
काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गर्दै आफूमाथि राज्यले षडयन्त्र गरेको आरोप लगाएका छन् ।
घिसिङले वक्यौता उठाउन खोज्दा प्रतिशोध साँधिएको भन्दै दिएको सार्वजनिक अभिव्यक्तिले सरकारमाथि वक्यौताको विषय भारी पर्ने संकेत देखिएको छ । के कुलमानले आफूलाई सेफ ल्याण्डिङको बाटोतर्फ लैजान सरकारविरुद्ध भडास पोखेका हुन् ? सर्वोच्चले अन्तरिम आदेश नदिएपछिको सार्वजनिक अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने खेल ऊर्जा मन्त्रालयकै नेतृत्वमा भएको आरोप लगाएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्राधिकरणलाई लथालिङ बनाउन खोजिएको दाबी गर्दै सरकारको हस्तक्षेपका कारण संस्थाको स्थायित्व संकटमा परेको बताए ।
घिसिङका अनुसार डेडिकेटेड र ट्रंक लाइनका बक्यौता महसुल असुल गर्न खोज्दा सरकार आफैंले उनलाई पदबाट बर्खास्त गरेको हो । ऊर्जा मन्त्रालयको नेतृत्व कांग्रेस नेता दीपक खड्काले गरेपछि प्राधिकरणमाथि अवैध दबाब सिर्जना गरिएको भन्दै उनले आफूलाई अनैतिकरूपमा थकाउने, गलाउने र स्पष्टिकरण सोध्ने खेल चलेको आरोप समेत लगाए ।
विगतमा आम उपभोक्ताहरू १८ घण्टासम्म लोडसेडिङको अँध्यारोमा बस्न बाध्य हुँदा केही सीमित उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत निर्बाध रूपमा विद्युत पाएका थिए । अब ती उद्योगहरूबाट प्रिमियम महसुल असुल्न खोज्दा सरकार स्वयं प्राधिकरणलाई अवरोध गरिरहेको छ ।
ऊर्जा क्षेत्रको पारदर्शिता र स्वायत्ततामाथि खेलबाड भएको आरोप लगाउँदै कुलमानले सरकारको हस्तक्षेपले विद्युत प्राधिकरणलाई भताभुङ बनाउने खतरा रहेको औंल्याएका छन् ।
उसोतः कुलमानलाई केहि यस्ता प्रश्न पनि गरियो, जसको जवाफ प्रष्ट नदिएपनि उनले केहि संकेत गरे । कुलमानले आफू मुलुकको सेवा गर्नका लागि जस्तोसुकै जिम्मेवारी सम्हाल्न तयार रहेको भन्दै राजनीतिमा आउने संकेत समेत गरे ।
प्राधिकरण ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युत् सेवा विस्तार भएको छ जसको प्रमुख श्रेय कुलमान घिसिङलाई जान्छ ।
विगतमा उपभोक्ताहरू विद्युत् सेवाका लागि प्राधिकरण धाउने गर्थे । तर, अहिले परिस्थिति फेरिएको छ । घिसिङका अनुसार प्राधिकरण स्वयं विद्युत् नपुगेका घरहरू पहिचान गर्दै विकट बस्तीबस्तीसम्म पुगिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणमा करिब आठ वर्ष विताएका कुलमानले के के गरे ?
– पहिलो कार्यकाल (२०७३) मै दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य ।
– विद्युत पहुँच ५८% बाट ९९% भन्दा माथि, पूर्णविद्युतीकरण लक्ष्य १ वर्षभित्र हुने गरि कार्य भैरहेको ।
– विकट, सिमान्तकृत तथा विपन्न वर्गलाई निःशुल्क मिटर ।
– २०७२÷७३ मा सञ्चित घाटा ५ अर्ब, वार्षिक घाटा ९ अर्ब ।
– २०७३÷७४ देखि निरन्तर नाफा, २०८०\८१ सम्म सञ्चित नाफा ४७ अर्ब ।
– सम्पत्ति वृद्धि रु. २११ अर्ब (२०७\७३) बाट हाल ६४४ अर्ब ।
– महसुल नघढाइ नाफा २५% महसुल घटाउँदा पनि प्राधिकरण नाफामा ।
– नेपाल सरकारलाई भुक्तानी ३२ वर्षमा (२०७२'७३ सम्म) २६ अर्ब ।
– पछिल्लो ८ वर्षमा ८२ अर्ब (सावाँ, व्याज, कर, रोयल्टी) ।
– १ खर्ब—उत्पादन, प्रसारण, वितरण संरचनामा लगानी, ५७ अर्ब—सहायक एवं सम्बद्ध कम्पनीहरूमा ।
– वर्षायाममा आयात गर्ने अवस्था अन्त्य, ३ वर्षदेखि भारतलाई निर्यात ।
– २०८०÷८१ मा आयातभन्दा निर्यात बढी, १७ अर्बको विद्युत निर्यात ।
– बंगलादेशलाई पनि ४० मेगावाट विद्युत निर्यात सुरु ।
– चुहावट नियन्त्रण २६\ (२०७२\७३) बाट घटाएर १२.७३% (२०८०\८१) ।
– प्रतिव्यक्ति खपत १३१ युनिट (२०७२\७३) बाट ४०० युनिट (२०८०\८१) ।
– विद्युतीय सवारी, चुलो, उपकरण र औद्योगिक माग वृद्धिको प्रभाव ।
– २० युनिटभन्दा कम खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत ।
– न्यूनतम दस्तुर रु. ३० मात्रै गर्दा २२ लाख परिवार लाभान्वित ।
– सिँचाइ, खानेपानी, चार्जिङ स्टेशन, मठ–मन्दिर, शितभण्डारलाई न्यून शुल्क ।
– स्मार्ट सडक बत्तीः विद्युतिकरण मात्र नभई स्थानीय निकायहरूसँग सहकार्य गर्दै स्मार्ट सडक बत्ती विस्तार, सहर उज्यालो ।
– विद्युत उत्पादन चौगुणा वृद्धिः ८५६ मेगावाट (२०७२\७३) बाट हाल ३५०० मेगावाट (प्राधिकरण, सहायक कम्पनी, निजी क्षेत्र)।
– लेउ वा तिर मोडेल अपनाई विद्युत खरिद सम्झौता गर्दै उत्पादन वृद्धि ।
– सौर्य ऊर्जा प्रवद्र्धनमा ११७ मेगावाट उत्पादन सम्पन्न, ११३ मेगावाट निर्माणाधीन, ९६० मेगावाट खरिद सम्झौतामा ।
– ८ वर्षअघि २८०० मेगावाट र अहिले ११ हजार मेगावाटविद्युत खरिद सम्झौता ।
– ८ हजार मेगावाट जलविद्युत आयोजना निर्माण प्रक्रियामा ।
– प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ
जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, २० मेगावाटका रोलवालिङ जलविद्युत आयोजनाहरु निर्माणाधीन ।
– प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा १६८ मेगावाटका आयोजनाहरु सञ्चालनमा ।
– १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना सञ्चालनको अन्तिम चरणमा ।
– चिलिमे जलविद्युत कम्पनीले करिव ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरु अगाडि बढाइएको ।
– ४२ मेगावाटको माथिल्लो मोदी–ए, १८.२ मेगावाटको माथिल्लो मोदी र ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु ।
– २१० मेगावाटको चैनपुर सेती, १०६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा ।
– ६८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत आयोजनालाई भने नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको ।
– दक्षिण एसियाली क्षेत्रकै नमूना परियोजनाका रुपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली(चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु ।
– डिजिटल एनईए अवधारणा सूचना प्रविधि मार्गचित्र कार्यान्वयन ।
– स्मार्ट मिटर, स्काडा, इआरपी प्रणाली लागू प्रक्रिया ।
– अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालन ।
– आ.व. २०७२।०७३ मा वितरण लाइनतर्फ १ लाख २१ हजार सर्किट कि.मी. रहेकोमा हाल २ लाख २० हजार सर्किट कि.मी. पुगेको ।
– वितरण सवस्टेशन क्षमता ६४० एमभिए बाट करिव २ हजार ६ सय एमभिए ।
अब कुलमान घिसिङले सर्बसाधारणको माझमै उभिएर खबरदारी गर्ने घोषणा गरेका छन् । धेरैले यसलाई उनको राजनीतिमा प्रवेशको संकेतका रूपमा लिएका छन् । उनले चाँडै अर्को पत्रकार सम्मेलन आयोजना गरी आफ्ना योजनाहरू खुलासा गर्ने बताएका छन्, जसले झन् धेरैको जिज्ञासा बढाएको छ ।