड लाग्दछ । त्यस्तै चैत्र शुक्ल नवमीको दिन रामनवमी पर्व मनाउने गरिन्छ। पुराण अनुसार राम नवमीको दिन भगवान विष्णुको सातौ अवतारको रुपमा भगवान रामको यस पृथ्वीमा जन्म भएको थियो । सुर्यबंशी भगवान राम चन्द्र राजा दशरथ र रानी कौसल्याका पुत्र थिए ।
त्यसैले हिन्दुहरुले राम नवमीको दिन रामायण बाचन गर्ने, राम मन्दिरहरुमा पुजा गर्ने , दान गर्ने, ब्रत बस्ने , भगवानको आराधना गर्दै भजन गर्ने आदि गर्छन ।
भगवानको जन्मोत्सवको दिन भगवानको पूजा उपासना गर्नाले भगवानको कृपा प्राप्त भई मानिसको कल्याण हुन्छ भन्ने जनधारणा छ। चैते दशैं खास गरेर हिन्दुहरुले असोजर कार्तिक महिनामा भब्य रुपमा २\३ दिन सम्म मनाइने बडा दसैंको सानु रुप हो । किम्बदन्ती अनुसार बिगतमा बडा दसैं चैत महिनामा हुन्थ्यो तर चैत महिना सूखा मौसम र खडेरी हुने भएकोले पछि बडा दसैं लाइ असोजर कार्तिक महिनामा सारिएको थियो र चैत महिनामा चै सानु रुपको चैते दसैं मनाउन थालिएको थियो ।
चैते दसैं मुलत गैर–नेवारहरूको चाड भएकोले दोलखाका नेवारहरुले यो चाड खासै मनाउने गर्दैनन् । चैते दशैमा स्थानीयहरु भन्दा बढी बाहिरका मानिसहरु आएर भीमेश्वरको पूजा आराधना गर्ने गर्दछन् । दोलखा शहर बाहिरकाहरूले भने चैते दशै उल्लासका साथ मनाउँछन् । शायद भगवान रामको कुनै मन्दिर नभएर होला दोलखामा रामनवमी नाममा मात्र सिमित भएको देखिन्छ ।
दशैँ भनिए तापनि बडा दशैंमा जस्तो चैते दसैंमा दोलखालीहरुमा चाड मनाएर भोज खाने चलन छैन । बाल्य कालमा सँधै मेरो जिज्ञाशा हुन्थ्यो – “दशैँ भन्छन, तर किन घरमा मासु किनेर ल्याउंदैनन र भोज पनि बनाउदैनन” । तर पनि दोलखाको भीमेश्वर मन्दिरमा भगवान भीमेश्वरको पूजाआजा गर्न र बलि दिन गैर–दोलखाली भक्तजनहरुको घुइँचो लाग्ने भएकोले यो बेला दोलखा शहरमा अत्यन्त भब्य र रमाइलो मेला लाग्दछ ।
भीमेश्वर गुठीका जग्गा कमाउने भेडपुका मोहीहरू बडा दसैंमा गुठीमा दिनु पर्ने पूर्बनिर्धारित सामाग्रीहरु बोका, भेंडा, भाले, हाँस र राँगो बुझाउन दोलखा शहर आउंथे । चैते दसैँमा भने उनीहरु सबै आफ्नो हैसियत अनुसार भीमेस्वरमा बोका, भेंडा, भाले, हाँस र राँगो बली पुजा गर्न दोलखा शहर आउंथे । मैले दोलखा शहर बाहिर चैते दसैँ र राम नवमीको भब्य मेला लागेको २०३१ सालमा पश्चिमको बागलुङ बजारमा मात्र देखेको थिएँ ।
२०२१ सालमा दोलखामा घरेलु कार्यालयले तल्लो टोलको पोखरी लाइ चारै तिर बाट घेरेर स्टलहरु बनाएर आफ्ना उत्पादनहरुको प्रदर्शनी गरेको थियो । बिगतमा २०२०र२१ साल तिर दोलखामा शहरमा चैते दसैंमा भीमेश्वरमा पुजा गर्ने र भाकल लगायतका राँगो, बोका, हाँस, भाले, भेंडा आदि बलि दिने श्रद्धालुहरुको साथै मेलाको मजा लिन आएका जात्रुहरुको भिड लाग्थ्यो ।
खास गरेर भोजपुर, ओखलढुंगा, खोटाङ्ग , सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक जिल्लाका भक्तजनहरुको भीड लाग्थ्यो ।
दोलखा शहरका घरहरु भक्तजनहरुले भरिएका हुन्थे । भाकल पुजा गर्न आउने पाहुना नभएका घरहरूकाले त अलि नरमाइलो जस्तो मान्थे ।
त्यसैले कोहि कोहि त दोलखा शहर पस्ने गौडा तिर डुंगेर पनि पाहुना फकाएर ल्याउँथे । हाम्रो त बुबा खोटाङ, ओखलढुंगामा बसेर आउनु भएकोले चैते दसैंमा पाहुनाहरु अटुट जस्तै हुन्थ्यो। बाहुन – छेत्रिहरु राँगोको बलि दिने तर मासु नखाने भएको र उसबेला यातायातका साधन पनि नभएकोले सिंगै छोडेर जान्थे।
केहि भक्तजन आफ्ना पुर्ब–परिचितको घरमा बस्थे भने अरुहरु स्थानीयका घरहरुमा अनुरोध गरेर पाहुना लाग्थे। भीमेश्वर मन्दिर नजिक भएको र दोलखाको मुख्य बजार छेत्र भएकोले माथिल्लो टोलका घर आँगन जात्रुहरुले भरिएका हुन्थे । जात्रा भने पछि त्यहा रमाइलो नहुने त कुरै भएन ।
बजार छेत्रमा बाहुन छेत्री समुदायकाहरू रात रात भर स्थानीय झ्याउरे गीत गाएर जुहारी खेले गर्थे भने तामाङ्ग जातिकाहरू आफ्नै भाषामा जुहारी खेल्थे । यी जुहारीले रात भर दोलखा शहर गुञ्जायमान हुन्थ्यो ।
यसरी दोलखा शहरमा जनस्तरमा चैते दसैं मनाउने प्रचलन नभए पनि गुठी ब्यबस्था अनुसार गुठियारहरूले देब मन्दिरहरुमा सामान्य रुपमा पुजा भने गर्छन ।
दशैंमा जस्तै महाअष्टमीको दिन राजकुलेस्वर बाट भीमेश्वर मन्दिरमा फुलपाती लाने गरिन्छ । अष्टमीको दिनमा बलि चढाउने र दुर्गा पूजा गर्ने कार्य हुन्छ ।
खास गरेर भीमेश्वर मन्दिरमा र त्रिपुरासुन्दरीमा राँगोको बलि दिने प्रचलन छ । स्थानीय संस्कृतिका ज्ञाता तिर्थ नारायण जोशीका अनुसार “पहिला, पालो परेको गुठियार लगायतले महाअष्टमीको दिन गणेश मन्दिरमा परम्परागत बिधि अनुसार निमन्त्रणा पूजा गर्दछन् । पूजा सिध्दिए पछि गुठियार सहित सबै राजकुलेस्वर फर्कन्छन र पूजा सामाग्री लिएर भीमेश्वर मन्दिर जाने गर्दछन् । भीमेश्वर मन्दिरमा पूजा गरि सिध्याएर पुनस् राजकुलेश्वरमा फर्कन्छन्”। बडा दसैँमा जस्तै चैते दशैंको पूजाआजा पनि परम्परागत गुठीमा ब्यबस्था गरिए अनुसार दोलखाका चार गुठियारले वर्षै पिच्छे आलोपालो गरेर गर्छन ।
नवमीको दिन भने भगवान रामको जन्म भएको दिन रामनवमी भएकोले काटमार निषेध भए पनि परम्परा अनुसार भीमेश्वर मन्दिरमा बलि दिने बाहेकका पूजापाठ भने गरिन्छ । धार्मिक ग्रन्थ अनुसार नवमीको दिनमा त्रेता युगका भगवान रामचन्द्रको जन्म भएकोले राम नवमीको रूपमा मनाइने गरिएको हो ।
अत: दोलखामा पनि नवमीको दिन भक्तजनहरुले ब्रत वसेर बेलुका भीमेश्वर मन्दिरमा बत्ती बाल्ने गर्छन।