News 24 Television
छाँयामा सुशासन र जवाफदेहिता, सबै दल शक्ति प्रदर्शनकै चक्करमा !

काठमाडौं । मुलुक अहिले प्रदर्शन नै प्रदर्शनको चपेटामा फसेको छ । पछिल्ला दिनहरुमा राजनीतिक तवरले सँधैजसो प्रदर्शन हुने गरेका छन् । चाहे सत्ता पक्षबाट होस् वा प्रतिपक्षबाट नै किन नहोस् सँधै सभा र शक्ति प्रदर्शनले मुलुक रुमलिएको छ । सुरुमा सत्ता नेतृत्वकर्ता दल एमालेबाटै शक्ति प्रदर्शनको सुरु भएको देखिन्छ । सबैभन्दा पहिले नेकपा एमाले गत मंसिर ७ गते दरबार मार्गमा मुलुकमा बढ्दो वेथितिविरुद्ध जागरण सभा आयोजना गरेको थियो । 

उसले दरबारमार्गको बिच सडक नै कब्जा गरेर एक लाख कार्यकर्ता उतार्ने पूर्वघोषणा नै गरेर भव्य प्रदर्शन गर्यो । उक्त समय सत्ताकै नेतृत्व गरिरहेको दलले यसरी सडक प्रदर्शन गर्ने ? भन्दै एमालेको व्यापक आलोचना पनि भयो । यद्यपि प्रदर्शनको क्रम अझै रोकिएको छैन ।  

राजावादी र गणतन्त्रवादीको नाममा प्रदर्शन !  

मुलुकमा अहिले राजावादी र गणतन्त्रवादीबीच टसल बढेको छ । सरकारबाटै कुशासन, अपारदर्शिता र अनियमितता बढ्दा जनतामा नैराश्यता बढेको छ । जसको असर मुलुकको संविधान र व्यवस्थासम्म नै पुगेको छ । यसैका कारण गणतन्त्रवादी र राजतन्त्रवादी पक्षधरहरु दुई भागमा विभक्त छन् । जसले उनीहरुलाई आ–आफ्नो शक्ति प्रदर्शन गर्ने होड सम्म पुर्याएको देखिन्छ । यस्तोमा राजावादीहरुले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवासमम्मै भव्य प्रदर्शन गरे । ठूलै जमातमा उपस्थित भएका राजावादी समर्थकले पूर्वराजाको हाईहाई गर्दै गणतन्त्र मूर्दावाद, राजतन्त्र जिन्दावाजस्ता नारा लगाए । 

पूर्वराजको स्वागतमा देखिएको प्रदर्शनपछि गणतन्त्रावदीको पक्षबाट पनि जनप्रर्शन गर्ने भन्दै चैत १५ गतेका लागि मिति तोकियो । समाजवादी मोर्चामार्फत माओवादी केन्द्र, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी (नेसपा)ले गणतन्त्रको पक्षमा प्रदर्शन गर्यो । यही मितिमा राजावादीले पनि प्रदर्शन गर्नेगरी कार्यक्रम भिडाए । 

एकैदिन शक्ति प्रदर्शन हुने भएपछि सरकारले गणतन्त्रवादी र राजतन्त्रवादी पक्षलाई फरक फरक स्थान निर्धारण गरिदिएको थियो । जसमा गणतन्त्रवादीले भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा प्रदर्शन गरे । उता राजावादी पक्षले भने तीनकुनेमा प्रदर्शन गरेको थियो । तर तीनकुनेको राजावादी प्रदर्शन भने हिंसांत्मक भएसँगै एक पत्रकारसहित दुई जनाले ज्यान गुमाए । यसका विषयमा पनि पक्ष विपक्षमा विविध तर्क आइरहेका छन् । यद्यपि राजनीतिक तवरमा भने यसको काउन्टरमा एमालेले फेरि देशव्यापी ¥यालीको कार्यक्रम आयोजना ग¥यो । 
एमालेले राजावादीको हिंसाकाविरुद्ध जवाफ दिन भन्दै सोमबार देशभरका सदरमुकामसहित मुख्य सहरहरुमा मोटरसाइकल ¥याली गरेको थियो । 

राजावादीको पनि काउन्टर प्रदर्शन !

तीनकुने प्रदर्शनमा दुई जनाको ज्यानसमेत गएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्शेर राणालाई पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुको रिहाइको माग गर्दै राप्रपाले राजधानीका विभिन्न स्थानबाट राँके जुलुस निकालेको थियो । यसपछि राप्रपाले पार्टीको बैठक नै राखेर मिश्र र धवललाई छाड्न २४ घण्टे अल्टिमेटम दियोे । तर यो अल्टिमेटममा उनीहरु छुटेनन् । यसपछि राप्रपाले अर्को रणनीति बुन्दैछ । 

रास्वपा पनि सभाको तयारीमा  

दलहरुले कुनै न कुनै तवरले आफ्नो शक्ति प्रदर्शन गरिरहँदा नयाँ दल रास्वपाले पनि शनिबार चितवनमा ‘जनयात्रा सुभारम्भ’ नाम दिएर सभाको आयोजना गर्दैछ । सरकारबाट आफूमाथि ज्यादती भएको भन्दै रास्वपा सभापति रविले आफ्नो निर्वाचन क्षेत्रमै यस्तो सभाको आयोजना गर्ने भएका हुन् । उनले पार्टीको जिम्मेवारीमा आएलगत्तै सरकारबाट आफूमाथि ज्यादती भएको अनुभव मतदाताहरुलाई सुनाउने बताएका थिए । 

सहकारी ठगी प्रकरणमा पक्राउपछि सरकारले ज्यादती गरेको सभापति रविको बुझाइ छ । यही ज्यादती र भोगाईका अनुभव सुनाउने भन्दै रविले आफ्नो शक्ति पनि प्रदर्शन गर्ने लक्ष्य बोकेका छन् । मुलुकमा हरेकजसो बहानामा हरेक दिन पार्टी र संगठनहरुले शक्ति प्रदर्शन गर्ने कार्य गरिरहेका छन् । जसले मुलुकको समृद्धिको आधार निर्माण, सुशासन, पारदर्शिता र जवाफदेहितालाई भने गौण बनाइरहेको प्रष्ट छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update